कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘मानसिक समस्या खुलेर भनौं’

संक्रमण नहोस् भनेर सजक हुनु सामान्य प्रतिक्रिया हो । तर बढी नै डराउने व्यवहार रोग हो । कोही बिरामी त त्रासकै कारण व्यक्तिगत, सामाजिक र पेसागत जिम्मेवारी बहन गर्न नसक्ने भएका छन् ।
डा. रवि शाक्य

कोभिड–१९ महामारी त्रासले विश्वव्यापी रूपमै मानसिक रोगीको संख्या बढाएको तथ्यांकहरु बाहिरिएका छन् । संक्रमणको महामारी त चली नै रहेको छ । कोभिड–१९ को त्रास र लकडाउनको असरका कारण मानसिक रोगको महामारी आउँदै छ र त्यसका संकेतहरू देखिन थालिसकेका छन् । यो तथ्य विश्व स्वास्थ्य संगठनले नै सार्वजनिक रूपमा उजागर गरिसकेको छ ।

‘मानसिक समस्या खुलेर भनौं’

कोभिडसँगै मानसिक समस्या निकै बढेको छ । यो अझै भयाभह हुँदै जाने प्रक्षेपण गरिएको छ । लकडाउनका कारण यस्ता धेरै बिरामी अस्पतालसम्म आइपुग्न सकेका छैनन् । तथ्यांकमा बिरामी बढेको नै हो भन्ने देखाउन अहिले सकिँदैन । अस्पताल पुग्न नसकेका बिरामी फोन सम्पर्कमा आउँछन् । बिरामीको समस्या सुन्दाबुझ्दा मानसिक रोगी बढेको छ भन्न सकिन्छ । पाटन अस्पतालकै कुरा गर्नुपर्दा भर्ना गरेर उपचार गर्नुपर्ने खालका बिरामी बढेका छन् । २० बेडको मानसिक वार्डमा २१ जना भर्ना भएर उपचार लिइरहेका छन् ।

बिरामीमा मानसिक समस्या देखिने चरण अहिले सुरुवातमै छ । कोभिड–१९ प्रकोप फैलिएको ठाउँमा यसले बढी समस्या सिर्जना गरेको छ । क्वारेन्टाइन र आइसोलेसनमा बसेका संक्रमितलाई चिन्ताजन्य समस्या देखिएको छ । संक्रमितका परिवार र समुदायको मनोविज्ञानमा पनि उत्तिकै असर परेको छ । रोगको त्राससँगै लकडाउनका कारण झेल्नुपरेका अभावले पनि मानिसलाई मानसिक रूपमा विक्षिप्त बनाएको छ । चिन्ता र उदासीपनसँग सम्बन्धित समस्या बढी देखिएका छन् ।

तनावका कारण उनीहरूको दैनिक क्रियाकलापमा नै असर पार्न थालेको छ । भोक र निद्रा नलाग्ने बनाएको छ । संक्रमणबाट बच्न घरमै बस्न भनिएको छ । रोग सर्ने डरका कारण केही मानिस घरबाट बाहिर निस्कनै डराउने भइसकेका छन् । नयाँ मान्छेसँग भेट्नै डराउने गरिरहेका छन् । घरका सामानमा भाइरस बस्यो भनेर सामान फाल्ने, जलाउने पनि गरिरहेका छन् ।

संक्रमण नहोस् भनेर सजग हुनु, सतर्क हुनु सामान्य प्रतिक्रिया हो । तर, बढी नै चनाखो हुने डराउने व्यवहारले दैनिक जीवनयापनमा असर पारिदियो भने रोग बन्छ । कोही बिरामी त त्रासकै कारण व्यक्तिगत सामाजिक, पेसागत जिम्मेवारी बहन गर्न नसक्ने भएका छन् । उपचारमा आएका छन् । लकडाउनका कारण कतिले रोजगारी गुमाए । व्यवसाय धराशायी बन्यो यसकै पीरमा उनीहरू रोगी बनिरहेका छन् । मन आत्तिने, चिट्चिहाटपन हुने अब यो महामारीबाट उठ्नै सकिँदैन भनेर सोचिरहने गरिरहेका छन् । रोग नै नभए पनि रोग लागिसक्यो, अब मरिन्छ भनेर आत्तिने पनि छन् ।

कोभिड–१९ नयाँ रोग हो । सुरुवाती चरणमा यसले सबै खाले मानिसमा त्रास फैलाएको थियो । अहिले धेरैले यो रोगबारे बुझ्दै जान थालेका छन् । डर कम हुँदै गएको छ । कति मानिस पहिले जस्तै सामान्य दैनिकीमा फर्किसके । तर, जो पहिल्यैदेखि मानसिक रोगी थिए उनीहरूको मनमा यसले अझै गहिरो गरि डेरा जमाएको छ ।

ओसीडी (अब्सेसिभ कम्पल्सिभ डिसअर्डर) भन्ने चिन्ताजन्य रोगका बिरामी पनि उस्तै बढेका छन् । संक्रमणबाट बच्न हात धोइरहनुपर्छ भनिएको छ । ओसीडीका बिरामी हातै मात्रै धुने, सरसफाइ मात्रै गर्ने र अरूलाई पनि गर्न लगाउने गरिरहेका छन् । यसले सुत्नै नसक्ने, खानै नसक्ने बनाएको छ । निको भइसकेको मानसिक रोगीको समस्या बल्झिएको छ ।

समस्या डर र संक्रमणका कारण मात्रै बल्झिको होइन । लकडाउनका कारण फलोअप उपचारमा आउन नपाएका, औषधि नपाएका कारण पनि रोग बढेको हो । क्वारेन्टाइनमा एक्लै बस्ने, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएका कोभिड–१९ सम्बन्धी भ्रामक समाचार र सूचनामा बढी झुन्डिने व्यक्तिमा पनि यस्ता समस्या देखिएका छन् ।

कोभिड–१९ संक्रमण निको भएर समुदायमा फर्किनेलाई हेला गर्ने बहिष्कार गर्ने गरिन्छ । यस्तो हुँदा निको भएका व्यक्तिको मनमा सधैं डर र ग्लानि हुन्छ । महामारी टरेर गइसकेपछि पनि यसको छाप दिमाग र रहिरहन्छ सबै पेसा र उमेर वर्गमा व्यक्तिको मनोविज्ञानमा यसले कुनै न कुनै खाले असर गरेको नै छ । स्वास्थ्यकर्मीमै पनि छ ।

प्रहरीको तथ्यांक हेर्दा र मिडियामा पढ्दा आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ । यसैलाई आधार मानेर कोभिडकै कारण आत्महत्या बढेको हो भन्न मिल्दैन । संसारमा पहिले पनि फैलिएका महामारी, प्राकृतिक प्रकोपमा डिप्रेसन र एन्जाइटीजस्ता मानसिक रोगी बढेका थिए र आत्महत्या गर्नुको मुख्य कारण पनि यस्तैखाले मानसिक रोग हो ।

यसरी हेर्दा आत्महत्या कोभिडले आत्महत्या बढाएको हो कि भन्न सकिन्छ तर, अहिले नै निष्कर्षमै पुग्न मिल्दैन । ओपीडीमा आएका बिरामीका मनोविज्ञान अध्ययन गर्दा कोभिडको त्रासको यसमा केही योगदान भने छ ।

नेपाल पहिलेदेखि नै आत्महत्या धेरै गर्ने मुलुकमा गनिएको छ । कोभिड नहुँदा पनि धेरै नै आत्महत्या भइरहने देश हो हाम्रो । फेरि प्रहरीको तथ्यांक र मिडियामा आएका आत्महत्या घटना निकै थोरै हो । वास्तविक दर यो भन्दा धेरै छ । आत्महत्याभन्दा यसको प्रयास गर्ने धेरै छन् । जुन बाहिर आउँदैनन् । त्यसलाई पनि हामीले नजरअन्दाज गर्नु हुँदैन । महामारी र संकटको बेलामा त झन् यस्ता घटनाको खोजी नै गर्नुपर्छ ।

नेपालमा मानसिक स्वास्थ्य यसै पनि छायामा परेको विषय हो । व्यक्ति, समुदाय र सरकार कसैले यसलाई प्राथमिकता दिएको छैन । हामीकहाँ मानसिक स्वास्थ्यको अवधारणा नै दुई दशक पहिले मात्रै आएको हो । यसमा जनचेतना पुगेको छैन, नीति, रणनीति र कार्यक्रम निकै कम छन् । अहिले पनि कोभिड नियन्त्रणमा मात्रै सरकारले ध्यान दिएको छ । यसलाई प्राथमिकतामा राखेर कुनै काम गरिएको छैन । औषधिको उपलब्धता छैन । फोनबाट औषधि प्रेस्क्राइब गर्नु झन् खतरनाक छ ।

बिरामी बढिरहेका छन् तर, स्वास्थ्य संस्थासम्म जाने वातावरण छैन । पाटन अस्पतालको मानसिक विभागमै पहिले दैनिक एक सयदेखि डेढ सय बिरामी आउँथे । अहिले मुस्किलले ३० जना आउँछन् । बाँकी बिरामी रोग पालेर बसेका छन् वा त झारफुकजस्ता गलत उपचारमा पुगिरहेका छन् । जनशक्ति पनि छैनन्, भएका पनि सहर केन्द्रित छन् । यसरी हेर्दा मानसिक स्वास्थ्यमा सरकारको वास्ता भएको देखिँदैन ।

असुरक्षा र अभावको समयमा चिन्ता हुनु स्वाभाविक हो, रोग होइन । यसको व्यवस्थापन गर्न नसक्दा दीर्घकालीन असर गर्छ । यो नै कडाखाले मानसिक रोगमा परिणत हुन सक्छ । मानसिक रोगी बढ्नबाट रोक्न गरिहाल्नुपर्ने र गरिहाल्न सकिने भनेको जनचेतना नै हो । डर, चिन्तामा नियन्त्रण हुन नसके यो रोग हो र यसको उपचार खोज्नुपर्छ भन्ने बुझ्न जरुरी छ ।

क्वारेन्टाइन, आइसोलेसन र समुदायमा फर्केका संक्रमितलाई परामर्शको खाँचो छ । त्यहाँ भइरहेको मानसिक तनावबारे कसैले सोचेकै छैन । सुरुवाती चरणमै उपचार गरे यसले ठूलो रूप लिँदैन । तनाव खप्न नसकेर मानिसले आत्महत्या रोज्नु पर्दैन । जनचेतना मात्रै देशका सबै तह र तप्कासम्म पुर्‍याउन सके भोलि हामीले अर्को महामारी झेल्नबाट जोगिन सक्छौं । त्रासका कारण मानसिक समस्या भोगिरहेका व्यक्तिहरूले खुलेर भन्न सक्नुपर्छ, लुकाउनु हुँदैन ।

आफन्त र साथीभाइसँग खुल्न नसक्नेहरू अस्पताल पुग्न सक्ने वातावरण हुनुपर्छ । मानसिक रोग लाग्यो भन्दैमा हेयको दृष्टिले हेर्ने, परिवारको बेइज्जत भयो भन्ने सोच हट्न सकेमा यो ठूलो समस्या बन्दैन । यसको उपचार पनि महँगो छैन । सरकारी अस्पतालमा एक दिनमा ३० रुपैयाँमै उपचार हुन्छ ।

मानसिक रोगको हकमा नेपाल संसारमै सस्तो उपचार हुने देश हो । अरू देशमा सेकेन्ड, मिनेट हिसाब गरेर उपचार खर्च तिर्नुपर्छ । नेपालको उपचारको सहज पहुँच बनाउन या रोग नै लाग्नै नदिन राज्यले नीति र कार्यक्रम बनाउन ढिला भइसक्यो ।

-साइक्याट्री विभाग, पाटन अस्पतालका प्रमुख डा. रवि शाक्यसँग फातिमा बानुले गरेको कुराकानीमा आधारित

प्रकाशित : असार २१, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?