१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

एक्याप क्षेत्रमा अझै पर्यटक

विभिन्न पर्यटकीय गन्तव्यमा पनि छिटफुट पर्यटक छ
आश गुरुङ

लमजुङ — अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मनाङ, मुस्ताङ र कास्कीमा १२ मुलुकका ४४ पर्यटक पदयात्रा क्षेत्रमै छन् । लकडाउनअघि पदयात्रामा आएका यी पर्यटक यस क्षेत्रमै सुरक्षित महसुस गरी बसेका हुन् ।

एक्याप क्षेत्रमा अझै पर्यटक

लमजुङ र म्याग्दीमा भने पर्यटक छैनन् । २५ पुरुष र १९ महिला अहिले पदयात्राका होटल तथा होमस्टेमा बसेका छन् । कोरोना भाइरस संक्रमण डरले आफ्नो देश नफर्किएको उनीहरूले स्थानीयलाई बताएका छन् । उनीहरूले नेपाल सुरक्षित महसुस गरेका छन् ।

लकडाउनकै समयमा धेरै पर्यटक संरक्षित क्षेत्रभित्रको पदयात्रामा रहेको एक्याप केन्द्रीय कार्यालय पोखराका प्रमुख राजकुमार गुरुङले जानकारी दिए । आफ्नो देशले चार्टर्ड जहाज पठाएपछि सरकारले उनीहरूलाई आफ्नो देश फर्कने व्यवस्था गरेको थियो । धेरै पर्यटकलाई स्थानीय प्रशासन र प्रहरीले लकडाउनको समय उद्धार गरी पठाए पनि उनीहरू फर्कन नचाहेको प्रमुख गुरुङले बताए । उनीहरू अहिले पदयात्राकै होटल तथा होमस्टेमा बसेका छन् ।

एक्यापका अनुसार इलाका संरक्षण कार्यालय मुस्ताङअन्तर्गत छिङ्गुर, जोमसोम, झारकोट र घासामा पर्यटक छन् । मनाङको पिसाङ, ङावल र तालमा केही पर्यटक बसेका छन् । कास्कीको धम्पुस र घाचोकमा पनि पर्यटक छन् । घान्द्रुकअन्तर्गत तिखेढुंगामा र लान्द्रुकमा पनि केही पर्यटक रहेको एक्याप केन्द्रीय कार्यालयका सूचना अधिकारी ऋषि बरालले जानकारी दिए ।

यीमध्ये चिनियाँ मात्रै १६ जना छन् । अन्यमा मलेसिया, अमेरिका, रसिया, जर्मनी, अस्ट्ेरलिया, फ्रान्स, इटाली, अर्जेन्टिना, स्विडेनलगायत मुलुकका पर्यटक छन् ।

प्रकाशित : जेष्ठ ७, २०७७ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?