कोशीमा १० को मृत्यु, १० बेपत्ता

आश्विन १२, २०८१

पर्वत पोर्तेल

विराटनगर र पाँचथर — बाढीपहिरोमा परेर कोशी प्रदेशमा शनिबार अपरान्हसम्म १० जनाको मृत्यु भएको छ । ९ जना पहिरोमा पुरिएको र १ लाई खोलाले बगाएको हो । पाँथचरमा ६, झापामा ३ र मोरङमा १ गरी १० जना बेपत्ता छन् । धनकुटामा २ र ओखलढुंगामा १ जना घाइते छन् ।

 कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पाँचथरमा सबैभन्दा बढी ५ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने धनकुटा र सोलुखुम्बुमा २/२ जना पुरिएका छन् । फिदिम–१२ घरभएकी फिदिम–४ मा बस्दै आएकी २४ वर्षीया सपना शेर्पा र उनकी ६ वर्षीया छोरा डोल्मा शेर्पाको पहिरोमा पुरिएर मृत्यु भएको छ । उनीहरु फिदिम नगरपालिका–४ चिसापानीस्थित फुर्लु शेर्पाको घरमा पाहुना आएका थिए । त्यसैगरी फिदिम–८ भोटेगाउँका ८२ वर्षका पश्चिमा शेर्पा, फिदिम–२ मजिटेकी ३५ वर्षकी रञ्जना राई र फिदिम–१ दुमाका ५० वर्षका गोपी विश्वकर्माको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पाँचथरको फिदिम नगरपालिका–१ साँगेबोटका राजकुमार नेम्वाङको घर बगाउँदा डेरामा बस्ने फिदिम–१ स्थित फुरुङ्गा हाईड्रो पावरमा कार्यरत विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले घर बगाउँदा हाइड्रोपावरकै कर्मचारी फिदिम–१ का ५१ वर्षीय कृष्ण दास र उनकी श्रीमती ४२ वर्षीया कमला दास, फिदिम–१ का ५५ वर्षीय धनकुमार तुम्बापो, राजेश तुम्बापो र उनकी श्रीमती सरस्वती तुम्बापो बेपत्ता भएका छन् । पाँचथरमै तारे खोलाले बगाउँदा फालेलुङ–५ की ३६ वर्षीया कमला राई पनि बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पाँचथरको फालेलुङ, मिक्लाजुङ, फिदिम, याङवरक र फाल्गुनन्दमा सयौं घरमा क्षति भएको छ ।

त्यस्तै धनकुटाको पाख्रीबास नगरपालिका–५ गुराँसे देवीथानमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पाख्रीबास–५ का सन्तोष तामाङको घरमा पहिरो झर्दा किचिएर उनकी ३२ वर्षीया श्रीमती आशा तामाङ र सासुआमा ५० वर्षीया रामकुमारी तामाङको घटनास्थलमै मृत्यु भएको हो । सोही घरमा रहेकी छिमेकी २४ वर्षीया मिनमाया तामाङ घाइते छन् । गर्भवती रहेकी उनी स्थानीय अस्पतालमा भर्ना भएकी छन् । धनकुटाकै छथरजोरपाटी गाउँपालिका–२ का चन्द्रबहादुर मगरको घरमा पहिरो खस्दा उनकी २० वर्षकी छोरी सृजना मगर घाइते भएकी छन् । त्यस्तै सोलुखुम्बुको टाप्टिङमा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङको चैलुङ गाउँमा स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुर्दा उनकी ३० वर्षीय छोरी कविता मगर र ४१ वर्षीया बुहारी रुपा मगरको मृत्यु भएको वडाध्यक्ष होमबहादुर मगरले बताए । इलामको सेते खोलाले बगाउँदा माई नगरपालिका–८ का ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको छ । बाढीमा परेर झापामा ३ जना र मोरङमा १ जना बेपत्ता भएका छन् । झापा, मोरङलगायतका जिल्लामा करिब ५ सय घर डुबानमा परेका छन् भने झण्डै एक हजार जना विस्थापित छन् ।

ठूला खोलाका सबै पुल बगे

शनिबार बिहान बाढीले मेची राजमार्गस्थित हेवा खोलाको बेलिब्रिज बगाएको छ । मेची राजमार्ग अन्तरगत इलाम–फिदिम खण्डको हेवा खोलामा रहेको पक्की पुल २०८० असार २ गते आएको बाढीले बगाएपछि त्यहाा २९ दिन लगाएर बेलिब्रिज बनाएको थियो । दसैंको मुखमा पुल बगेसँगै ताप्लेजुङसहित पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका सडक सम्पर्क विच्छेद भएका छन् । बाढीले फिदिम फालौट मार्ग पर्ने फेमे खोला र मुवा खोलाका तीन वटा पक्की पुल पनि बगाएको छ । उता फालेलुङ–७ र ३ को सिमानामा पर्ने हेवा खोला घुमाउनेटार र याङवरक २ र ३ को सिमानामा पर्ने दोभाने खोलामा बनाएका डाइभर्सन बगेका कारण ती क्षेत्र पनि सडक सम्पर्क बिच्छेद भएको छ । खोटाङमा सगरमाथा लोकमार्ग अन्तरगत फोक्सिङटारस्थित सुनकोशीको पुल बगाउँदा जिल्लाको तराइका जिल्लासँगको सडक सम्पर्क बिच्छेद भएको छ । बाढीपहिरोका कारण जिल्लाभर १ सय ९ परिवार विस्थापित भएका छन् ।

फिदिम– मेची राजमार्गको बेलिब्रिज बगाउने गरी आएको बाढी हेर्दै स्थानीय । तस्बिर : लक्ष्मी गौतम/कान्तिपुर

पहिरोले भत्काएको फालेलुङ–५ र ७ सिमानास्थित मुवाखोला धर्मेटार पुल । तस्बिर : लक्ष्मी गौतम/कान्तिपुर

बाढी पहिरो

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully