कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

ब्लग : भोको–रोना

भोक पनि रोग बन्न सक्छ भनि हामी प्रमाणित गर्दैछौं । खाएर बाँच्न नसक्ने अवस्थाका हामी, बाँचेर खाने आशमा छौँ । अरु देशमा कोरोना लागेर मान्छे मर्छन् । हाम्रोमा मरेपछि कोरोना लाग्छ । अब मरेका धेरै मान्छेको कोरोना पोजेटिभ आउँदैन, भोक पोजेटिभ आउँछ । 
श्रेयज सुवेदी

काठमाडौँ — सरकार क्यालकुलेटर बनेको छ । संक्रमण र मृत्युको संख्या जोड र डिस्चार्जको संख्या घटाउमा ब्याट्री खर्चिरहेको छ । यही हिसाब–किताबबाट संसदमा प्रस्तुत हुनेछ, कार्यकाल सफल भएको प्रमाणहरु । आर्थिक वर्षको प्रगति विवरणमा यही संख्यालाई टेकेर सरकार अग्लो बन्न खोज्नेछ । 

ब्लग : भोको–रोना

अन्य देशको संख्यासँग तुलना गरेर आफू सफल भएको आवाज दिन टेबुल ठटाइनेछ । सायद रोग जितेको खुसीयालीमा एउटा दिवस हुनेछ । र, भोकले छोरा गुमाएको एउटा बाउ, तिउनको तेल काटेर दिप प्रज्वलन गर्न विवश हुनेछ ।

रोग लागेर मर्दा, दोषी रोग हुन्छ । भोक लागेर मर्दा दोषी को हुन्छ ? त्यो दोष टाउकोमा लाग्ने डरले, नदेखेको नाटक गर्दैगर्दा, ‘गज्जबको अभिनय’ भनेर मलाई ताली पिट्न मन लाग्यो । देख्नका लागि दुरबिन लगाउनुपर्ने, देश त्यति ठूलो छैन । राति लेखिएको गीतमा, पेट कराएको आवाज संगीत भर्न गेटसम्मै पुगेका थिए । नक्साको चुच्चोले घोचेर आवाज फुटाएको मुख्य समाचार सुन्न टिभी खोल्दा, राष्ट्रबाद भट्याउन समाचार लिपुलेक पुगिसकेछन् । भोक नलाग्ने औषधि बाँड्न सकेको भए, खाना माग्दै गरेका हातहरु झन्डा गाड्न पैदलै कालापानी पुग्थे होलान् ।

तर, माफ गर्नु, भोक छोरो बोकेर हावा खाइरहेका बाउ आमाले राष्ट्रवादको भावना पनि बोक्न सकेनन् । खाना माग्दा तिमीले राष्ट्रियता कोच्यायौ । देशको नक्साले भोकको भू–भाग नसमेट्दो रहेछ । भूमि फिर्ता माग्दै गर्दा, भोकको अतिक्रमण साससम्म पुग्यो । नक्सा छापेर, राहत फोटोकपी गर्न नमिल्ने कुरा कसैले सुन्न चाहेन । राष्ट्रियतामा जिउलाई चाहिने प्रोटिन नहुँदो रहेछ । पेट कराउने घरहरुमा, भोकमरी सुरु भइ भोक मरिसक्यो । मान्छे नै मरेपछि भोक कसरी बाँचोस् ! तर, तिमीले देखेका छैनौं ।

पन्ध्र किलो चामलले कति दिन चुलो बल्छ ? एक सिताले एक छाक टार्नु भनी बाँडेको भए बेग्लै कुरा । एक सिता भातलाई, हेलिकप्टरमा गएको केकजस्तै काटेर थालमा पस्किन मिल्दैन । खान नपाएर मर्ने मान्छेलाई बिदा गर्न टिका लगाइदिने हो भने, तिम्ले दिएको चामल, अक्षेता मुछ्न पनि पुग्दैन । संख्या नखोज्नु । भोकको मरणले राज्यको क्यालकुलेटरमा स्थान पाएको छैन । आवाज उठाइदिने माइक र क्यामेराहरु राष्ट्रियता जातियता र रोगको लकडाउनमा परेका छन्, पारिएका छन् । पोलियो थोपा जसरी बाँडिएको राहतमा, भोकले खुट्टा टेक्छ । प्रश्नहरु सोधिएला भनेर नडराउनु । भोको पेटमा हावा मात्र अटाउँछ, प्रश्न होइन । राहत खोइ भन्नेको मुखमा बिर्को लगाउनुपर्दैन । गोरखापत्रमा प्रकाशित खाद्यान्नको टेन्डरले, खाली कुकरमा बिर्को लगाउन सक्छौ भने, लगाइदिनु । भोको वायुले देश गनाउला भनेर सबैले माक्स त लगाएकै छन् । पूरै देशलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने ठूलो अवसर छ । सदुपयोग गरिहाल्नु । चुनावी पर्चाको कमसेकम एउटा एजेन्डा त पूरा हुन्छ ।

कुनै संस्थाले दिएको चाउचाउको मसला चाटेर, कति दिन बाँच्न सकिन्छ । बिस्कुटको गुलियो कति दिनसम्म दाँतमा अड्केला ! चिउरालाई पानीमा फुलाएर कति दिनसम्म पेट ढड्याउन सकिन्छ । करेसाको लट्टेको साग कहिलेसम्म बिना तेल भुटिरहने ? बोतलका बोतल पानी खन्याएर पेटमा कति दिनसम्म पोखरी बनाउने । ‘भोकले कोही पनि मर्नुपर्दैन’ भन्ने तिम्रो नारालाई, न निल्न मिल्छ न चपाउन । ‘आासु खसाल्नु पर्दैन’ भन्ने भजनले, खाली पेट खसेका ढिक्के आँसुमा नुनचुक छर्किरह्यो । आन्द्रा सुकेर आउने अमिलो डकार शब्दजति मिठो हुँदैन । भोट माग्दा भोट दिनेलाई, खाना माग्दा कविता दिइन्छ । गरिखाने हातलाई साबुन पानीले धुनु भनेर लकडाउन माथि लकडाउन दिइन्छ । न खान दिइन्छ, न गरिखान दिइन्छ ।

बजेटले बिकासको भाषण गर्‍यो । पेट भर्नुपर्ने योजना विकासमा अटाएन । भोकको हावा ख्वाएर जनता बचाउने सरकार भनेर गिनिज बुकमा नाम लेखाउने योजना छुटेछ, अस्तिको बजेट भाषणमा । संसोधन गर्न मिल्ने भए थपिदिए हुन्छ ।

राजधानीकै पेटीमा हातमा नाम्लो च्यापेको लास भेटिन्छ । सरकार केही बोल्दैन । डोरीलाई बिजुलीको तार मानेर, करेन्ट लागेर मरेको भनेर मन बुझायो होला । खोलाको बगरमा २ सन्तानसहित आमा मरेको भेटिन्छ । सरकार केही सुन्दैन । न्वाउन जाँदा, ठूलो माछा देखेर तर्सिएर मरेको भनेर मन बुझायो होला । घर फर्किएको छोरो सिमानामा मृत भेटिन्छ । सरकार केही देख्दैन । देश देखेर खुसी थाम्न नसकेर मरेको भनेर मन बुझायो होला । पोस्टमार्टमको रिर्पोटमा मृत्युको कारण भोक देख्दा पनि पत्याएनौ ? किनकी तिमीलाई रिर्पोटभन्दा बढी आफ्नो नारामा अन्धबिश्वास छ । जुन नाराको बिपरित गएर भोकले मान्छे मार्नै सक्दैन । तिम्रो नारालाई एकमात्र सत्य मान्छौ भने, एउटा सत्य यो पनि हो, यो हत्या हो । तर, तिमी सत्यलाई प्रतिपक्षको आरोप मान्दछौ । पेटको पक्ष र प्रतिपक्ष खानामात्र हुन्छ । भोक जन्माउने र हुर्काउने काम तिमीबाटै भयो, जसको अपराधको प्रत्यक्षदर्शी आफू हुँदाहुँदै पनि कानुनलाग्ने डरले चुपचाप बसेका छौ । तिम्रो लागी कानुन भनेको चुनाव मात्र हो । ए भोक... तँ ढुक्क भएर मान्छे मार्नु । किनकी तँलाइ नदेख्ने गरि सरकारले चस्मामा नारा लगाएको छ ।

रोगले एकपटक मरिएला । भोकले दिनमा कतिपटक मर्नु । रोगको संक्रमण टेष्टपछि देखिएला । भोकको संक्रमण देशैभरि फैलिसक्यो । देख्नेले देशमा लकडाउन देख्छन् । घरभित्रको भोकडाउन कसले देखिदिने ? समुदायको राहतमा पोकाभन्दा बढी फ्ल्यास हुन्छन् । संस्थाहरुको राहतमा आधा बजेट अबिर र दोसल्लाले खाइदिन्छ । अभिभावक सरकार हो । आस उसैको लाग्छ । तर, राहतको टेन्डर पास हुँदाहुँदै सास फेल भैसक्ला भन्ने डर लाग्छ । कुनै देशमा खाना नपाउँदा माटो पकाएर खान्छन रे ! हुने खाने वर्गले इन्टाग्राम स्टोरीमा माटो पकाउने रेसिपि राखिदिए पनि हुने ।

घरघरले भो–कोरोना भनिरहँदा, सरकार कामै नगरी गो–कोरोना जप्दै छ । टेष्ट छोटिदैछ । लकडाउन लम्बिदैछ । क्वारेन्टाइनको नाममा गोठहरु बनाइएको छ । आइसोलेसनमा खाना ख्वाउन दाता ढोग्नु पर्ने अवस्था छ । कोरोना कोषको पैसा चलाउन नियम बन्न बाँकी नै होलान् । तयारीको बुख्याचा देखाएर, कोरोना तर्साउने प्रयास हुँदैछ । लकडाउन लम्बिँदै गर्दा भान्छाको आन्द्रा सुकेर सानो बन्दैछ । बिश्व कोरोनासँग मात्र लड्दै गर्दा, हामी भोकोरोनासँग पनि लड्दैछौं । भोक पनि रोग बन्न सक्छ भनि हामी प्रमाणित गर्दैछौँ । खाएर बाँच्न नसक्ने अवस्थाका हामी, बाँचेर खाने आशमा छौं । अरु देशमा कोरोना लागेर मान्छे मर्छन् । हाम्रोमा मरेपछि कोरोना लाग्छ । तर, यसको संख्या बिस्तारै गौण हुँदै जानेछ । किनकी अब मरेका धेरै मान्छेको कोरोना पोजेटिभ आउँदैन । भोक पोजेटिभ आउँछ ।

प्रकाशित : जेष्ठ १९, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?