लकडाउनअघि विदेशी लगानी १३४ प्रतिशत बढ्यो

एफडीआई कम आउँछ, आएको भन्दा बढी रकम लाभांशबापत बाहिरिन्छ
आठ महिनामा साढे १५ अर्ब
यज्ञ बञ्जाडे

काठमाडौँ — विश्वभर महामारीका रूपमा फैलिएको कोरोना (कोभिड–१९) ले नेपाल आउने विदेशी लगानी प्रभावित हुने प्रक्षेपण भइरहँदा गत फागुनमा भने प्रत्यक्ष विदेशी (एफडीआई) लगानी १ सय ३४ प्रतिशत बढेको छ । ०७६ फागुनसम्म १५ अर्ब ६१ करोड १६ लाख रुपैयाँ एफडीआई भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । ०७५ फागुनसम्म ६ अर्ब ६६ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।

लकडाउनअघि विदेशी लगानी १३४ प्रतिशत बढ्यो

गत फागुनसम्मको एफडीआई गत आवको तुलनामा बढी हो । गत आवमा त्यस्तो लगानी १३ अर्ब ६ करोड आएको थियो । अघिल्लो आवका सबै महिना उच्च दरले बढेको विदेशी लगानी गत वर्षभर घट्यो । चालु आवको सुरुदेखि नै उच्च दरले बढिरहे पनि बाँकी महिनामा विदेशी लगानी घट्ने सम्भावना अझ बढी रहेको अर्थविद्हरू बताउँछन् । कोभिड–१९ ले विश्वका प्रायः राष्ट्र प्रभावित भइरहेकाले चालु आवका बाँकी महिनामा धेरै विदेशी लगानीको आस गर्न नहुने उनीहरूको भनाइ छ ।

‘म त खासै आशावादी छैन,’ अर्थविद् केशव आचार्यले भने, ‘यहाँ विदेशी लगानी ल्याउन प्रक्रिया थालेका लगानीकर्ताको राष्ट्रमा पनि कोरोना प्रभाव व्यापक छ । यस्तो अवस्थामा उनीहरूले कसरी लगानी विस्तार गर्न सक्लान् ।’ ती लगानीकर्ताले आफ्नो राष्ट्रमा लगानीको राम्रो अवसर पाए तत्कालका लागि विदेशी लगानी रोकिन सक्ने उनको भनाइ छ । तत्कालको कोरोना असरलाई बिर्सने हो भने पनि नेपालमा धेरै विदेशी लगानी भित्र्याउन सरकारले गरेका काम पर्याप्त नभएको उनले बताए । ‘सरकारले केही नीतिगत सुधार गरेको छ । तर व्यवहारमा केही सुधार भएन,’ उनले भने, ‘एकद्वार नीति बनाउने भन्दै उद्योग विभागमा एक निकाय थपियो । तर त्यहाँ अत्यावश्यक पूर्वाधार पनि छैन । त्यस्तो ठाउँबाट के धेरै सुविधा आस गर्नु ?’

चालु आवका बाँकी महिनामा विदेशी लगानी पनि दबाबमा पर्ने राष्ट्र बैंकका अधिकारीहरू पनि बताउँछन् । गत फागुनसम्म रेमिट्यान्स र विदेशी लगानीको आप्रवाह राम्रो भए पनि अब घट्ने उनीहरूको प्रक्षेपण छ । यद्यपि नेपाल भित्रिने विदेशी लगानीभन्दा धेरै रकम ती लगानीको लाभांशबापत बाहिरिँदै आएको छ । पछिल्ला एक दशकको तथ्यांकले पनि त्यही देखाउँछ ।

गत आवमा विदेशी लगानीको लाभांशबापत २८ अर्ब रुपैयाँ मुलुकबाट बाहिरियो । सो अवधिमा १३ अर्ब रुपैयाँ मात्र विदेशी लगानी आएको थियो । पछिल्ला वर्षमा विदेशी लगानीको यस्तै प्रवृत्ति बढ्दो छ । ०६६/६७ देखि ०७५/७६ सम्मको १० वर्षमा ८५ अर्ब १५ करोड रुपैयाँ कुल विदेशी लगानी नेपाल भित्रिएकामा लाभांश शीर्षकमा १ खर्ब ४ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको छ । राष्ट्र बैंकका अनुसार विदेशी लगानीको लभांशबापत नेपालबाट हरेक वर्ष औसत साढे १० अर्ब रुपैयाँ बाहिरिने गरेको छ । लगानी भने औसतमा साढे ८ अर्ब आएको देखिन्छ । विदेशी लगानी बढाउन अनेक प्रयास भए पनि अपेक्षित रूपमा सफल हुन नसकेको तथ्यांकले देखाउँछन् ।

एफडीआईमध्ये सबैभन्दा धेरै औद्योगिक क्षेत्रमा आएको छ । यो क्षेत्रमा सिमेन्ट, जलविद्युत्लगायतमा धेरै लगानी आएको देखिन्छ । लगानीमा रहेको पुँजी हेर्दा सबैभन्दा धेरै लगानी ट्याक्स हेभन मानिने ‘वेस्ट इन्डिज’ राष्ट्रबाट आएको छ ।

प्रतिबद्धताभन्दा कम

गएको एक दशकमा नेपाल आएको विदेशी लगानी सोही अवधिको प्रतिबद्धताभन्दा थोरै हो । यसले विदेशी लगानी प्रतिबद्धताअनुसार आएको छैन भन्ने देखाउँछ । आव ०६६/६७ मा लगानीकर्ताले ९ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता गरेका थिए । सो वर्ष २ अर्ब ८५ करोड रुपैयाँ मात्र लगानी भित्रियो । प्रायः वर्षमा प्रतिबद्धताभन्दा कम मात्र लगानी आएको छ ।

आव ०७४/७५ मा ५५ अर्ब ७६ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएकामा १७ अर्ब ५१ करोड रुपैयाँ मात्र आएको छ । यसैगरी, आव ०७५/७६ मा २५ अर्ब ४८ करोड लगानी प्रतिबद्धता रहेकामा करिब आधा मात्र लगानी भित्रिएको सरकारी तथ्यांक छ ।

प्रकाशित : वैशाख १२, २०७७ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?