कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

भौतिकका पुरानै कार्यक्रमलाई बजेट वृद्धि 

गौरवका आयोजना मध्यपहाडी, हुलाकी राजमार्ग र फास्ट ट्र्याकको बजेट घटाइयो 
विमल खतिवडा

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट बढाएर पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । मंगलबार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् । चालु आर्थिक वर्षमा यो मन्त्रालयले १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ बजेट पाएको थियो ।

भौतिकका पुरानै कार्यक्रमलाई बजेट वृद्धि 

मन्त्रालयको समग्र बजेट बढे पनि गौरवका आयोजनामा भने घटाइएको छ । सरकारले केही वर्षदेखि भुक्तानीको दायित्व खेपिरहेका गौरवका आयोजनाहरूको बजेट घटाएको हो । मध्यपहाडी, हुलाकी, कालीगण्डकी करिडोरमा काम भए पनि भुक्तानी हुन सकेको छैन, जसले थप काममा ढिलाइ भइरहेको छ । आगामी आर्थिक वर्षमा मध्यपहाडीका लागि ३ अर्ब ६८ करोड र हुलाकी राजमार्गका लागि ३ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ । जुन चालु आर्थिक वर्षको भन्दा कम हो । चालु आवमा मध्यपहाडीका लागि ३ अर्ब ९६ करोड र हुलाकीका लागि ३ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

बजेटमा कोशी, कालीगण्डकी र कर्णाली करिडोर सडक निर्माणलाई तीव्रता दिने भन्दै ४ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ । कालीगण्डकी करिडोरको गैंडाकोट–राम्दी–मालढुंगा खण्ड र मालढुंगा–बेनी–जोमसोम–कोरोला खण्ड गरी थप ५० किलोमिटर सडक आगामी आर्थिक वर्षमा कालोपत्र गर्ने बजेटमा उल्लेख छ । कोशी करिडोरको ३० किमि थप सडक कालोपत्र गर्ने, कर्णाली करिडोरमा ५ वटा पुल निर्माण र ५० किमि सडक स्तरोन्नति गरिने भएको छ । कोशी करिडोरमा ट्र्याक खोल्ने काम नै सकिएको छैन भने कर्णालीमा ट्र्याक खोलिए पनि सडक चौडा बाँकी छ । कालीगण्डकी करिडोरको गैंडाकोट–राम्दी–मालढुंगा खण्डमा ठेक्का भएको खण्डमा काम सकिए पनि बजेट अभावमा भुक्तानी हुन सकेको छैन ।

काठमाडौं तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को निर्माण ०८३ चैतभित्र सकिसक्नुपर्ने भए पनि आगामी आर्थिक वर्षका लागि बजेट घटाइएको छ । फास्ट ट्र्याकका लागि २२ अर्ब ५४ करोड रुपैयाँ बजेट छुट्याइएको छ । चालु आर्थिक वर्षमा यो आयोजनामा २२ अर्ब ५० करोड बजेट विनियोजन भएको थियो । उक्त रकममध्ये साढे ४ अर्ब रुपैयाँ खर्च गर्न नसकिएको भन्दै आयोजनाले अर्थ मन्त्रालयलाई फिर्ता गरेको थियो ।

सबै खण्डको ठेक्का भइनसकेकाले उक्त रकम नचाहिने देखेर फिर्ता गरिए पनि आगामी आर्थिक वर्षदेखि भने पर्याप्त बजेट चाहिने नेपाली सेनाले जनाएको छ । चालु आवमा ६४.४७७ किमि खण्डमा सडक, पुल र सुरुङको ठेक्का भएर काम भइरहेको छ । खोकनाको ६.५ किमिबाहेक अन्य खण्डमा ठेक्का भइसकेको छ । आगामी आवमा महादेवटार सुरुङको निर्माण कार्य सम्पन्न गर्ने र ५७ वटा पुलको निर्माण कार्यलाई तीव्रता दिइने अर्थमन्त्री पुनले बताए । यही खण्डको लेनडाँडा र धेद्रे सुरुङ खन्ने काम भने सकिएको छ ।

चालु आवमा बजेट घटाइएको मदन भण्डारी राजमार्गमा आगामी आवका लागि भने बढाइएको छ । यो राजमार्गका लागि चालु आवमा २ अर्ब ४१ करोड रुपैयाँ विनियोजन भएको थियो । आगामी आवका लागि ३ अर्ब ६० करोड विनियोजन गरिएको छ । त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल, कमला–कञ्चनपुर सडकलाई चार लेनमा विस्तार गर्ने काम आगामी आवमा सकिने अर्थमन्त्री पुनको भनाइ थियो । काँकडभिट्टा–लौकी, ढल्केबर–पथलैया, पथलैया–नारायणगढ, बुटवल–गोरुसिंगे, भालुवाङ–लमही खण्डको आगामी आवमा स्तरोन्नति सुरु गरिने भएको छ ।

काँकडभिट्टा–लौकी खण्डको ठेक्का भएर काम सुरु भइसकेको छ । उक्त राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याइएको अर्थमन्त्री पुनले बताए । पृथ्वी राजमार्गको विमलनगरदेखि गोरखाको लिगलिगकोट–भच्चेक–बारपाक–बुङकोट–गोरखाबजार–मनकामना–बेनीघाटसम्म पोडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण कार्य अगाडि बढाइने बजेट वक्तव्यमा उल्लेख छ ।

जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत बिजलपुरा–बर्दिवास र बथनाहा–विराटनगर खण्डमा जग्गा प्राप्तिको काम र पूर्वपश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–चोचा खण्डको निर्माणाधीन काम सम्पन्न गरिनेछ । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने भन्दै रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड विनियोजन गरिएको छ ।

यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गरी सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाइने र दिगो तथा वातावरणमैत्री यातायात प्रणालीको विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ । आगामी आवमा सिस्नेखोला–नागढुंगा सुरुङमार्गबाट यातायात सञ्चालन गर्ने र सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम सकिने बजेटमा उल्लेख छ । ग्वार्को फ्लाईओभरको निर्माण सक्ने, कोटेश्वर इन्टरसेक्सन निर्माण कार्य आगामी आवमा गरिनेछ । सुरुङमार्ग, फ्लाईओभर र इन्टरसेक्सन निर्माणका लागि ५ अर्ब ६३ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए ।

प्रकाशित : जेष्ठ १६, २०८१ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x