लुम्बिनीमा पुरानै आयोजनालाई निरन्तरता

बुटवललाई आर्थिक केन्द्रको रूपमा विकास गर्ने गरी दर्जनौं ठूला योजना, बुटवलमा सिग्नेचर पुल, गुल्मीको कंके देउरालीमा जलाशययुक्त पोखरी

जेष्ठ १८, २०८१

घनश्याम गौतम

Continuation of the old project in Lumbini

बुटवल — संघीय सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा लुम्बिनीका यसअघिका ठूला आयोजनाले निरन्तरता पाएका छन् । केही नयाँ र महत्त्वाकांक्षी आयोजना अघि सारिएको छ । 

अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आव २०८१/८२ को बजेटले लुम्बिनी प्रदेशको आर्थिक केन्द्रको रूपमा रहेको बुटवललाई नै केन्द्रमा राखेको छ । लुम्बिनीलाई बर्थिङ सेन्टरको रूपमा विकास गर्नेदेखि ‘भरतपुर–बुटवल–पोखरा–मुग्लिङ–भरतपुर’ आर्थिक त्रिभुज परियोजना अघि सारिएको छ । बुटवलदेखि गोरखपुरसम्मको ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्यदेखि बुटवलमै उच्च गतिको इन्टरनेट, विद्युत् सुरक्षालगायतका पूर्वाधारसहितको सूचना प्रविधि पार्क सञ्चालनको काम अघि बढाउने पनि बजेटमा उल्लेख छ । 

तिनाउ खोलामा सिग्नेचर पुल निर्माणका लागि बजेट विनियोजन भएको छ । बुटवलमा मेडिकल कलेज निर्माणदेखि रोल्पाको वडाचौर, दाङको टरी गाउँ र नेपालगन्जको विमानस्थलको स्तरोन्नतिका लागि बजेट छुट्याइएको छ । गुल्मीको कंके देउरालीको डाँडोमा जलाशययुक्त पोखरी निर्माण गरिने भएको छ । 

पूर्वअर्थमन्त्री विष्णु पौडेलले यसअघि सुरु गरेका बुटवल केन्द्रित ठूला र दीर्घकालीन महत्त्वका योजनाले आगामी आवका लागि पर्याप्त बजेट पाएका छन् । रूपन्देहीको तिलोत्तमामा निर्माण गर्ने गरी २०७५ चैत ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालय उद्घाटन गरेको बुटवल मेडिकल कलेजको निर्माण पनि आगामी वर्ष अघि बढ्ने उल्लेख छ । 

 बजेटमा उल्लेख भएको र आगामी दिनमा मेडिकलको काम अघि बढ्ने गरी बजेट विनियोजन भएको खबरले तिलोत्तमावासी खुसी भएको तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले बताइन् । ‘अलिअलि काम त भएकै थियो, अब पूर्णरूपमा निर्माण हुने गरी मेडिकल कलेजको काम अघि बढ्ने छ,’ उनले भनिन्, ‘मेडिकल कलेजसँगै तिलोत्तमा र बुटवल केन्द्रित धेरै योजना अघि बढ्ने गरी बजेटले समेटेको छ ।’ बजेटमा प्रस्तुत भएका योजना पूरा हुँदा बुटवल र तिलोत्तमा आर्थिक सहरको रूपमा विकास हुने उनले बताइन् ।

सरकारले आर्थिक वृद्धिका सम्भावनाका क्षेत्रलाई समेट्दै एकीकृत विकासको अवधारणाअनुरूप नमुना विकास अभियान सञ्चालन गर्न ‘भरतपुर–बुटवल–पोखरा–मुग्लिन–भरतपुर’ लाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरेको छ । यो परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक इकोसिस्टम निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गर्ने सरकारको विश्वास छ । त्रिभुज परियोजनाअन्तर्गत नारायणघाट–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, बुटवल–पोखरा सडक खण्डलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने सरकारको तयारी छ । 

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सरकारले बुटवललाई केन्द्रित गरेर अघि सारेका केही आर्थिक क्षेत्रको विकासका ठूला योजना शब्दमा निकै आकर्षक र सुन्दर लाग्ने भए पनि कार्यान्वयनमा महत्त्वाकांक्षी भएको बताए । ‘लामो समयदेखि हरेक वर्ष कार्यान्वयन नहुने यस्ता धेरै सुन्दर शब्द सुन्दै आएका छौं, त्यसैले कार्यान्वयनमा गएर तीव्र गतिमा काम नभएसम्म साँच्चै परिवर्तन नै हुन्छ कि भन्न सकिन्न,’ उनले भने । 

सरकारले यो वर्ष पनि रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु गर्ने बजेटमा उल्लेख गरेको छ । तर, जग्गा विवादले निर्माणको काम तीन वर्षदेखि ठप्प छ । त्यस्तै बुटवल केन्द्रित कालिगण्डकी–तिनाउ बहुउद्देश्यीय अन्तर जलाधार जलपथान्तरण आयोजना पनि अलपत्र छ । सरकारले त्यसको पनि आगामी वर्षमा सम्भाव्यता अध्ययन गरी कार्यान्वयनमा लैजाने उल्लेख गरेको छ । भैरहवामा एकीकृत जाँच चौकी, बुटवल गोरुसिंगे सडक विस्तार, बुटवल भैरहवा कपिलवस्तु त्रिभुज पर्यटन विकासलगायतका योजनामा पनि बजेटमा अघि सारिएको छ ।

बजेट ०८१/०८२

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully