कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानको जीविकामै असर

किसानले तरकारी फलाएका छन्, दूध उत्पादन गरेका छन्, तर तिनले बजार नपाउँदा प्रतिदिन समस्या थपिँदै गएको छ
राजु चौधरी

काठमाडौँ — ललितपुर लुभु निवासी नवीन कार्कीले ४ वर्षदेखि कुखुरा पालन गर्दै आएका छन् । हालै उनले ४२ सय चल्ला पालेका थिए । तर लकडाउनका कारण उनले चल्लालाई पर्याप्त दाना खुवाउन सकेनन् । बिरामी चल्लालाई औषधिसमेत दिन सकेनन् । भेटेरिनरी डाक्टर प्रत्यक्ष फार्ममा आउन मानेनन् । दाना पनि उपलब्ध भएन, जसकारण उनले १२ सय चल्ला नष्ट गर्नुपर्‍यो ।

४० देखि ४५ दिनमा चल्ला तयार हुन्छ । यो अवधिमा बिक्री नभए कुखुराले बढी दाना खान्छन् । कुखुराको तौल भने बढ्दैन । फर्ममा रहेका प्राय: कुखुरा ४२ दिनका छन् । तर बिक्री भएको छैन । जसकारण एक लटमा करिब ७ लाख रुपैयाँ घाटा हुने अवस्था रहेको कार्कीको भनाइ छ ।


उदयपुरका कुखुरा पालक सोम दनुवारको गुनासो पनि उस्तै छ । दाना नपाइँदा कुखुरा फाल्ने अवस्थामा पुगेको उनले बताए । ‘एक वर्षदेखि कुखुरा पाल्दै आएको थिएँ,’ उनले भने, ‘नोक्सान भएको थिएन । अहिलेको लटमा एक हजार कुखुरा राखें । तर दाना छैन । खरिद गर्ने ग्राहक पनि छैनन् ।’


उदयपुरमा मात्र करिब ३० हजार ब्रोइलर कुखुरा बजार पठाउन ठिक्क छन् । ती कुखुराको बजार काठमाडौं हो । तर ढुवानी हुन सकेको छैन । बिक्री नभएपछि किसानले किलोकै १ सय रुपैयाँमा कुखुरा दिनुपरेको दनुवारले बताए । ‘कतिपयले छिमेकीलाई कुखुरा सित्तैमा बाँडेका पनि छन्,’ उनले भने ।


दुग्ध र तरकारीको व्यवसाय गरिरहेका किसानका समस्या पनि यहाँभन्दा भिन्न छैन । पछिल्लो समय दूध उत्पादन ह्वात्तै घटेको लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च सेन्टरका सञ्चालक शशि शर्मा पौडेल बताउँछन् । किसानले एक सिफ्टमा मात्रै दूध बिक्री गर्न पाएका छन् । उत्पादित दूध सहज रूपमा बिक्री हुन सकेको छैन ।


लकडाउनका कारण रिसर्च सेन्टरमा दैनिक २२ सय लिटर उत्पादन हुने दूध अहिले ८ सय लिटरमा सीमित बनेको छ । ‘किसानले बिहानबेलुका बिक्री गर्नुपर्नेमा एक समयमा मात्रै बिक्री गरेका छन्,’ शर्माले भने । किसानबाट खरिद गरिएको तरकारी पनि होलसेल बजारमै थन्किएको छ ।


सर्वसाधारण भने खुद्रामा चर्को मूल्य तिर्न बाध्य छन् । किसानबाट संकलन गरिएको तरकारी होलसेल बजारमा पर्याप्त छ । तर ढुवानीमा देखिएको समस्याले बजारमा तरकारी छैन । अहिले प्रणाली नै बिग्रिएकाले समस्या भएको तरकारी तथा फलफूल थोक बजार व्यवसायी संस्थाका निवर्तमान अध्यक्ष भरत खतिवडाले बताए ।


सरकारले लकडाउन गरेपछि किसानको जीविकामै प्रत्यक्ष असर परेका यी केही उदाहरण मात्र हुन् । यस्ता समस्या देशभरका किसानले भोग्नुपरेको छ । प्राय: पसल बन्द र आपूर्ति प्रणालीमा समेत अवरोध भएपछि समग्र कृषि प्रणालीमा असर पुगेको हो ।


व्यावसायिक संघसंस्थाहरूका अनुसार मुलुकभर दैनिक करिब ३२ लाख गोटा अन्डा उत्पादन हुन्छ । किसानबाट दैनिक ६ देखि ८ लाख लिटर दूध संकलन हुन्छ । कुखुरा मासुको खपत ५ लाख किलो हुन्छ । त्यसमध्ये उपत्यकामा मात्रै करिब ३ लाख किलो खपत हुन्छ ।


कृषि सामग्री अत्यावश्यक वस्तु भए पनि लकडाउनका बेला आपूर्तिमा सहजता छैन । यसले विशेषगरी साना किसानलाई समस्या भएको जानकारहरू बताउँछन् । ‘उत्पादन बजारसम्म नपुग्दा दैनिक जीविकोपार्जनका लागि पैसा पाइँदैन,’ राष्ट्रिय कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीले भने, ‘अहिले साना किसानको उत्पादन खेर गइरहेको छ । आपूर्तिमा भइरहेको अवरोधले किसानकै जीविकामै असर पुगेको छ ।’


कुखुराको दाना आपूर्तिमा समस्या देखिएको छ । अन्डा उत्पादन गर्ने कुुखुराका लागि दाना नहँुदा उत्पादन घट्न थालेको छ । ‘दैनिक ३० देखि ३२ लाख गोटा उत्पादन हुने अन्डा दाना अभावले करिब २५ लाख गोटामा झरेको छ,’ व्यवसायीका अनुसार दाना पुर्‍याउन नसकेर कुखुरा मर्न थालेका छन् । बाँचेका कुखुरा पनि ओसारपसारमै समस्या भएको उनले बताए ।


‘अधिकांश पसल बन्द छन् । खुलेका पसलमा ढुवानी गर्न प्रशासनबाटै अवरोध भइरहेको छ,’ राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले भने, ‘किसानलाई दाना पुर्‍याउन र बिक्री गर्न पनि समस्या भयो ।’ सानादेखि ठूला होटल सबै बन्द छन् । पसल पनि ६० प्रतिशतभन्दा बढी बन्द नै छन् । मासु खरिद गर्ने ग्राहक छैनन् । ‘कतिपय ठाउँमा किसानले कुखुरा मारेर फाल्ने गरेका छन्,’ उनले भने, ‘बजार खुलेको छैन । सबै तहसनहस भयो ।’


संघका अनुसार उपत्यकामा दैनिक करिब ३ लाख किलो मासु खपत हुन्छ । नेपालभर ५ लाख किलो चाहिन्छ । तर अहिले सप्लाई बन्द भएको उनले बताए । कुखुरा मासु ढुवानीका क्रममा प्रहरीबाटै अवरोध भइरहेको उनले बताए । व्यवसायीका अनुसार मासु पसल खुला गरे प्रहरीले बन्द गराउने गरेका छन् । कतिपय ठाउँमा वडा र नगरपालिकाले समेत बन्द गराएको व्यवसायीको भनाइ छ ।


यसका अतिरिक्त किसानलाई कुखुरालाई खुवाउने दानाको पनि समस्या छ । दानाका लागि चाहिने अधिकांश कच्चा पदार्थ (मकै र भटमास) भारतबाटै आयात हुन्छ । अहिले भारतमा पनि लकडाउनका कारण आयातमा समस्या भइरहेको छ । दाना आयात नहुँदा अभावकै कारण अधिकांश क्षेत्रमा कुखुरा मर्न थालेको बीसीले जानकारी दिए । ‘दाना नपाएर कैलालीमा ३ हजार कुखुरा मरेका छन् । पाल्पाका किसानले कुखुरा खाल्डोमा गाडेका छन् । पोखराको अवस्था पनि त्यस्तै छ,’ उनले भने, ‘ती जिल्लाबाट कुखुरा पनि ल्याउन सकिएन । किसानको बिजोग भएको छ ।’

दाना पुर्‍याउन नसक्दा सातामै ३२ लाख चल्ला गाड्नुपर्ने बाध्यता रहेको दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताए । ‘कच्चा पदार्थ आएको छैन । ढुवानीका लागि कामदार पनि छैनन्,’ उनले भने, ‘ढुवानी गर्न कृषि मन्त्रालयले निर्देशन दिए पनि ट्राफिकले गाडी समात्छ । किसान धेरै समस्यामा परे ।’


नेपाल ह्याचरी उद्योग संघका कोषाध्यक्ष बलराम सिग्देलले पनि पोल्ट्रीमा दैनिक २२ करोड नोक्सान भइरहेको बताए । दाना अभावका कारण किसानले चल्ला हालेका छैनन् । ‘अन्डा र मासु पनि बिक्री भएको छैन । त्यो दुवै प्रणालीमा ब्रेक लाग्दा समस्या भएको उनको भनाइ छ ।

दुग्ध क्षेत्रमा पनि उस्तै समस्या छ । किसानको दूध बिक्री भएको छैन । दुग्ध क्षेत्रमा करिब ४ लाख किसान संलग्न रहेको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले जानकारी दिए । तिनबाट दैनिक ८ लाख लिटर दूध संकलन हुन्छ । अहिले सुक्खा सिजन भएकाले दैनिक उत्पादन ६ लाख लिटर संकलन हुन्छ । तर लकडाउनका कारण ३ लाख पनि बिक्री नभएको उनले गुनासो गरे ।


‘दाना, चोकर छैन । गाईभैंसीलाई परालकै भर छ,’ देवकोटाले भने, ‘उत्पादन भएको दूध पनि बिक्री हुन सकेको छैन । कतिपय किसानले दूध गाईलाई खुवाएका छन् । केहीले छिमेकीलाई बाँडेका छन् ।’


लकडाउनपछि निजी डेरीहरूले दूध नउठाएको उनको भनाइ छ । ‘त्यही भएर केही ठाउँका सहकारीले दूध फालेका हुन्,’ उनले भने । डेरीहरूले दूध नउठाउनु ठूलो लापरबाही भएको उनले बताए । ‘किसानबाट संकलित दूधलाई पाउडर बनाउनुपर्ने थियो । तर पाउडर बनाउने कारखाना बन्द छ,’ उनले भने, ‘यसमा डेरीहरूले मनलाग्दी गरिदिए ।’


डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले भने दूधको माग नै करिब ६० प्रतिशत घटेको बताए । उनले पनि ढुवानीकै समस्या भएको गुनासो गरे । ‘उपत्यकाका रेस्टुरेन्ट, कलेज, पार्टी प्यालेसले २५ प्रतिशत बजार ओगट्छन् । ती क्षेत्र बन्द छन् । सर्वसाधारण पनि घरघर गएका छन् । जसले गर्दा माग छैन,’ उनले भने, ‘त्यसैले डेरी उद्योगले आफ्नो क्षमताअनुसार दूध संकलन गरिरहेका छन् । डेरीलाई समस्या पर्दा त्यसको असर स्वत: किसानलाई नै पर्छ ।’


लकडाउनको समयमा सरकारले साना किसानलाई उत्साहित बनाउन कुखुरा र दूध बजारसम्म पुर्‍याउन सघाउनुपर्नेमा विज्ञहरूको जोड छ । ‘यति बेला लोकतन्त्र चाहिएको छैन । महामारी छ, सबैले स्वीकार गरेका छन् । संकटमा सेना/प्रहरी चलाएर भए पनि सरकारले किसानको दूध खरिद गरेर बजारसम्म ल्याइदिनुपर्छ,’ कृषिविज्ञ कृष्ण पौडेलले भने ।


कृषिमा प्रत्येक दिन क्षति भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले स्विकारे । क्षतिसम्बन्धी विवरण संकलन गर्न पशुसेवा विभागलाई निर्देशन दिएको उनले बताए । ‘व्यवसायीले पोल्ट्री क्षेत्रमा दैनिक २२ करोडको क्षति भएको छ भनेका छन् । त्यसमा धेरै सत्यता छ,’ उनले भने, ‘मासुमा आत्मनिर्भर उन्मुख थियो देश ।’


प्रवक्ता केसीले पनि ढुवानीकै कारण माछामासुमा समस्या देखिएको बताए । यीबाहेक कतिपय पालिकाले पसल बन्द गराएको उनको भनाइ छ । ‘काठमाडाैंको गोकर्णेश्वरमै माछामासु नबेच्नू भनिएको रहेछ । बर्दियामा पनि धेरै कडाइ छ,’ उनले भने, ‘समग्रमा ढुवानीमा, दाना, चल्ला, कुखुरा र अन्डा क्षेत्र धेरै प्रभावित भए ।’


किसानलाई सजिलो होस् भनेर चितवन मिल्क सञ्चालन गर्न आग्रह गरिएको उनले जानकारी दिए । चितवन मिल्कले पाउडर उत्पादन गर्छ । पाउडर दूध उत्पादन सुरु हुँदा किसानलाई केही राहत हुने केसीको भनाइ छ ।


माछामासु, दुग्धलगायत कृषि सामग्री अत्यावश्यक वस्तु भएकाले सहजीकरण गर्न मन्त्रालयले स्थानीय तहलाई पत्र पठाइसकेको उनले जानकारी दिए । तर कार्यान्वयन हुन सकेको छैन । ‘मन्त्रालयले दिएको परिपत्रको औचित्य नै भएन । दाना र कुखुरा बजारमा पुग्न सकेन । किसानका संघसंगठनहरूले पनि सूचना पुर्‍याउनुपर्‍यो,’ संस्थापक अध्यक्ष अधिकारीले भने, ‘निर्देशन अटेर गर्नेको पहिचान गरेर रिपोर्ट गर्नुपर्छ ।’ प्रकाशित : चैत्र २५, २०७६ ०८:४४

प्रतिक्रिया
पठाउनुहोस्

अदालतको आदेशबाट ७ बालकसहित १३ जना जेलमुक्त

प्रताप विष्ट

हेटौंडा — कोरोना भाइरस (कोभिड— १९)  संक्रमणको जोखिमबाट बच्‍न र बचाउने उद्देश्यले थोरै कैद भुक्तान गर्न बाँकी रहेकालाई मकवानपुर जिल्ला अदालतले जेलमुक्त गर्न आदेश दिएको छ । उक्त आदेशअनुसार ७ बालकसहित १३ जनालाई जेलमुक्त गरिएका छन् ।

सवारी ज्यान र लागू औषधको बालबिज्याईमा रहेका ७ जना बालकलाई बाँकी कैद मिनाहा गर्ने गरी न्यायधीश दिल्लीरत्न श्रेष्ठको इजलाशले छोड्न आदेश दिएको श्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए । बालक भएका कारणले उनीहरूलाई बाँकी रहेको कैदको रकम भुक्तानी गर्न पनि भनिएको छैन । बहुविवाह गरेको ठहर गर्दै अदालतले एक वर्ष कैद र १५ हजार जरिवाना सजाय पाएका हेटौंडा उपमहानगरपालिका १८ का अजय स्याङतानलाई पनि अदालतले छोड्न आदेश दिएको थियो । उनी ३ महिना कैद भुक्तान गर्नु पहिल्यै जेलमुक्त भएका हुन् ।


उनलाई ३ महिनाको २७ हजार र १५ हजार जरिवाना तिराएर जेलमुक्त गरिएको छ ।

त्यसैगरी हेटौडा उपमहानगरपालिका—१ का सुरज केशरी पनि जेलबाट मुक्त भएका छन । बालयौन दुराचारमा उनी जेल परेका थिए । कैद भुक्तानी गर्न एक महिना १९ दिनमात्र बाँकी थियो । बाँकी कैदको रकम तिरेर उनी जेलबाट छुटेका हुन । सवारी ज्यानलगायत विभिन्न मुद्दामा थोरै कैद भुक्तानी गर्न बाँकी रहेकाहरूलाई छोड्न आदेश दिएको अदालतले जनाएको छ ।

अदालतको आदेशमा यसरी छुट्ने कैदीबन्दीलाई कैदका साथै जरिवाना गरिएको छ भने जरिवाना बुझाएको हुनुपर्ने हुन्छ र बाँकी रहेका कैद भुक्तानीका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले राजस्व बुझाएको हुनुपर्छ ।

विपद्को यस विशेष परिस्थितिमा कारागारमा रहने कैदीबन्दीको भीडभाड कम गर्ने प्रयोजनार्थ मुलुकी फौजदारी कार्य्विधि संहिता २०७४ को दफा १५५ अनुसारको कैदवापत रकम लिइ कैदबाट छोडी पाउन निवेदन परेमा रकम लिई कैदबाट छाडिदिन उपयुक्त देखिए न्यायाधीशको इजलासबाट आवश्यक आदेश गरी छोड्ने व्यवस्था गर्ने निर्णय गरेको थियो ।

कैदवापतको जरिवाना रकम भुक्तानी गरी कैद छुट पाउन दैनिक ३ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने र त्यसरी कैद भुक्तानको सुविधा पाएका व्यक्ति तीन वर्षभित्र कैदको सजाय हुने कुनै कसुर गरेमा उसलाई पहिले भएको फैसला बमोजिमको कैद समेत थपि सजाय कार्यान्वयन गरिने व्यवस्था गरेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमका बेला कारागारको चाप व्यवस्थापन गर्न एक वर्ष भन्दा कम सजाय तोकी कारागारमा रहेका कैदीले कैदबापतको जरिवाना तिरी कैदमुक्त हुन चाहे सो बमोजिमको व्यवस्था गर्ने सर्वोच्च अदालतको निर्णय अनुसार मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारबाट अझै ३३ जना कैदी छुट्न सक्ने अवस्थामा छन् ।

प्रकाशित : चैत्र २५, २०७६ ०८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×