सयौं घर डुबानमा, तीन वटै राजमार्ग ठप्प

आश्विन १३, २०८१

राजकुमार कार्कीर्

Hundreds of houses flooded, all three highways blocked

खुर्कोट, सिन्धुली — बाढीपहिरोमा परेर सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घर बगाउनुका साथै सयौं घर डुबानमा परेका छन् । बीपी, पुष्पलाल र मदन भण्डारी तीन वटै राजमार्ग ठप्प छन् । सुनकोशी गाउँपालिका–१ दुम्जामा पहिरोमा पुरिएर १२ वर्षीय बालक विनय कोइरालाको मृत्यु भएको छ ।

त्यस्तै कमलामाई नगरपालिका–९ मा सुकेखोलाले बगाउँदा स्थानीय ४६ वर्षीय कृष्णबहादुर बोगटीको मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । 

गोलन्जोर गाउँपालिका–७ को खुर्कोट बसपार्क क्षेत्रमा सुनकोशी नदीको बाढी पस्दा दर्जनौं घर बगाएको छ भने केही पक्की घर डुबानमा परेका छन् । स्थानीय मुना श्रेष्ठले सुनकोशी नदी बजार क्षेत्रमा आउने कल्पना नै नगरेकाले सरसामान केही निकाल्न नपाएको बताइन् ।

कोशीले सडकसहित पक्की पुल बगाएको छ । खुर्कोट बसपार्क तथा आसपास क्षेत्रका विस्थापितलाई जनता माविमा राखिएको छ । खुर्कोटमा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन कार्यालयसमेत सुनकोशीको बाढीले बगाएको छ । इलाका प्रहरी कार्यालय खुर्कोटबाट हतियार तथा सरसामग्रीसहित साना सहरी कार्यालयमा प्रहरीले आश्रय लिएका छन् । 

सुनकोशी गाउँपालिकाको मुल्कोट बजार पूरै डुबानमा परेको छ । सुनकोशी गाउँपालिका–५ मुल्कोट बजार डुबानमा पर्नुका साथै सडकमाथिका घरहरूमा समेत सुनकोशीको भेल पसेको थियो । 

बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डअन्तर्गत सुनकोशी गाउँपालिका–१ नेपालथोकनजिक रोशी खोलाको बाढीले करिब ६० मिटर सडक बगाएको छ । कालोपत्रसहितको सडक बगाएपछि यातायात ठप्प भएको सिन्धुली प्रहरीका एसपी काफ्लेले बताए । 

बीपी राजमार्गको कमेरेमा समेत पहिरो खसेको छ । दुम्जाको कुशेश्वर महादेव मन्दिरलाई रोशी खोला र सुनकोशीले घेरेर फसेका २८ जना बटुकसहित ३३ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । गोलन्जोर गाउँपालिका–३ मुर्कीबेसीका एक सय जनालाई कौशिका मावि ग्वाल्टारमा आश्रय दिएको प्रहरीले जनाएको छ । रामेछापको मन्थलीमा रहेको विमानस्थलमा तामाकोशीको बाढी पसेर क्षति गरेको छ ।

बाढी पहिरो

राजकुमार

Link copied successfully