कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

बुढीगण्डकीमा बोटबिरुवाको पनि मुआब्जा वितरण सुरु

हरिराम उप्रेती

गोरखा — बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ । आयोजनाको मुआब्जा, वातावरण, पुनर्वास तथा पुनःस्थापना इकाईले प्रभावितको खातामा रकम निकासा गरेको हो । पहिलो चरणमा करिब ८ सय लाभग्राहीको खातामा १ अर्ब ७० करोड निकासा गरिएको आयोजनाको मुआब्जा, वातावरण तथा पुनःस्थापना इकाई प्रमुख जगतकुमार श्रेष्ठले बताए ।

बुढीगण्डकीमा बोटबिरुवाको पनि मुआब्जा वितरण सुरु

‘अन्य लाभग्राहीलाई क्रमशः रकम वितरण गर्दै जान्छौं,’ उनले भने । मुआब्जा वितरण गर्न आयोजनाका लागि चालु वर्ष ७ अर्ब रकम विनियोजन भएको छ । घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरणका लागि मात्र करिब ८ देखि १० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । ‘असार मसान्तसम्म साढे ६ अर्ब जति रकम वितरण हुन्छ,’ उनले भने, ‘अपुग रकम माग गर्छौं ।’ संरचना र बोटबिरुवाको मुआब्जा लिने लाभग्राहीको निवेदन संकलन पनि जारी रहेको इकाईले जनाएको छ । आयोजनाको डुबानमा पर्ने संरचना र बोटबिरुवाको चैत तेस्रो साता दररेट निर्धारण भएको थियो ।

बुढीगण्डकी डुबानमा पर्ने निजी जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा छ । आयोजनाले ४८ हजार ९ सय ४९ रोपनी जग्गाको ३४ अर्ब ६ करोड मुआब्जा वितरण गरिसकेको छ । डुबानमा पर्ने २४ हजार ५ सय ५५ घरसहित (कुखुरा, बाख्रा र बंगुरको खोर, पाली, भाँडा माझ्ने ठाउँ, धारा, धन्सार, शौचालय) विभिन्न संरचनाको लगत संकलन सकेर मुआब्जा निर्धारण थालेको हो । संरचनालाई उत्तम, मध्यम र सामान्यमा विभाजन गरी दररेट निर्धारण भएको छ । डुबानमा पर्ने ३० प्रजातिका ४ लाख ६३ हजार १ सय ४९ फलफूलको पनि मुआब्जा वितरण हुनेछ । उत्पादन दिन लाग्ने समय र प्रतिवर्ष प्रतिबोटबाट लिन सकिने आम्दानीका आधारमा फलफूलको मुआब्जा निर्धारण भएको छ । फलफूलअन्तर्गत आँप, केरा, निबुवा, सुन्तला, नास्पाती, अनार, सजीवन, लिची, भोगटे, मेवा, भुइँकटहर, मौसम, हलुवावेद, आरु, आरुबखडा, निमपत्ता, जाइफल, तेजपत्ता, अमलालगायत छन् ।

डुबान क्षेत्रमा पर्ने ४९ प्रजातिका ३ लाख ६२ हजार ५ सय ६३ वटा रूखको मुआब्जा निर्धारण गरेर वितरण सुरु भएको हो । साल, सिसौ, खयर, उत्तिस, सल्लो, हर्रो, बर्रो, चिलाउनेलगायत काठको प्रतिक्युफिट र दाउराको प्रतिचट्टालाई आधार मानेर मुआब्जा निर्धारण गरिएको छ । जग्गा अधिग्रहण अन्तिम चरणमा पुग्दा आयोजनाको मोडालिटीबारे भने अझै टुंगो लागेको छैन ।

प्रकाशित : जेष्ठ १२, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?