कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रित्तिँदै मल भण्डारण

जेठ, असार र साउनमा युरियाको मासिक माग २५ देखि ३५ हजार टन, मौज्दात २० हजार टन
डीएपीको माग मासिक २० देखि २५ हजार टन (जेठ, असार र साउन), मौज्दात १५ हजार टन
कृषि मन्त्रालयले भन्यो, ‘मल जेठ महिनालाई मात्रै पुग्छ’
राजु चौधरी

काठमाडौँ — हरेक वर्षझैं यस वर्ष पनि रासायनिक मल अभाव देखिएको छ । सरकारले यसअघि बर्खे बालीका लागि पर्याप्त मल रहेको दाबी गरे पनि धान रोप्ने समय नजिकिँदै गर्दा मौज्दात मल सकिन लागेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार जेठ, असार र साउनमा युरिया मल प्रतिमहिना औसत २५ देखि ३५ हजार टन चाहिन्छ । डीएपी मासिक २० देखि २५ हजार आवश्यक पर्छ । तर जेठ १८ सम्मको मौज्दात डीएपी २० हजार र युरिया १५ हजार टन मात्र छ ।

रित्तिँदै मल भण्डारण

‘मल चाहिने समयमा मौज्दात घट्ने क्रममा छ । सहकारी, कम्पनीहरुबाट अत्यधिक माग छ,’ मन्त्रालयका कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका वरिष्ठ कृषि प्रसार अधिकृत शिरीष पुनले भने, ‘मल जेठलाई मात्रै पुग्छ । लकडाउनले साह्रै समस्या भयो ।’ अनुदान मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गर्दै आएका छन् । यी दुई कम्पनीले ग्लोबल टेन्डरमार्फत मल खरिद गर्ने गरेका छन् ।

बर्खे बालीका लागि खरिद गरिएको मल भारतको गुजरात र कोलकातामा रोकिएपछि यहाँ समस्या भएको हो । लकडाउनका कारण श्रमिक अभावले दुई महिनादेखि मल रोकिएको छ । कोलकातामा २५ हजार टन डीएपी र गुजरातमा २१ हजार ५ सय टन युरिया रोकिएको छ । उक्त मल नेपाल आइपुग्दा समस्या देखिएको हो । ‘अप्रिलमा आएको मल मजदुरका कारण कोलकातामा रोकिएको छ । गुजरातको अवस्था पनि उस्तै छ,’ पुनले भने, ‘छलफल धेरै सकारात्मक भएको छ । आउने सम्भावना बढेको छ । असार पहिलो सातासम्म आएन भने धेरै समस्या हुन्छ ।’ उनका अनुुसार कोलकाताबाट आए असारसम्मलाई पुग्छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्धक नेत्र भण्डारीका अनुसार कोलकातामा मल ब्यागिङ गर्ने श्रमिक पाइएको छ । तिनले तीन दिनभित्र २५ सय मेट्रिक टन ब्यागिङ पुर्‍याउँछन् । त्यसपछि रेल खोजेर आयात गरिनेछ । ‘डीएपी ३६ हजार बोरा पुगेको छ । ५० हजार बोरा पुगेपछि रेलमार्फत आउँछ,’ भण्डारीले भने, ‘रेल छुटेको १० दिनमा वीरगन्ज आइपुग्छ ।’ आन्तरिक ढुवानीमा पनि उस्तै समस्या रहेको उनो भनाइ छ । बढी पैसा पाएपछि ठेकेदारहरु चामल र दाल ढुवानीमा व्यस्त छन् । मल ढुवानीलाई बेवास्ता गरेका छन् । ‘सहकारी/किसानलाई जिल्ला प्रशासनको स्वीकृतिमा आफैं ढुवानी गर्न भनेका छौं,’ भण्डारीले भने, ‘मुख्यत: युरियाको समस्या हो ।’

कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले पनि बारा क्षेत्रमा मलको हाहाकार भएको बताए । ‘युरिया र डीएपी मल एक बोरा पनि मौज्दात छैन । राजनीतिक दबाब पनि उत्तिकै छ,’ उनले भने, ‘बर्खे बालीलाई समस्या भयो ।’ विगतमा भारतीय सीमाबाट मल आयात हुन्थ्यो । लकडाउनका कारण सीमामा कडाइ गरिएपछि समस्या भएको छ ।

सीमाबाट आयात बन्द भएपछि मुलुकमा माग ह्वात्तै बढेको उनको भनाइ छ । बारामा युरिया करिब एक हजार टन र डीएपी ५ हजार टन चाहिन्छ । अहिले मौज्दात शून्य रहेको उनको दाबी छ । ‘मुलुकभर नै युरियाको समस्या छ,’ उनले भने, ‘धानको सिजनमा डीएपी पनि अभाव हुने देखियो ।’

मन्त्रालयका अनुसार विगतका वर्षभन्दा यस वर्ष ढुवानी योजनाबद्ध थियो । तर कोरोना र लकडाउनले समस्या भएको हो । ‘६२ दिनदेखि कोलकातामा रोकियो । विराटनरमा ६ दिनमा पुग्ने सामान १४ दिन हुँदा आइपुगेको छैन,’ भण्डारीले भने, ‘आफ्नो कारणभन्दा महामारीको कारण अभाव भयो ।’

बजेटको समस्या नभए पनि कोरोनाले संकट निम्त्याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए । असार पहिलो सातासम्म मल आउने क्रम सुरु हुने उनको भनाइ छ । उनले पनि लोडिङकै समस्या भएको औंल्याए । ‘५० हजार बोरा भएपछि रेलको र्‍याकका लागि हाल्ने हो । कोलकाताबाट वीरगन्जसम्म आइपुग्न समय नलाग्ला,’ उनले भने, ‘असार पहिलो सातासम्म आइपुगे केही राहत हुन्थ्यो ।’

प्रकाशित : जेष्ठ २३, २०७७ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?