धादिङ — काठमाडौं र धादिङको सीमामा रहेको झ्याप्लेखोलामा पहिरोले पुरिएको बसबाट १४ जनाको शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले एक यात्रुवहाक माइक्रो बसबाट शनिबार साँझ १४ जनाको शव निकालेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताएका छन् ।
उनका अनुसार लु १ ज ४५७८ नम्बरको माइक्रोबसमा सवार १४ जनको शव निकालिएको हो । रजौरेका अनुसार घटनास्थलमा थप खोज तथा उद्धारको काम भइरहेको छ । त्यहाँ अरू बस पनि पुरिएको हुनसक्ने देखिएपछि खोजतलास भने जारी राखिएको छ ।
शुक्रबार साँझदेखि पहिरोका कारण नागढुंगाको सुरुङमार्ग आसपास अड्किएका करिब ४०० जना यात्रुलाई भने धादिङ प्रहरीले गृह मन्त्रालयसँगको समन्वयमा सुरूङमार्गबाटै काठमाडौं ल्याइएको छ ।
धादिङ प्रहरी प्रमुख गौतम केसीका अनुसार चन्द्रागिरिको ४ वटा बसमा ४०० यात्रुको उद्धार गरिएको हो ।
यसअघि प्रकाशित समाचारमा एक बसबाट १४ शव हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ । - सम्पादक
