कोभिड-१९ प्रभावितले तिर्नुपर्ने बैंक किस्ताको समय थपियो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड-१९ प्रभावितले तिर्नुपर्ने बैंक किस्ताको समय थपियो

कम प्रभावितलाई आगामी पुस मसान्तसम्म
मध्यम प्रभावितलाई आगामी चैत्र मसान्तसम्म
अति प्रभावितलाई २०७८ असार मसान्तसम्म 
कृष्ण आचार्य

काठमाडौँ — कोभिड–१९ बाट अति प्रभावित उद्योग–व्यवसायले तिर्नुपर्ने बैंक किस्ताको समयावधि थपिएको छ । शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार ऋणीको आवश्यकता र परियोजना/व्यवसायको सम्भाव्यताको आधारमा २०७६ चैतमा कायम भएको चालु पुँजी कर्जाको सीमामा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रवाह गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारी ।

‘२०७७ असार महिनासम्म भुक्तानी अवधि भएका डिमाण्ड लोन, क्यास क्रेडिटलगायतका अल्पकालीन प्रकृतिका चालुपुँजी कर्जाहरुलाई बैंक तथा वित्तीय संस्थाले ऋणीको अवस्था विश्लेषण गरी २०७७ पुस मसान्तसम्म भुक्तानी गर्न सकिने गरी नवीकरण गर्न सक्ने,’ मौद्रिक नीतिमा भनिएको छ ।

कम प्रभावित पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न मिल्ने व्यवस्था पनि गरिदिएको छ ।

मध्यम रुपमा प्रभावितलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ । अति प्रभावित भएकालाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था नीतिले गरिदिएको छ । ‘कोभिड–१९ को कारण पुन:स्थापित हुन समय लाग्ने पर्यटन क्षेत्रलगायतका अति प्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानीका लागि आवश्यकता अनुसार थप समय प्रदान गर्न सक्ने व्यवस्था मिलाइने छ,’ नीतिमा भनिएको छ, ‘२०७६ पुस मसान्तमा सक्रिय वर्गमा रहेका कर्जालाई ऋणीले २०७७ पुस मसान्तभित्र लिखित कार्य योजना पेस गरेमा बैंक तथा वित्तीय संस्थाले विश्लेषण गरी न्यूनतम १० प्रतिशत ब्याज असुल उपर गरी एक पटकका लागि कर्जा पुन:संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ ।’

निर्माणाधीन पूर्वाधार आयोजनामा प्रवाहित कर्जाको ग्रेस अवधिमा पाकेको ब्याज पुँजीकरण गर्न राष्ट्र बैंकबाट पूर्व स्वीकृति पाइसकेका कर्जा २०७७ पुस मसान्तसम्म पुँजीकरण गर्न सकिने व्यवस्था गरिदिएको छ ।

२०७७ असार मसान्तसम्म असुल हुन नसकेको लघुवित्त वित्तीय संस्थाबाट प्रवाहित कर्जाको किस्ता बढीमा ६ महिनासम्म भाका सार्न सक्ने व्यवस्था पनि गरिदिएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २, २०७७ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्

तीन महिनाको विपद् : कुल १५५ को मृत्यु, ५२ बेपत्ता

रासस

काठमाडौँ — मुलुकभर गत वैशाखयता विपद्जन्य घटनाबाट धेरै मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन् । मुख्य गरी पहिराका कारण अकल्पनीय क्षति भएको छ । 

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८, गौडेपुलनजिक खसेको  पहिरो । तस्बिर : माधव अर्याल

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन महिनामा विपद्जन्य घटनामा परेर १५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म ५३ जना बेपत्ता रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । विपद्‍मा परेर कुल २४९ घाइते छन् । उनका अनुसार अहिले पनि उद्धार, राहत वितरण तथा बेपत्ताको खोजी र पुनर्स्थापनाको काम जारी छ ।

मुख्यगरी चट्याङ, बाढी र पहिरामा यसरी मानवीय क्षति भएको हो । धेरै मानवीय क्षति पहिराले पुर्‍याएको छ । प्राधिकरणबाट प्राप्त विवरणानुसार पहिरामा परेर कुल १०२ जनाको ज्यान गएको तथा ४६ जना हराइरहेका छन् । कुल ८५ जना घाइते छन् । यस्तै बाढीमा परेर ६ जनाले ज्यान गुमाएको, ६ बेपत्ता भएको र तीन घाइते तथा चट्याङबाट ४७ जनाको मृत्यु तथा १६१ जना घाइते भएको पोखरेलले जानकारी दिए ।

सबैभन्दा बढी पहिरो गत जेठ ३१ पछि खसेको छ । सोही दिनदेखि मनसुन सक्रिय भएको थियो । मनसुन शुरु भएपछि साउन १ सम्म करीब एक महिनाका अवधिमा मात्रै कुल १२० जनाको मृत्यु, ५१ जना बेपत्ता तथा १२८ जना घाइते भएको तथ्याङ्क छ । उक्त अवधिमा पहिरामा परेर मात्रै १०० जनाले ज्यान गुमाएका छन् । बाढीमा परेर तीन र चट्याङबाट १७ जनाले ज्यान गुमाएको प्राधिकरणले जनाएको छ । यसपटक नसोचेको क्षेत्रमा पहिरो खस्दा धेरै मानिसले ज्यान गुमाउनुपरेको छ । जथाभावी सडक खन्ने, पानीको स्रोत व्यवस्थापन नहुने तथा एकै ठाउँमा धेरै पानी परेकाले पनि बाढीपहिराका घटना बढेको तथा भूकम्पले असर गरेकाले पहिरो खसेको भूगर्भविद् शिवकुमार बाँस्कोटाले बताए ।

यस वर्ष अहिलेसम्म कुल ६० जिल्लामा मनसुनजन्य विपद्का घटना भएको छ । त्यसमध्ये ३३ जिल्लामा मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ । अहिलेसम्म २५० भन्दाबढी विपद्का घटना भएको विवरणमा उल्लेख छ । जेठ ३१ गते पर्वतको दुर्लुङमा पहिरो खसेको थियो । त्यसमा परेर ९ जनाले अकालमै ज्यान गुमाए । असार ८ गते पाल्कापो सम्बोबारीमा पहिरो खस्दा ४ जनाको मृत्यु भयो । त्यस्तै बझाङको केदारस्युँलगायत स्थानमा पहिरो जाँदा ७ जनाको मृत्यु भएको थियो ।

असार अन्तिम साता मुलुकका विभिन्न जिल्लामा भारी वर्षा हुँदा धेरैले ज्यान गुमाए भने अझै धेरै बेपत्ता छन् । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकका बाह्रबिसे र भोटेकोसीमा बाढी पहिरामा परेर २ जनाको मृत्यु भयो भने अझै २० जना हराइरहेका छन् ।

म्याग्दीका धवलागिरि र मालिका गाउँपालिकामा बाढीपहिरो जाँदा २७ जनाको मृत्यु भयो भने ४ जना अझै बेपत्ता छन् । यस्तै कास्की, जाजरकोट, लमजुङलगायत जिल्लामा पनि बाढी र पहिराले धनजनको क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यही साउन ४ देखि पुनः न्यूनचापीय रेखा नेपाल नजीक आउने भएकाले मनसुन सक्रिय हुने र मुलुकका विभिन्न जिल्लामा मध्यम, भारी वर्षा र अतिभारी वर्षा हुने अनुमान गरिएको छ । त्यसैले प्राधिकरणले आवश्यक पूर्वसावधानी अपनाउन अनुरोध गरेको छ । मनसुन झण्डै ४ दिन कायम रहने जनाइएको छ ।

प्रकाशित : श्रावण २, २०७७ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×