१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

जसलाई जानु छैन घर

लकडाउनअघि लाङटाङ आएका केही पर्यटक यतै सुरक्षित हुने ठानेर स्वदेश फर्किन चाहेका छैनन्
बलराम घिमिरे

रसुवा — जापानी नागरिक मिजो सङ अहिले पनि पर्यटकीय क्षेत्र क्याङजिनमा बसिरहेका छन् । उनी गत पुसमै यहाँ आएका हुन् । लामो समय बिताउने गरी बर्सेनि आउने गरेका उनी कोरोना संक्रमण बढेसँगै सरकारले गरेको लकडाउनका कारण यतै रोकिए । उनलाई स्वदेश फर्कन जापानी दूतावासले बोलाउँदासमेत नगएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष सुप्पा लामाले बताए ।

जसलाई जानु छैन घर

कोरोना प्रकोपबाट लाङटाङ क्षेत्र सुरक्षित मानेर नफर्किएको हुन सक्ने लामाको भनाइ छ । बजार क्षेत्रभन्दा धेरै टाढा जोकोही आउजाउ नहुने र शान्त ठाउँमा बस्न पाएकाले उनले आफ्नो बसाइ अझै सुरक्षित ठानेका छन् । त्यस्तै ताइवानका नागरिक जेफ पनि लकडाउनअघि नै लाङटाङ क्षेत्र घुम्न आएका थिए । उनी पनि यतै रोकिए । पछि उनी गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीस्थित एक होटलमा बसिरहेका छन् । उनी पनि स्वदेश फर्कन चाहेका छैनन् । जेफ जस्तै पाँच पर्यटक अहिले पनि लाङटाङ क्षेत्रमा छन् । उनीहरू यतै रमाइरहेका छन् ।

बेलायती नागरिक सामुयल जोन्स पनि अहिले लाङटाङ क्षेत्रमै छन् । उनी नेपाल बस्न थालेको साढे दुई वर्ष भयो । बीचमा बेलायत गएर उनी तीन महिनाअघि रसुवा आएका हुन् । उनी लाङटाङ क्षेत्रमा पुरानो प्लास्टिकका बोतल संकलन गर्ने कामको नेतृत्व गर्छन् । लकडाउनका कारण सबैतिर बन्द भएकाले यहाँ सुरक्षित रहेको उनले सुनाए ।

स्थानीयलाई साथीभाइ बनाएका उनले आफ्नो नाम नै नेपाली राखेका छन्– तेन्जिन शेर्पा । आफ्नो मुलुक फर्कन दूतावासले अप्रिल ७ मा बोलाए पनि उनी अझै ५ महिना नेपाल बस्ने योजना रहेको बताउँछन् । त्यति बेला घुम्न आएका करिब ७ सय जना पर्यटक फर्किएको उनले जानकारी दिए । ‘मेरा सबै परिवार लन्डनमा छन्,’ उनले भने ।

लकडाउनका कारण हिँडडुल कम भए पनि चिसो मौसममा रमाउँदै बस्न पाउँदा पर्यटक स्वदेश फर्किनसमेत मानेका छैनन् । लकडाउनका कारण भिसा अवधि सकिए पनि बस्न पाउने भएपछि नेपाल भित्रिएका ती पर्यटक अहिले ढुक्कले रमाइरहेका छन् । घुमफिर गर्न नपाए पनि हिमाली जिल्लाको सुन्दरता र चिसो मौसममा आफूहरू दंग परेको उनीहरूको भनाइ छ । यति बेला खचाखच भरिने होटल बन्दप्राय: रहेको गोसाइँकुण्ड गाउँपालिका–५ का होटल व्यवसायी लाक्पा गुम्बु तामाङले जानकारी दिए ।

सम्बन्धित समाचारः

प्रकाशित : जेष्ठ ७, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?