लकडाउनपछि बैंकको ७० प्रतिशत ब्याज उठेन- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनपछि बैंकको ७० प्रतिशत ब्याज उठेन

सुविधा पाएपछि क्षमतावान् ऋणीले पनि तिरेनन्ः बैंकर्स संघ
यज्ञ बञ्जाडे

काठमाडौँ — चैत मसान्तमा उठ्नुपर्ने वाणिज्य बैंकहरुको कुल ब्याज आयमध्ये करिब ३० प्रतिशत मात्र असुली भएको प्रारम्भिक अनुमान गरिएको छ । कोभिड–(१९ जोखिमबाट बच्न भन्दै सरकारले लकडाउन घोषणा गरेसँगै ऋणीले चैतमा तिर्नुपर्ने किस्ता र ब्याज असारसम्म तिरे हुने सुविधा पाएका छन् । यही सुविधाका कारण बैंकहरुको करिब ५० अर्ब रुपैयाँ असुली हुन नसकेको हो ।

बैंकहरुका अनुसार चैत मसान्तमा २७ बैंकको करिब ७० देखि ७५ अर्ब रुपैयाँ ब्याजबापत उठ्नुपर्ने थियो । त्यसमध्ये करिब ३० प्रतिशत मात्र असुली भएको प्रारम्भिक तथ्यांक रहेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘यो अचम्म नै भयो, असारसम्म भुक्तानी अवधि थपिए पनि यति ठूलो रकम नउठ्ला भन्ने अनुमान थिएन,’ उनले भने, ‘सुविधा पाएपछि तिर्न सक्ने क्षमता पाएकाले पनि तिरेका छैनन् । यस्तो अवस्थामा बैंकलाई अप्ठ्यारो हुन्छ ।’ तिरेकामध्ये धेरैजसो ब्याज छुटवाला रहेको उनले जानकारी दिए ।

चैतसम्म किस्ता तिर्ने ऋणीलाई बैंकले पाकेको ब्याजको १० प्रतिशत छुट दिनुपर्छ । भुक्तानी क्षमता भएका ऋणीलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले पाकेको ब्याजको १० प्रतिशत फिर्ता दिन निर्देशन दिएको थियो । सो व्यवस्थाअन्तर्गत चैत मसान्तमा उठेको ब्याजबाट २७ बैंकले १० प्रतिशतका दरले कुल करिब १ अर्ब रुपैयाँ फिर्ता गरिदिएको अध्यक्ष दाहालले बताए ।

कोरोना संक्रमणका कारण आर्थिक स्थिति बिग्रिएकालाई असारसम्म भुक्तानी सुविधा दिइएकोमा क्षमता भएकाले पनि भुक्तानी नगर्दा यस्तो अवस्था आएको उनले जानकारी दिए । ‘लकडाउनको समयमा खाद्यान्न, ग्यास, पानी, औषधिलगायत व्यवसायीले राम्रो आय गरेका छन्,’ उनले भने, ‘उनीहरुले पनि भुक्तानी नगर्दा समस्या भयो ।’

चैत अन्त्यसम्म २७ वाणिज्य बैंकको कुल कर्जा प्रवाह २८ खर्ब ४५ अर्ब रुपैयाँ छ । त्यसमध्ये औसतमा करिब ४० प्रतिशत आवधिक (टर्म लोन) र ६० प्रतिशत चालू पुँजी (वर्किङ क्यापिटल) छ । सरकारले आवधिक कर्जा लिएका ऋणीले चैतमा तिर्नुपर्ने मासिक तथा त्रैमासिक किस्तामा पाकेको ब्याजको १० प्रतिशत छुट दिन निर्देशन दिएको थियो । यसैगरी अन्य कर्जामा ब्याज छुट नभए पनि असारसम्म भुक्तानी म्याद दिएको छ । यही कारण अहिले उठ्नुपर्ने ठूलो रकम नउठेको हो ।

कोभिड–१९ भाइरसको महामारीका कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित पर्यटन, उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रका लागि राष्ट्र बैंकले विशेष प्याकेज घोषणा गरेको थियो ।

‘०७६ चैतमा असुल गर्नुपर्ने मासिक, त्रैमासिक किस्ताको भुक्तानी ०७७ असारसम्म हुने व्यवस्था मिलाउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइँदैन । यस्तै कर्जा असुल नभएको हकमा बैंकले सो कर्जालाई खराब कर्जामा राख्नु नपर्ने सुविधा पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको छ ।

चैत मसान्तभित्र भुक्तानी अवधि तोकिएका सम्पूर्ण चालू प्रकृतिका अल्पकालीन कर्जाहरुको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ । ‘०७६ पुसभित्र ब्याज तथा साँवा नियमित भुक्तानी गरिरहेका पर्यटन तथा यातायात क्षेत्रका ऋणीहरुले अल्पकालीन कर्जाको माग गरे साँवा तथा ब्याज बक्यौता रहे पनि आवश्यकताअनुसार निश्चित सीमासम्म संक्षिप्त प्रक्रिया अपनाई ५ दिनभित्र कर्जा प्रवाह गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ । यस्तो सीमा स्वीकृत गर्दा ०.२५ प्रतिशतभन्दा बढी शुल्क लिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कोभिड–१९ को उपचारमा आवश्यक औषधि, सुरक्षणका उपकरण तथा उपचारजन्य सामग्री आयातका लागि केही प्रतीतपत्र (एलसी) भने खुलेका छन् । ती सामान खरिदका लागि राष्ट्र बैंकले केही खुकुलो नीति अपनाएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम कोषमा योगदान गरेका रकम बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा गणना गर्न पाउने, कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक औषधि, उपकरण, औजारलगायत सामग्री आयात, बिक्रीवितरणका लागि ऋण माग भए ५ दिनभित्र उपलब्ध गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । हाल वित्तीय प्रणालीमा करिब ६० अर्ब रुपैयाँ अधिक तरलता (सीआरआर बाहेकको लगानीयोग्य रकम) छ ।

प्रकाशित : वैशाख ८, २०७७ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

बालबच्‍चा बचाउन घस्रिँदै घरतिर

मजदुरी गरेर खाने ठाउँबाट लखेटिएपछि बालबच्चा च्यापेर सर्लाही हिँडेका मजदुर शनिबार मध्याह्न खुट्टाले मात्र होइन, हातले समेत टेकेर गन्तव्य ताक्दै गरेको अवस्थामा भेटिए । मान्छेको त साथ पाएनन् नै, उनीहरूलाई मौसमले पनि साथ दिएन ।
हावाहुरी र वर्षा झेल्दै घिस्रिरहेका उनीहरूले हिँड्ने बाटो चिनेका थिएनन्, खानेबस्नेको ठेगान थिएन तर आफ्नोभन्दा छोराछोरीको मायाले गाउँतर्फ डोर्‍याइरहेको थियो ।
मकर श्रेष्ठ, प्रशान्त माली

कान्ति लोकपथ, भट्टेडाँडा — सरकारले शनिबारसम्म मूलबाटो बन्द गरिदिएपछि उनीहरू कान्ति लोकपथ हुँदै गइरहेका थिए । सर्लाही लालबन्दीकी शान्ति घिसिङ, पूजा मोक्तान, कविता र सुस्मिता गर्भवती रहेछन् । ललितपुर फसिडोलको श्री इँटाभट्टामा काम गर्ने उनीहरू शनिबार बिहानै २ बजे उठेर सर्लाहीतिर जान निस्किएका थिए ।

उनीहरूका श्रीमान् र अरू सय जनाजति कान्ति लोकपथ हुँदै पैदल बाटो लागे । घाम उदाउनुअघि नै टीकाभैरवबाट तीनपानेको उकालो कटिसक्ने गरी उनीहरू राति नै हिँडेका रहेछन् । यात्रामा करिब सय जनाको समूह भए पनि बाटो थाहा पाउने कोही थिएनन् ।

उनीहरू कहिल्यै यसरी हिँडेका थिएनन् । बाटो भुलेर उनीहरू तीनपाने डाँडाभन्दा माथि टावरमा पुगेछन् । शनिबार १२ बजेर १५ मिनेटमा खुट्टा खोच्याउँदै ११ जना तीनपाने आइपुगे । अरू जंगलमै अल्मलिएछन् । १२ बजेसम्म उनीहरूले खाना, खाजा केही खान पाएका थिएनन् ।

६ महिनाकी गर्भवती पूजा अरूभन्दा बढी मलिन देखिन्थिन् । उकालो र ओरालो हिँडाइले थकित उनीहरूले तीनपाने झरेपछि चाउचाउ र चाउमिन खाए । खाजा खाएकै होटलमा मकवानपुरको सिमाना प्युटार जाने खाद्यान्न बोकेको ट्रकका चालक पनि खाइरहेका थिए । पूजाका श्रीमानले ट्रक चालकलाई आफ्नी श्रीमती गर्भवती भएकाले हिँड्नै नसकेको समस्या सुनाए, तर ती चालकले आफूलाई प्रहरीले कारबाही गर्छ भन्दै लैजान इन्कार गरे । अरू तीनजना गर्भवतीका श्रीमान् पनि आएर ती चालकलाई हारगुहार गरे ।

हामीले उनीहरूको कुरा सुन्यौं, केही गर्न सकेनौं । केही बेरपछि अर्को टिपर आयो । १० घण्टा हिँडेर थाकेकी गर्भवतीलाई उद्धार गरिदिए हुन्थ्यो भन्ने हामीलाई पनि लागेको थियो । हात देखाएपछि टिपर रोकियो । चालकले बस्ने ठाउँ छैन भन्दै थिए, तर टिपरबाट ढाकाटोपी लगाएका एक जना व्यक्ति ओर्लिए । उनी कान्ति लोकपथको टीकाभैरवदेखि बगुवा खण्ड बनाउने ठेक्का पाएका ठेकेदार केदार तिमल्सिना रहेछन् । टिपरमा डोजर लाग्ने बकेट राखिएको रहेछ । गाडीमा मान्छे राख्दा च्यापिएला कि भन्ने उनलाई चिन्ता थियो ।

तैपनि त्यहाँको दु:ख देखेपछि उनी ती गर्भवतीलाई मकवानपुरको सिमानासम्म पुर्‍याउन तयार भए तर भट्टेडाँडा प्रहरी चौकीछेउमा चाहिँ ओर्लिनुपर्ने सर्त राखे । उनले यसअघि पनि कान्ति लोकपथमा अलपत्र परेका र गर्भवती धेरैलाई उद्धार गरेको सुनाए ।

टिपरमा जाने ती गर्भवतीले कस्तो कष्ट पाउलिन् भन्दै हामी अघि बढ्न लागेका थियौं, तीनपानेका होटल सञ्चालक कुमार तामाङले भने, ‘उनीहरू त सामान्य हुन् । बाटैमा सुत्केरीसमेत भए । केहीको त बच्चा खेर पनि गयो । केही त घर जाँदा बाटोमै लडेर बितेको सुनेँ ।’

हामी १० किलोमिटर टाढा भट्टेडाँडा प्रहरी चौकी पुग्यौं । ती महिलालाई ठेकेदार तिमल्सिनाले टिपरबाट झारेर पठाइसकेका रहेछन् । कान्ति लोकपथमा फाट्टफुट्ट मोटरसाइकल, सरकारी गाडी र खाद्यान्नका गाडी मात्रै चलिरहेका थिए ।

०००

टिपरमै रहेका एक युवाले इँटाभट्टामा काम गर्ने सय जना जंगलमै अलपत्र परेको सुनाएका थिए । उनीहरू कहाँ पुगे होलान् भन्ने लागिरहेको थियो । तिनीहरू जंगलैजंगल मकवानपुरको सिमाना निस्कन सक्ने होटल सञ्चालक तामाङले बताएका थिए ।

उनीहरु तीनेपानेभन्दा अलि पर नयाँगाउँको खोल्सामा थकाइ मार्दै आफैंले बोकेको खाजा खाइरहेको अवस्थामा भेटिए । यो समूहमा सर्लाहीको लालबन्दी र हरिवन तथा महोत्तरीको बर्दिबासका ६० जना थिए, जसमा २० जना बालबच्चा रहेछन् । केहीको खुट्टामा चप्पलसमेत थिएन ।

सबैले नाम्लो लगाएर आफ्ना लत्ताकपडा र भाँडाकुँडाका पोका बोकेका थिए । साथमा कुकुर र कुखरा पनि थिए । स–साना बालबच्चा पनि सकिनसकी भारी बोकेर हिँडिरहेका थिए । उनीहरूले फसिडोलबाट नयाँगाउँसम्म १३ घण्टाको यात्रा गरिसकेका थिए ।

त्यो टोलीमा अढाई र तीन वर्षका बच्चा पनि थिए । त्यही समूहमा थिइन्– ६ वर्षीया सजिना मगर । ५६ वर्षीया हजुरबुबा हर्क र सानुआमा रुपा भुजेलसँग उनी सर्लाहीतिर हिँडेकी थिइन् । यात्रामा रुपाको परिवारको मात्रै छजना रहेछन् । बुबा हर्कले नाम्लो लगाएर ओढ्ने–ओछ्याउने कपडा बोकेका थिए । उनका श्रीमान्ले कपडा र भाँडाकुडा बोकेका थिए । ८ वर्षीय छोराले कुकुरको छाउरो बोकेका थिए । सजिना र उनले सकिनसकी एक/एकवटा भाले पनि काखी च्यापेका थिए ।

स्थानीयले लखेटे

लकडाउनमा फसिडोलको इँटाभट्टामा स्थानीयले काम गर्न नदिएपछि परिवारसहित गाउँ फर्कन बाध्य भएको उनीहरूले बताए । पुरुषहरू प्राय:ले नाम्लो लगाएर ओढ्ने–ओछ्याने र भाँडाकुँडा बोकेका थिए । धेरै महिलाले भने दूधेबच्चा काखी च्यापेर पछाडि झोला भिरेका थिए । ‘हामीले काम गर्ने भट्टामा स्थानीय बासिन्दाले काम गर्न नदिएपछि हामी सबै सामान लिएर घर हिँडेका हौं,’ रुपाले भनिन् ।

साना बच्चा खेल्दै र दौडिँदै कान्ति लोकपथको भित्ता र भीरछेउ हिँडिरहँदा बाबु–आमा भने घरीघरी आत्तिन्थे । भित्ताभित्ता हिँड्नु भन्दै सम्झाउँथे । लोकपथको तीनपानेदेखि भट्टेडाँडा खण्ड मूल सडकबाहेक माथि र तल भीर छ । केही ठूला मान्छे पनि हिँड्न नसकेर बाटोमै लम्पसार परेर सुतिरहेका थिए ।

आमाबुबा थकाइ मार्न बस्दा बच्चाहरू सुतेपछि उठाएर रुवाउँदै घिसारेर लैजाने पनि उत्तिकै थिए । उनीहरू १५ मिनेटजति हिँडेपछि एकछिन बस्थे । बच्चा हिँड्न सक्दैनथे, रुँदै हिँडिरहेका थिए । केहीले भारीमाथि पनि बच्चा बोकेका थिए । उनीहरूको पहिलो दिनको यात्रा कहाँसम्म हो भन्ने थाहा थिएन । हामी बाइकमा अगाडि–पछाडि हुँदा त्यो समूह निरन्तर हिडिरहेकै भेटिन्थ्यो ।

फसिडोलको श्री इँटाभट्टाका सञ्चालकले दुइटा गाडी रिजर्भ गरेर उनीहरूलाई मंसिर ६ गते ललितपुर ल्याएका रहेछन् । त्यतिखेर आउने हरेकले एक लाखभन्दा बढी काँचो इँटा बनाएका छन् । लकडाउन भएपछि भट्टा वरिपरिका बासिन्दाले काम गर्न नदिएर काँचो इँटा बनाएको पैसासमेत नपाई उनीहरु गाउँतिर फर्कन बाध्य भएका रहेछन् । भट्टा सञ्चालकले हरेक परिवारलाई २ हजार खर्च दिएर पठाएको उनीहरूले सुनाए । केही परिवारले त्यो पनि नपाएको बताए । केहीसँग त बाटोमा खाजा खाने पैसा पनि रहेनछ ।

लतिपुरको भट्टेडाँडासम्मको पहिलो दिनको २५ किलोमिटर यात्रामै उनीहरू निकै थकित भएको देखिन्थे । उनीहरूले अब थप १ सय ५९ किलोमिटर यात्रा तय गरी सर्लाहीसम्म पुग्नै बाँकी थियो ।

०००

साँझ ६ बज्न लाग्दै आकाशमा कालो बादल मडारिन थाल्यो । उनीहरू आत्तिए । पाइला अलि छिटो चाल्न खोजे पनि सक्दैनथे । भट्टेडाँडा पुगेपछि फाट्टफुट्ट पानी पनि छिट्याउन थाल्यो । दिनभरि हिँडेर लखतरान भएको एउटा समूह प्रहरी चौकीनजिकै सहकारीले बनाएको जस्ताको टहराबाहिर आराम गरिरहेका थिए । उनीहरू खानेपानी खोज्दै थिए । भेट्टाएनन् । हावाहुरी चल्न थालेपछि लालाबाला च्यापेर आत्तिँदै स्थानिय सहकारी भवनभित्र छिरे । उनीहरूको पहिलो दिनको यात्रा यहीं रोकियो । यही छाप्रोमा रात कटाउन बसे ।

उनीहरूमध्ये कोही दाउराको जोहो गर्न लागे । कोही भट्टेडाँडा बजारनजिकै पानी लिन गए । कोहीचाहिँ दिनभरि कार्टुनमा राखेको कुखुरा चराउनतिर लागे । तीमध्येका थिए सर्लाहीको लालबन्दी, परवानीपुरका राजेश । उनले कुखुराका सातवटा चल्ला र पोथी ल्याएका रहेछन् । छोरा–बुहारीसहित चारजनाले चार महिनामा २ लाख २५ हजार इँटा बनाएको उनले बताए । एउटा इँटा बनाएको एक रुपैयाँ पाउने रहेछन् ।

दाउरा र पानीको जोहो गर्दागर्दै साढे ६ बजे हावाहुरी बेस्सरी चल्न थाल्यो । हामी उनीहरूको दु:ख र पीडाका दिनभरिका साक्षी थियौं, उनीहरूका लागि चामल र तरकारी किन्न पसल मात्रै के पुगेका थियौं, चट्याङ, हावाहुरी र मुसलधारे पानी परेपछि निस्कनै सकेनौं । पसल सञ्चालक कान्छा खड्का सामान निकाल्दै पसलको ढोकामै थिए । चर्को आवाजमा चट्याङ परेपछि उनी तर्सिए । करिब आधा घण्टापछि पानी अलि कम भयो । उनीहरूलाई खानेकुराको जोहो गरेर फर्किंदै थियौं, कृषि सहकारीको हलभित्र पानी छिरेर चिहिलबिहिल भएको देख्‍यौं ।

पानी मत्थर भएसँगै उनीहरूले खाना पकाउन ढुंगाका ६ वटा चुलोमा आगो सल्काए ।

०००

उनीहरूभन्दा पछिल्लो समूहमा रौतहट, चन्द्रनिगाहपुर पुग्ने मनमाया बम्जनको परिवारलाई हामीले भेटेका थियौं । रौतहट र सिन्धुलीका १२ जनाको समूहमा मनमायाका १० र ६ वर्षीय छोरा तथा ५ वर्षीया छोरी पनि थिए । यो समूहले चाहिँ चाउचाउ र बिस्कुटमा छाक टार्ने निधो गर्‍यो ।

रौतहट जानेहरूको पीडा इँटाभट्टामा काम गर्नेको भन्दा चर्को छ । घर बनाउने ज्यामी काम गर्ने उनीहरू काठमाडौंको सुन्दरीजलबाट हिँडेरै यहाँ आइपुगेका थिए । कोठामा खानेकुरा नभएपछि घर हिँडेको उनीहरूले बताए । नगरपालिकाले ५ केजी चामल र आधा लिटर तेल राहत दिए पनि थप खानेकुरा किन्ने पैसा नभएकाले उनीहरू साना छोराछोरी हिँडाएर घर जाने निधोमा पुगेका रहेछन् । उनीहरूलाई पनि चिउरा, दालमोठ, बिस्कुट र चाउचाउ किनेर ल्याइदियौं ।

‘आज कमाएर आजै खान्थ्यौं, काम नै नभएपछि खानेकुरा किन्न सकिएन,’ मनमायाले भनिन्, ‘छोराछोरीलाई भोकै मार्नुभन्दा हिँडायौं ।’

उनीहरूले चिसो भुइँमा कोठामा भेटिएको फ्लेक्स र बोरा ओछ्याए । ६ वर्षीया छोरीले चिसो भयो भनेपछि चप्पल ओछ्याइदिए । अँध्यारोमा मनमायाले मोबाइलको टर्च बालिन् ।

हामीले दिएको चिउरा, चाउचाउ र बिस्कुटका पोका खोलेर बीचमा राखी खान थाले । मनमाया छोराछोरीले खाएको एकहोरो भएर हेरिरहिन् । बोल्न सकिनन् । चिउराको फ्वाँक मुखमा लान खोज्थिन् तर सक्दिन थिइन् । उनी छोराछोरीको मुखमा हेरेर टोलाइन् । मुख छोपेर केहीबेर भक्कानिइन् । सायद उनलाई बच्चालाई चिसो भुइँमा राखेर चिउरा खान दिनुपरेको पीडाले सताएको हुनुपर्छ । चिउरा र पानी खाएर त्यही चिसो भुइँंमा उनीहरू सुते । छोरालाई आफ्नो कपडा ओडाइदिइन । दिनभरिको थकाइले होला उनीहरू ढल्कनेबित्तिकै निदाए । बाहिर खाना पाके पनि उनीहरूलाई खुवाउन सकिएन ।

बाटामै श्रीमान् छुटेपछि ...

एक दिनका लागि बस्ने र खाने व्यवस्था भएपछि सबैजनाले सन्तोषको सास फेरे । भट्टाको झ्याडी ओछ्याएको कालो म्याट सबैले साथमै लगेका थिए । बास पाउनेबित्तिकै सबैले त्यही म्याट ओछ्याए । सर्लाहीकै सम्झाना विक भने बास बस्ने ठाउँमा पुगेदेखि न्याउरो अनुहार लगाएर बसेकी थिइन् ।

१५ महिने छोरी बाटैदेखि काखमा सुतेकी थिइन् । छाप्रोमा अरूले जस्तै उनले पनि सुत्ने व्यवस्था मिलाइन् । श्रीमान् नआएपछि बाहिर–भित्र गरिरहेकी थिइन् । सबैका श्रीमान् र आफन्त साथमा हुँदा उनी भने खिन्न मानिरहेकी थिइन् । उनका श्रीमान् हिँड्न नसकेर झाँक्रीडाँडामा लडेका रहेछन् । ‘थोरै जाँड खानुभएको त हो, उहाँलाई मुटु दुख्ने समस्या पनि छ । खाली पेटमा खाएको जाँड पनि लागेछ । हिँड्न नसकेर बाटोमै छोडेर आयौं,’ राति ९ बजे सम्झनाले भनिन्, ‘अहिलेसम्म आउनुभएको छैन । के गर्ने होला ?’ बास बस्ने ठाउँमा पुग्नेबित्तिकै पानी र हावाहुरी पर्दा उनी झन् अत्तालिएकी थिइन् । हामीले प्रहरी र स्थानीयलाई ल्याउने व्यवस्था गरिदिन आग्रह गर्‍यौं तर सम्भव भएन ।

काठमाडौं उपत्यकाको बसाइ छाडेर घर हिँडेकालाई हामीले लोकपथका ठेकेदार तिमल्सिनासँग सापटी मागेर भए पनि खानाको व्यवस्था गरी खुवाइसक्दा राति १० बज्यो । हामीलाई पनि काठमाडौं फर्कनु थियो । पानी सिमसिम परिरहेको थियो । त्यसअघि परेको मुसलधारे पानीले कान्ति लोकपथका केही ठाउँमा पहिरो खसेको रहेछ । हामी मोटरसाइकल छिर्ने गरी ढुंगा पन्छाउँदै अघि बढ्यौं । तीनपाने डाँडामा नआएम्म डरै थियो ।

हामीले हिँड्दाहिँड्दै हराएका सम्झनाका श्रीमान्लाई बाटोमा कतै देखेनौँ । कुरा गर्‍यौं, ती कता हराए होलान् ? अनि कछुवा गतिमा हिँड्न बाध्य अरु मजदुरहरु अहिले कहाँ पुगे होलान् ? लालाबाला रुवाउँदै हिँड्न बाध्य उनीहरु सिन्धुली, महोत्तरी र सर्लाही कहिले पुग्लान् ?

अनि आफ्नै मनमा प्रश्न उठ्यो– मुलुकका तीन तहका सरकारले दिनदिनै निस्किरहेका यी दीनहीनहरुको लस्करलाई किन देख्दैन ?

तस्बिरहरु : किरण पाण्डे/कान्तिपुर

प्रकाशित : वैशाख ८, २०७७ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×