२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

हामी जे हौं, त्यसमा रमाउन सकौं, जे हौं, त्यो देखिन सकौं  

प्रकाश सपुत

काठमाडौँ — मैले भोगेको तीन दशकमा नेपाली समाजले राजनीतिक, सामाजिक रूपमा ठूलो फड्को मार्‍यो । मैले गाउँमा पञ्चायत, मुखियाहरू बसेर मानाचामल गरेर छलफल गरेको देखें । कमरेडहरू झोलामा रातो पुस्तक बोकी हाम्रो घरको छेउमा बसेर देश विकास परिवर्तनका खासखुस छलफल गरेको पनि देखें । सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज भोगेको छु । संवादका प्रत्येक शैलीसँग साक्षी हुँदै आएको छु । ‘पीर...’ गीत आएपछि यसबारे फरकफरक ढंगले राम्रो लेख लेखेको देख्दा मक्ख पर्ने र गाली आउँदा निराश पनि भएको छु ।  

हामी जे हौं, त्यसमा रमाउन सकौं, जे हौं, त्यो देखिन सकौं  

एक साता जसो मोबाइल अफ गरेर भाइहरूको मोबाइल, ल्यापटपबाट सामाजिक सञ्जाल हेरिरहें । यसका लागि म तयार भइसकेको रहेनछु । मैले सिर्जना गरिसकेपछि त्यसको प्रतिक्रिया के आउँछ, सामाजिक सञ्जालको प्रतिक्रियालाई कसरी लिने भनेर सोचेकै रहेनछु । यसमा हामी कसैले पनि सोचेका छैनाैं जस्तो लाग्छ । फिनल्यान्ड जाँदा एक जना अर्थशास्त्रीलाई भटेको थिएँ, उहाँले विभिन्न देशबाट आएका विद्यार्थीलाई अर्थशास्त्र पढाउनुहुँदो रहेछ । राम्रो नेपाली प्रोफेसर हुनुहुँदो रहेछ । उहाँसँग कफी खाने क्रममा नेपाली अर्थतन्त्रलाई कसरी हेरिरहनुभएको छ भनेर सोध्दा उहाँले पहिला फेसबुकमा लेख्थें, राम्रै प्रतिक्रिया आउँथ्यो, पछि ‘नेपालमा गरीखान नसकेर विदेश जाने अनि अहिले फेसबुकमा लेख्ने’ भनेर गाली आउन थाल्यो । त्यसपछि लेख्न छाडें भन्नुभयो । सामाजिक सञ्जाल वा संवादको शैली हामीकहाँ यति सतही छ । सस्तो छ ।

यति छिटो विषयहरू आउँछन्, हराउँछन् पनि । ‘पीर...’ गीतपछि मैले साँच्चिकै युद्धमा प्रताडित व्यक्तिहरूका विषयलाई सम्बोधन गर्ने भयो कि क्या हो भनेर सोचें । राम्रा राम्रा व्यक्तिहरूले यसबारे लेखे । संसद्मा कुरा उठ्यो । यसले ठूलो प्रभाव पार्ने भयो । युद्धमा पीडित भएकाहरूले राहत पाउने भए, यसको नेतृत्व गरेकाहरूले गम्भीर रूपमा लिए भन्ने सोचेको थिएँ । तर आज आफ्नै गीत हेर्छु, निराश हुन्छु । एकजनाले समेत लत्ताकपडा पाउनुभएन । युद्धमा पीडित भएका कम्तीमा १ सय जनालाई दसैं खर्च दिएको भए पनि मेरो गीतले अर्थ राख्यो भन्ने हुन्थ्यो । त्यसैले हामी सतही रूपमा यस्ता बहस गरिरहेका छौं भन्ने लाग्छ ।

कहिलेकाहीँ गालीले मलाई एकदमै छुन्छ, कहिलेकाहीँ फेरि यस्तै हो भन्ने पनि लाग्छ । मैले पनि यसलाई ‘लाइटली’ लिन थालेको छु । पेसागत रूपमा र आफ्नो पहिचान बनाउने बेलामा सामाजिक सञ्जाल, नयाँ प्रविधि र बहसको नयाँ शैलीबाटै आएँ । सम्भवत: फेसबुक, युट्युब हुँदैनथ्यो भने म यो ठाउँमा हुँदिनथें होला । विश्वले नै प्रविधिको विकास गरेको धेरै भएको छैन । म पहिलोपटक अमेरिका जाँदा फोन बनाउने टिममा सहभागी भएको नेपालीलाई भेटेको थिएँ । अमेरिकामा पहिलो पटक फोन बनाउने मान्छे अहिले पनि जिउँदै हुनुहुन्छ भने नयाँ प्रविधिलाई अंगीगार गर्न थालेको हामीले धेरै वर्ष भएको छैन ।

सामाजिक चेतनालाई हामीले अझै एडभान्स बनाउन सकेका छैनौं । सामाजिक सञ्जाल भनेको पनि एड्भान्स प्रविधि हो । यसलाई अझै सतही रूपमा लियौं कि ? सामाजिक सञ्जालले हाम्रो संवेदनालाई यति छोटो बनाइदिएको छ, कुनै पनि विषयमा प्रभावकारी विचार आउन त्यो विषयको गाम्भीर्यले छुनुपर्‍यो । यस विषयमा गहिरो संवेदना हुनुपर्‍यो ।

म एउटा गायक हुँ । मेरो फेसबुकमा ७ लाख फलोअर्स छन् । युट्युबमा १६ लाख फलोअर्स छन् । कुनै कृषि प्राध्यापकको त्यति फलोअर्स छन् ? जबकि हामी कृषिप्रधान देश भन्छौं । कृषिसम्बन्धी विचार विमर्श गर्ने मान्छेको त्यति फलोअर्स हुनुपर्ने हो । हामी शिक्षाको कुरा गर्छौं । शिक्षा दिनेलाई फलो गरेको खोइ त ? हामी कता रमाइरहेका छौं । भेलु बाजेसँग रमाउने, श्रीमान्‌श्रीमतीको झगडामा रमाउने हामी मात्र हौ कि अन्य देशमा पनि यस्तै हुन् भनेर अन्य देशका युट्युब ट्रेन्डिङ हेर्दा बाहिर पनि खासै गतिलो कुरा ट्रेन्डिङमा आएको देख्न पाइँदैन रहेछ ।

पहिलापहिला गम्भीर विषयले स्थान पाउँथे । क्रान्तिका कुरा, विकासका कुराले स्थान पाउँथे । ती बहसमा एउटा पुस्ताको चासो थियो । तर अहिले हाम्रो धैर्य टुटेको हो कि ? हामी आत्तिएका हौं कि ? नयाँ प्रविधिको प्रयोग गर्न नजानेका हौं कि ? सामाजिक सञ्जालले नीतिगत निर्माण र परिवर्तनमा ठूलो भूमिका खेलेको छ । आज हाम्रो संवेदनालाई सामाजिक सञ्जालले अलि सतही बनाइदिएको छ । यसतर्फ हामी सबै जना गम्भीर हुन जरुरी छ । हाम्रो संवादको नयाँ शैलीलाई इन्कार गर्न मिल्दैन । यसलाई नराम्रो भन्न मिल्दैन । मेरो जोड यसलाई डबल स्ट्यान्डर्डका रूपमा नलिऔं । हामी जे हौं, त्यसमा रमाउन कोसिस गरौं । हामी जे हौं, त्यो देखिने प्रयास गरौं ।

- गायक सपुतले कान्तिपुर कन्क्लेभ-२०२२ मा व्यक्त गरेको विचारको सम्पादित अंश ।


प्रकाशित : भाद्र ३१, २०७९ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?