सिरहा — चार दिनदेखि परिरहेको अविरल वर्षाका कारण सिरहाका बस्ती प्रभावित भएका छन् । पानी थुनिएर डुबानमा भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार अहिलेसम्म वर्षाका कारण जिल्लामा ४ घर परिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।
प्रशासनका अनुसार, नवराजपुर गाउँपालिकाका ४ र कल्याणपुर नगरपालिकाका एक जनाको फुसको घर नष्ट भएको हो । ग्रामीण क्षेत्रका विपन्न बस्तीहरुमा भएका यस्ता फुसका अन्य घरहरु पनि प्रभावित रहेको जिल्ला प्रशासन कार्यालय, सिरहाका अधिकृत रवीन्द्र महतले जानकारी दिए ।
वर्षाका कारण ग्रामिण क्षेत्रका सडक बाटाहरु पनि बिग्रिएको र यसले नागरिकलाई आवतजावत पनि कठिनाइ भइरहेको छ । ‘ग्रामीण क्षेत्रका अधिकांश बाटाहरु अहिले पनि कच्ची नै छन्,’ औरही गाउँपालिकाका रामदयाल यादवले भने, ‘ती बाटाहरु त अहिले हिँड्नै नसकिने भएका छन् ।’
