२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ऋणको ब्याजदर घट्दै

नेपाल बैंकर्स संघले ब्याज घटाउने निर्णय गरिसके पनि औपचारिक रूपमा सार्वजनिक गरेको छैन
यज्ञ बञ्जाडे

काठमाडौँ — वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर १ देखि डेढ प्रतिशतसम्म घटाउने भएका छन् । वित्तीय प्रणालीमा तरलताको अवस्था सहज रहेको, ऋण प्रवाह सुस्त भएको, बैंक दर (बैंकहरूले राष्ट्र बैंकबाट कर्जा लिँदा तिर्नुपर्ने ब्याजदर) घटेकोलगायत कारण बैंकहरूले निक्षेपको ब्याज घटाउने निर्णय गरेका हुन् ।

ऋणको ब्याजदर घट्दै

नेपाल बैंकर्स संघले ब्याज घटाउने निर्णय गरिसके पनि औपचारिक रूपमा सार्वजनिक गरेको छैन । ‘संघले वैशाख १ देखि लागू हुने गरी निक्षेपमा दिँदै आएको ब्याजदर घटाउने निर्णय गरेको छ,’ संघ स्रोतले भन्यो । निक्षेपको ब्याज घटेसँगै ऋणको ब्याजदर पनि घट्ने भएको छ । बैंकहरूले निक्षेपको ब्याज घटाएपछि आधार दर (बेस रेट) पनि घट्ने भएकाले ऋणको ब्याज घट्ने भएको हो । घटेको ब्याजदरमा ऋण पाउन भने ग्राहकले तीन महिना पर्खिनुपर्नेछ । राष्ट्र बैंकले ब्याजदरमा भएको घटबढअनुसार हरेक तीन महिनामा आधार दर परिमार्जन गर्नुपर्छ । आधार दरमा भएको घटबढअनुसार ऋणको ब्याजदर पनि समायोजन गर्नुपर्छ ।


अर्थ मन्त्रालय र राष्ट्र बैंकको निर्देशनमा संघले बैंकहरूबीच निक्षेपको ब्याजदरमा ‘भद्र सहमति’ गरेको छ । यसअनुसार बैंकहरूले संस्थागत मुद्दती निक्षेपमा बढीमा ८.५ प्रतिशत र संस्थागत मुद्दती निक्षेप नवीकरणमा ८.६ ब्याज दिन पाइन्छ । यस्तै व्यक्तिगत मुद्दती निक्षेपमा बढीमा ९.२५ प्रतिशत ब्याज दिन पाइन्छ । यो बैंकहरूले मासिक रूपमा प्रकाशित गर्ने दर हो । यो दरमा संस्थाका लागि बैंकले १ प्रतिशत र व्यक्तिका लागि ०.५ प्रतिशत ब्याज बढाएर दिन पाइन्छ ।

वैशाख १ देखि लागू हुने गरी बैंकहरूले संस्थागत मुद्दती निक्षेपमा ७ प्रतिशत, संस्थागत निक्षेप नवीकरण गर्दा ७.१ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ प्रतिशत ब्याज प्रदान गर्नेछन् । यो ब्याजदरमा बैंकहरूले संस्थालाई १ प्रतिशत र व्यक्तिलाई ०.५ प्रतिशत ब्याज बढाएर दिन पाउँछन् । बैंकहरूले बुधबार (चैत २६ गते) नयाँ ब्याजदर प्रकाशित गर्ने र सोही दर वैशाखदेखि लागू हुने संघले बताएको छ ।


संघको नयाँ निर्णयअनुसार वैशाखदेखि साधारण निक्षेपमा व्यक्तिले न्यूनतम ५.५ प्रतिशत ब्याज प्रदान गर्नुपर्नेछ । राष्ट्र बैंकले हालै घटाएको बैंक रेटसँग समायोजन हुने गरी साधारण निक्षेपको ब्याजदर तय गरिएको हो । कोभिड–१९ को जोखिमका बेला बैंकहरूले विद्युतीय कारोबारलाई प्रोत्साहन गरिरहेका छन् ।


‘यस विषम परिस्थितिमा सकेसम्म विद्युतीय कारोबार गर्नुहुन र आफ्नो खाता नम्बर, पिन नम्बरलगायतका व्यक्तिगत विवरण कसैलाई नदिनुहुन तथा विद्युतीय कारोबारमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी सुरक्षित कारोबार गर्नुहुन अनुरोध गर्दछौं,’ संघले भनेको छ ।


सरकारले घोषणा गरेको लकडाउनका कारण ग्राहकहरू बैंक शाखामा पुग्न नसकेको यथार्थलाई ध्यानमा राख्दै परिपक्व भएका/हुने मुद्दती निक्षेपको नवीकरणका लागि बैंकमा रजिस्टर गरिएको इमेल/फोनमार्फत अनुरोध गर्न पनि संघले ग्राहकलाई आग्रह गरेको छ ।


यसअघि तरलता अभाव रहेको बेला बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा भएपछि संघले ब्याजदरमा ‘भद्र सहमति’ गरेको थियो । त्यसपछि पटकपटक ब्याजदर घटाइए पनि भद्र सहमति तोडिएको छैन । गत माघसम्म वाणिज्य बैंकहरूको औसत आधार दर ९.४५ प्रतिशत छ । ०७५ माघमा यस्तो दर ९.६९ प्रतिशत थियो । ०७६ माघमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.७८ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.९४ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यी दर क्रमश: ६.६७ प्रतिशत र १२.३४ प्रतिशत थिए ।

प्रकाशित : चैत्र २५, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?