परामर्श गरेर अघि बढ्न व्यवसायीको सुझाव
भैरहवा र परासी — लकडाउनले सहर ठप्प छ । सार्वजनिक र ढुवानीका साधन गुडेका छैनन् । अधिकांश मजदुर घर फर्किसके । ग्रामीण क्षेत्रबाट आउने मजदुरलाई सुरक्षाकर्मीले फर्काइदिन्छन् । बैंकिङ सेवा असहज छ । आयात गरिएको कच्चा पदार्थ उद्योगसम्म ल्याउन सकिएको छैन । मेसिन तथा पार्टपुर्जा बिग्रेमा खरिद गर्ने स्थान छैन ।
लकडाउनका कारण उत्पन्न यस्तो असहज परिस्थितिको सामना गर्दै रूपन्देहीमा पाँच दर्जनभन्दा बढी खाद्य र औषधि उद्योग नियमित सञ्चालन भइरहेका छन् । तर सञ्चालनका लागि सहज वातावरण नहुँदा पछिल्ला दिनमा उद्योग समस्यामा पर्न थालेका छन् । सञ्चालन भएका उद्योग चामल, दाल, खाने तेल र औषधिका हुन् । जिल्लामा रहेका निर्माण कार्यसँग सम्बन्धित अन्य ठूला उद्योग भने बन्द छन् ।
अत्यावश्यक सामग्रीका उद्योग सञ्चालन गर्न दिने निर्णय सरकारले गरेअनुरूपको व्यवस्थापन भने सरकारले गर्न नसक्दा उद्योग सञ्चालनमा निरन्तरता दिन गाह्रो हुन थालेको व्यवसायीले बताएका छन् । दैनिक उपभोग्य वस्तु उत्पादन गर्दै आएका उद्योगलाई निरन्तरता दिन सरकार र स्थानीय प्रशासनले तत्कालै व्यवसायीसँग परामर्श गरी आवश्यक कदम चाल्नुपर्ने व्यवसायीको सुझाव छ । ‘लकडाउनका बेला केकस्तो सुरक्षा अपनाएर उद्योग सञ्चालन गर्ने भन्नेबारे व्यवसायीसँग बसेर मापदण्ड बनाइयोस्, कार्यान्वयन गर्न हामी तयार छौं,’ नेपाल चामल, दाल, तेल उद्योग संघका केन्द्रीय महासचिव तथा रोहिणी एग्रो इन्डस्ट्रिज प्रालिका सञ्चालक दीपककुमार पौडेलले भने, ‘तर दैनिक उपभोग्य वस्तुसँग सम्बन्धित उद्योग सञ्चालनलाई कसरी निरन्तरता दिने भन्नेबारे न तीन वटै तहका सरकारले व्यवसायीसँग परामर्श गर्न चाहन्छन् न त प्रशासनले ।’
धेरै दिनसम्म चामल उद्योग सञ्चालन गर्दा निस्कने भुस र कनिकाको व्यवस्थापन गर्न नसकिएको, बैंकिङ सेवा सहज नहुँदा कामदारलाई भुक्तानी र कच्चा पदार्थ धानको आयातका लागि एलसी खोल्न नसकिएको, लकडाउनले कामदार र मजदुर उद्योगसम्म आउने वातावरण बन्न नसकेको र उत्पादित माल बजारसम्म पठाउनमा पनि ढुवानीको समस्या भएको उनले बताए । उनका अनुसार उद्योगबाट निस्कने भुस, चाउचाउ, बिस्कुट उद्योगले इन्धनका लागि लैजाने गर्थे । अहिले ढुवानीको समस्याले उद्योग परिसरमै व्यवस्थापन गर्नुपर्दा समस्या भएको छ ।
‘अहिलेसम्म जसरी तसरी उद्योग चलेको छ,’ पौडेलले भने, ‘विकल्पमा केही भएन भने हप्ता/दस दिनपछि सबै चामल उद्योग बन्द हुनेछन् ।’ व्यवसायीका अनुसार रूपन्देहीमा स्टिम प्लान्ट (धान उसिनेर चामल उत्पादन गर्ने) ठूला उद्योग १० वटा छन् । जसको उत्पादन क्षमता प्रतिघण्टा चारदेखि आठ मेट्रिक टन छ । अरुवा प्लान्ट (धान खोस्ट्याएर सामान्य रूपमा चामल उत्पादन गर्ने) करिब २५ वटा छन् । जसको उत्पादन क्षमता प्रतिघण्टा दुई मेट्रिक टन हुन्छ । रूपन्देहीका चामल उद्योगमा दैनिक चामल उत्पादन क्षमता सरदर २ सय ५० मेट्रिक टन छ । औषधि उद्योग दस, खाने तेल उद्योग नौ र दाल उद्योग आठ वटा छन् ।
उद्योग सञ्चालन गर्ने वातावरण सरकारले सहज बनाइदिए सरकारले लागू गरेको सुरक्षा मापदण्ड कार्यान्वयन गरी उद्योग सञ्चालन गर्न व्यवसायी तयार रहेको सिद्धार्थ राइस मिल प्रालि भलवारीका सञ्चालक चन्द्रमान श्रेष्ठ बताउँछन् । यसका लागि सरकारले कच्चा पदार्थ धान र मजदुर उद्योगसम्म आउने सहजता, मेसिन तथा उपकरणको स्पेयर पाटर््सको उपलब्धता र बैंकिङ सेवा सहज हुनुपर्ने उनले जनाए ।
‘सरकारले यसतर्फ समयमै विचार नपुर्याए स्वदेशी सबै चामल उद्योग बन्द भई भारतबाटै आउने चामलमा मात्रै मुलुक निर्भर रहनुपर्ने अवस्था आउन सक्छ,’ श्रेष्ठले भने, ‘दैनिक आवश्यक पर्ने उद्योग सञ्चालन गर्नेबारे सरकारले भने जस्तो व्यवस्थापन स्थानीय तह र प्रशासनले गर्न सकेन ।’ लकडाउनका कारण देखापरेका असहजताले पछिल्ला दिनमा रूपन्देहीका चामल उद्योग २० देखि ३० प्रतिशत क्षमतामा मात्र सञ्चालन गर्नुपरेको उनले बताए ।
दाल र तेल उद्योग सञ्चालनमा पनि लकडाउनका कारण तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ढुवानी गरेर उद्योगसम्म ल्याउन सकिएको छैन । बैंकिङ सेवा सहज नभएकाले तेस्रो मुलुकबाट ल्याएर भन्सारमा रहेको कच्चा पदार्थ छुटाउन पैसा र डकुमेन्ट पेस गर्न नसकिँदा समस्या भएको व्यवसायीको भनाइ छ । ‘सरकारले खाद्यान्नको ढुवानीलाई नरोक्ने भने पनि व्यवहारमा त्यस्तो हुन सकेको छैन,’ उद्योगी ऋषि अग्रवालले भने, ‘ढुवानीका लागि ट्रक चालकबीच बाटोमा खाने, बस्ने समस्या पर्छ भनेर जान मान्दैनन् ।’
तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ तोरी र दालको गेडादाना वीरगन्ज भन्सारमा दुई सातादेखि थन्किए पनि ढुवानी गर्न समस्या भइरहेको उनले बताए । बैंकिङ असहजताले भुक्तानी र डकुमेन्ट पेस गर्न नसक्दा लकडाउन सुरु भएदेखि नै कोलकाता बन्दरगाहबाट कुनै पनि माल छुटाउन नसकिएको उनको भनाइ छ । यसका लागि सरकारले तत्कालै सहजीकरण गर्न नसके आउने दिनमा उद्योग सञ्चालनमा अझ चुनौती आउने उनको दाबी छ ।
भैरहवास्थित एसियन फर्मास्युटिकल्स प्रालिका सञ्चालक हुतानन्द खनालले पनि औषधि उद्योगमा कार्यरत कामदार तथा कर्मचारीलाई ल्याउने लैजाने सवारी साधन उद्योगको आफ्नै भएकाले अन्य उद्योगलाई कामदारको समस्या नभएको उनले बताए । चिकित्सक क्लिनिकमा नबस्ने भएकाले पहिला जस्तो औषधि नै बिक्री हुन छाडेको उनले जनाए । ‘कच्चा पदार्थ दुई महिना जतिलाई स्टक छ । अहिले अन्य उद्योगमा जस्तो समस्या छैन,’ उनले भने, ‘बरु बैंकिङ समस्याले पैसा संकलन हुनमा समस्या भइरहेको छ ।’
पश्चिम नवलपरासीमा अत्यावश्यकबाहेकका उद्योग र सवारी सञ्चालनमा छन् । तिनका कच्चा पदार्थ बोकेर भारतबाट दर्जनौं मालवाहक गाडी दैनिक भित्रिने गरेका छन् । कच्चा पदार्थ आयातकर्ताले कर्मचारीलाई परिसरमै क्वारेन्टाइनमा राखेर उद्योग सञ्चालन गरिरहेका छन् । केही दिनअघि सुनवल नगरपालिकास्थित लक्ष्मी स्टिल उद्योगमा भारतबाट कच्चा पदार्थ बोकेर आएका गाडी रोकेपछि प्रहरी र स्थानीयबीच झडप नै भएको थियो । त्यसक्रममा प्रहरीले केही स्थानीयलाई पक्राउ गरेको थियो । उक्त उद्योग अहिले पनि सञ्चालनमा रहेको स्थानीयले बताए ।
पाँच दिनअघि रामग्राम नगरपालिकाको पोखरापालीस्थित सिद्धि लक्ष्मी स्टिल उद्योगमा कच्चा पदार्थ ल्याएर मालवाहक गाडी आएका थिए । यहाँ उद्योग सञ्चालन भइरहेकाले कच्चा पदार्थ आयात भइरहेको छ । तर, यसरी आउने गाडीलाई सेनेटाइज (शुद्धीकरण) नगरिएका कारण स्थानीय कोरोना भाइरस संक्रमण हुने चिन्ता व्यक्त गर्छन् । यहाँ ल्याइएका सामान अनलोड गर्न दुई दिन लाग्छ । त्यस अवधिमा भारतीय चालक उद्योगबाहिर घुमफिर गर्ने हुँदा डर लाग्ने गरेको परासीका रोहित चौधरीको भनाइ छ ।
