२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

‘खाता र एटीएम पिन नम्बर सुरक्षित राख्नुस्’

संक्रमणका बेला ह्याकरहरू सक्रिय हुने आशंकामा बैंकहरूले ग्राहकलाई गराए सचेत
यज्ञ बञ्जाडे

काठमाडौँ — आफ्नो खाता, एटीएम पिन नम्बरलगायत व्यक्तिगत विवरण कसैलाई नदिई सुरक्षित किसिमले मात्र बैंकिङ कारोबार गर्न बैंकहरूले आग्रह गरेका छन् । लकडाउनका बेला घरैबाट विद्युतीय कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गरिरहेका बैंकहरूले बैंकिङ सुरक्षामा पनि ध्यान दिन भनेका हुन् ।

‘खाता र एटीएम पिन नम्बर सुरक्षित राख्नुस्’

बढ्दो विद्युतीय कारोबारसँगै जोखिम बढेकाले सुरक्षित हुन ग्राहकलाई सचेत गराइएको वाणिज्य बैंकको छाता संगठन बैंकर्स संघले बताएको छ । संघले विज्ञप्ति नै निकालेर सुरक्षित किसिमले विद्युतीय प्रणालीमार्फत कारोबार गर्न आग्रह गरेको छ । ‘यस विषम परिस्थितिमा सकेसम्म विद्युतीय कारोबार गर्नुहुन र आफ्नो खाता नम्बर, पिन नम्बरलगायत व्यक्तिगत विवरण कसैलाई नदिनुहुन तथा विद्युतीय कारोबारमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी सुरक्षित कारोबार गर्नुहुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।


केही दिनयता अपरिचित नम्बरबाट ग्राहकलाई फोन गरेर बैंक खातासँग सम्बन्धित व्यक्तिगत विवरण मागेको कुरा बाहिर आएको छ । ती व्यक्तिले आफूलाई बैंकको कर्मचारी भएको र अनलाइन बैंकिङ कारोबारका लागि ती विवरण चाहिएको बताउँदै आएका छन् । वास्तवमा ती व्यक्ति बैंकका कर्मचारी नभई ह्याकर (पैसा चोरी गर्ने) व्यक्ति भएको अनुमानका आधारमा बैंकहरूले सचेत भएर कारोबार गर्न ग्राहकलाई आग्रह गरेको संघले जानकारी दिएको छ ।


संघकै निर्देशनका आधारमा बैंकहरूले पनि छुट्टाछुट्टै सूचना जारी गरेर बैंक खातासँग सम्बन्धित विवरण सुरक्षित राख्न भनेका छन् । ‘कुनै घटना घटेर नभई पूर्वसावधानीका लागि ग्राहकलाई सचेत हुन भनिएको हो,’ नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले भने, ‘संक्रमणकालीन अवस्था रहेकाले ह्याकर सक्रिय हुन सक्छन् । यस्तो बेला ग्राहक सचेत हुनैपर्छ ।’ बढ्दो विद्युतीय कारोबारसँगै जोखिम पनि त्यत्तिकै रहने भएकाले चनाखो हुनुपर्ने उनको भनाइ छ । इन्भेस्टमेन्ट बैंकले विज्ञप्ति जारी गरेरै अपरिचित नम्बरबाट आएका टेलिफोन नउठाउन तथा बैंक खातासँग सम्बन्धित व्यक्तिगत विवरण नदिन आग्रह गरेको छ ।


अपरिचित व्यक्तिले फोन गरेर ग्राहकसँग व्यक्तिगत विवरण मागेका गुनासो प्राप्त भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । ‘लकडाउनका बेला विद्युतीय कारोबार बढेसँगै यदाकता त्यस्ता फोन कल आएको सुनिएको छ,’ उनले भने, ‘ह्याकरहरूले तपाईका गोप्य विवरण मागेर तपाईकै खाताबाट पैसा निकालिदिन सक्छन् है भनेर ग्राहकलाई बैंकले सचेत मात्र गराएका हुन् ।’ यो अवधिमा कुनै पनि बैंकमा चोरीको घटना नभएको पनि उनले दाबी गरे ।


कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले पनि संक्रमणकालीन अवस्थामा ह्याकरहरूले चलखेल गर्न खोज्ने भएकाले सचेत हुन ग्राहकलाई आग्रह गरे । ‘आफ्नो थैलीको मुख बलियो बनाएपछि पछि रुनुपर्दैन,’ उनले भने, ‘यसकारण ग्राहकलाई सचेत हुन भनेका छौं ।’ ग्राहकलाई वित्तीय कारोबारबारे जानकारी दिन पनि यस्तो आग्रह गरिएको उनले बताए । ‘ग्राहकलाई वित्तीय शिक्षा प्रदान गर्ने क्रममै उक्त आग्रह गरिएको हो,’ उपाध्यायले भने ।


‘लकडाउनको अवस्था भएकाले पनि होला, अहिले विद्युतीय कारोबार गर्नेको संख्या र रकम बढेको छ,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने, ‘यस्तो बेला जोखिम पनि धेरै हुन्छ । आफ्नै परिवारका सदस्य, साथीभाइ, इष्टमित्रबाट पनि धोका हुन सक्छ । ती जोखिमका लागि ग्राहकलाई सचेत बनाइएको हो ।’

ग्राहककै भलाइका लागि सचेत भई सुरक्षित बैंकिङ कारोबार गर्न आग्रह गरिएको बैंकर्स संघका कार्यकारी निर्देशन अनिल शर्माले बताए । ‘ग्राहकले बैंकबाट भन्दै अपरिचित व्यक्तिको फोन गरी व्यक्तिगत विवरण मागेमा दिनु भएन,’ उनले भने, ‘त्यस्तो अवस्थामा ग्राहकले आफ्नो खाता रहेको बैंकमा फोन गरी यथार्थ बुझ्नुपर्छ ।’ अहिले कुनै पनि बैंकले फोन गरी ग्राहकबाट व्यक्तिगत विवरण नमागेको उनले दाबी गरे ।


विद्युतीय कारोबारमा तोकिएबमोजिम ग्राहकलाई नगद फिर्ता गर्नुपर्ने रकम सीधै खातामा जाने भएकाले त्यसका लागि कुनै प्रकारको व्यक्तिगत विवरण नचाहिने पनि उनले प्रस्ट्याए । ‘चनाखो बन्नुस्, कुनै कारोबारमा शंका लागे तत्काल बैंकलाई जानकारी दिनुस्,’ उनले भने, ‘खाता नम्बर, पिन कोड, एटीएम कार्डलगायत विवरण कसैलाई नदिनहोस् ।’


संक्रमणकालीन अवस्थामा ह्याकर सक्रिय भएको अनौपचारिक रूपमा सुन्नमा आए पनि औपचारिक रूपमा कुनै जानकारी नआएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग प्रमुख रेवतीप्रसाद नेपालले बताए । यद्यपि बैंक खातासम्बन्धी व्यक्तिगत विवरण कसैलाई नदिन उनले सुझाए ।

प्रकाशित : चैत्र २८, २०७६ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?