कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजधानी संक्रमणको उच्च जोखिममा

भ्रमण इतिहास नभएका ३० जनामा कोरोना पुष्टि, ‘ ढलमा समेत देखियो कोरोना भाइरस’
‘मानिसहरुलाई कसरी कोरोना सर्छ भन्ने थाहा छ तर बच्नलाई गर्नुपर्ने केही पनि उपाय अवलम्बन गरिरहेका छैनन् । : डा. वासुदेव पाण्डे
अतुल मिश्र

काठमाडौँ — बाक्लो जनसंख्या भएको राजधानीमा कतै नगएका व्यक्तिमा संक्रमण बढ्न थालेकाले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी विज्ञहरूले दिएका छन् । राजधानीका करिब ३० जनाभन्दा बढी कतै नगएका व्यक्तिमा कोरोना भाइरस देखिएपछि सरकारले स्थानीय संक्रमण भए/नभएको यकिन गर्न शनिबारदेखि नमुना संकलन सुरु गरेको छ ।

‘आज (शनिबार) हामीले तीनकुनेमा १ सय १८ जनाको र नख्खुमा १ सय १० जनाको घाँटीको र्‍यालको नमुना संकलन गरेका छौं,’ स्वास्थ्य मन्त्रालयको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा.वासुदेव पाण्डेले कान्तिपुरसँग भने, ‘दुई–चार दिनभित्रै वडाध्यक्षसँगको समन्वयमा अन्य १० ठाउँसमेत गरी १ हजार २ सय नमुना संकलन गर्नेछौं ।’ धेरै भिडभाड हुने र संक्रमितहरु घुलमिल हुनसक्ने सम्भावित स्थानमा आवतजावत गर्नेहरुको स्वाब परीक्षण गरिने उनले बताए ।

उनका अनुसार काठमाडौंका तीनकुने, शंखमुल, कपन, टोखा, ललितपुरका खुसिबु, नख्खु र भक्तपुरका केही स्थानमा समुदायमै गएर अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ । उनका अनुसार काठमाडौंमा १ सय ९, भक्तपुरमा २८ र ललितपुरमा १७ जना संक्रमित छन् ।

भैंसेपाटीमा साढे दुई वर्षे बालकमा कोरोना पोजिटिभ देखिएको थियो । ती बालक र उनका आफन्तको भ्रमण इतिहास थिएन । ‘कतै नगएकामा कोरोना देखिएपछि हामीले ती व्यक्तिको विस्तृत अध्ययन गर्नैपर्छ’, डा.पाण्डेले भने, ‘आखिर कतै न कतै त उहाँहरू संक्रमित व्यक्तिको सम्पर्कमै आएर यो भाइरस बोक्नुभएको होला ।’ उनले संक्रमणको अवस्था थाहा पाउन कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्ने बताए । ‘हामीले ‘स्थानीय तहमा संक्रमण’ अवस्थाबारे थप जान्न स्क्रिनिङ सुरु गरेका छौं, अहिलेसम्म राजधानीमा मात्र होइन, मुलुकभर नै समुदायमा संक्रमण नगएको अवस्था हो ।’

केही विज्ञले उनको दाबीलाई अस्वीकार गरेका छन् । एक अध्ययनअनुसार हाल राजधानीको ढलमा समेत कोरोना भाइरस देखिएको दाबी गर्दै जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसीले भने, ‘ढलमा कोरोना भाइरस देखिनु भनेको संक्रमण भित्रभित्रै सल्केको अवस्था हो ।’ अमेरिका, युरोपलगायत मुलुकबाट हवाईजहाजमा आएका पहुँचवालाहरू एयरपोर्टबाट सिधै घर गएको औंल्याउँदै उनले भने, ‘उनीहरूले घरमै क्वारेन्टाइनमा बस्छु भने तर घरमा बसे/बसेनन् थाहा छैन । यो सरकारको कमजोरी हो ।’

राजधानीमा हालसम्म करिब १० देखि १५ हजार व्यक्तिको पीसीआर परीक्षण भइसकेको डा. पाण्डेले जानकारी दिए । कतै भ्रमण इतिहास नभएका संक्रमित व्यक्तिलाई कोबाट रोग सर्‍यो भन्ने पहिचान हुन नसक्दा सरकारले स्थानीय व्यक्तिहरूको नमुना संकलन गर्न थालेको हो ।

विदेशबाट दैनिक जहाजमा राजधानी आउनेहरू १४ दिनसम्म सरकारको निगरानीमा बसेको भन्ने कुनै आधारसमेत नरहेको डा. बीसीले बताए । अझ होटलका क्वारेन्टइनमा बस्नेहरू दुई–तीन दिन बसेपछि कुनै निगरानी नहँुदा आफ्नो घर पुगेको अवस्थासमेत देखिएको छ । ‘विदेशवाट आउनेप्रति सरकारले देखाएको उदासीनताले गर्दा राजधानीमा संक्रमण बढिरहेको छ,’ उनले भने, ‘कोरोनाको हटस्पट अमेरिकाबाट आएकाहरू कहाँ छन् ? उनीहरूको स्वास्थ्य अवस्था, क्वारेन्टाइनको नियमलाई पालना गरे वा गरेनन् सरकारलाई केही थाहा छ ?’

उनका अनुसार विदेशबाट हवाईजहाजमा आउने नेपालीको निगरानीमा सरकार चुकेकाले राजधानीमा कोरोना संक्रमण बढेको हो । ‘बोर्डरबाट आउने मजदुरहरूलाई सरकारले जेलजस्तै क्वारेन्टाइनमा राख्यो तर उडेर आउने पहुँचवाला एयरपोर्टबाट सोझै घर गए, होटलमा बस्ने भनिएकाहरू समेत एक–दुई दिन बसेर घर गए,’ डा.बीसीले भने, ‘यस्तो स्थितिमा काठमाडौंमा कोरोना संक्रमण नबढेर के हुन्छ ।’

विदेशबाट पीसीआर जाँच गरेर आएका र नगरी आएकालाई राख्ने होल्डिङ सेन्टर फरक–फरक नभएकाले संक्रमण विस्तारको सम्भावना रहेको डा.पाण्डेले बताए । त्यस्तै राजधानी बाहिरबाट आउनेहरूको उचित निगरानी नभएकाले संक्रमणको जोखिम बढेको छ । राजधानीबाहिरको हटस्पटबाट काठमाडौं आउनेहरूलाई पनि उचित निगरानी गरिएको छैन ।

सरकारले विदेशबाट आउने ‘पहुँचवालाहरू’ को निगरानी गर्न नसक्दा संक्रमणको विस्तारमा सघाउ पुगेको विज्ञहरूको भनाइ छ । स्थानीय बासिन्दामा समेत नेपालीमा इम्युनिटी (रोग प्रतिरोधक क्षमता) बढी रहेको भ्रमले समेत संक्रमणको विस्तारमा सहयोग पुगेको उनीहरूको तर्क छ ।

डा. पाण्डेका अनुसार राजधानीमा बसोबास गर्ने अधिकांश मानिसहरुमा उपत्यकामा बाहिरबाट आएका मानिसमा मात्रै कोरोनाको संक्रमण छ र आफू सुरक्षित छौं भन्ने भ्रम छ । त्यसले गर्दा पनि यहाँ छिटो संक्रमण फैलिनसक्ने जोखिम छ । ‘मानिसहरुलाई कसरी कोरोना सर्छ भन्ने थाहा छ तर उनीहरूले बच्नलाई गर्नुपर्ने केही पनि उपाय अवलम्बन गरिरहेका छैनन् । सबैभन्दा डरलाग्दो विषय नै यही हो,’ उनले भने, ‘त्यसैले सबै सजग रहन आवश्यक छ ।’

राजधानीवासी कोरोना संक्रमणको विस्तार रोक्न व्यक्तिगत रूपमा जिम्मेवार हुनैपर्ने उनले बताए । ‘यहाँ स्वास्थ्य सतर्कतामा छाडापन देखिएको छ,’ डा.पाण्डेले भने, ‘यहाँका मान्छे त्यति चिन्तित छैनन्, मेरो घरअगाडि अहिले (साँझपख) सयौं व्यक्ति खेलिरहेका छन्, कुरा गरिरहेका छन्, धेरैजसोले मास्क लगाएका छैनन्, यहाँका रेस्टुरेन्ट सबै प्याक छन् ।’

अत्यावश्यक काम भए मात्र मास्क लगाएर, दुई मिटरको सामाजिक दूरी कायम गरेर घरबाहिर निस्किने, बेलाबेलामा हात साबुनपानीले धुने वा सेनिटाइजर प्रयोग गर्नेजस्ता स्वास्थ्य सुरक्षाको उपाय अपनाउनमा राजधानीवासीले हेलचेक्र्याइँ गरिरहेको उनले बताए । विशेषज्ञहरूले राजधानीवासीले स्वास्थ्य सतर्कतासँगै बाँच्ने अभ्यास नगरे बढी जनसंख्या भएको उपत्यकामा ठूलो दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन् ।

काठमाडौंको ढलमा देखियो कोरोना भाइरस

सेन्टर फर मोलिक्युलर डायनामिन नेपालले राजधानीको ४ वटा ढलको नमुना लिएर परीक्षण गर्दा दुईवटा नमुनामा कोरोना भाइरस देखिएको जनाएको छ । यो अनुसन्धानले संक्रमित व्यक्तिको दिसामा कोरोनाको भाइरस देखिन्छ । यो परीक्षणको अनुसन्धानकर्ता डा.दिवेश कर्माचार्यका अनुसार घना मानवबस्ती भएको ठाउँको ढलबाट नमुना संकलन गरिएको थियो । नमुना संकलन गरिएको हरेक ढलमा १०० देखि ५०० घरको ढल मिसिने गरेको थियो । नमुना संकलन गरिएको ढलबीच खास दूरीसमेत कायम गरिएको थियो ।

‘हामीले ४ मध्ये दुईवटा ढलको नमुनामा ‘कोभिड–१९’ संक्रमण उत्पन्न गर्ने भाइरस पायौं,’ डा.कर्माचार्यले कान्तिपुरसँग भने, ‘उक्त दुवै नमुनामा चीनको वुहानमा पाइएको प्रजातिकै भाइरस पाइयो ।’ अनुसन्धानकर्ताहरूले यसको सूचना स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई समेत दिएका छन् । हाल उपत्यकामा व्यापक स्क्रिनिङको आवश्यकता देखिएको छ । लक्षणविहीन कोरोनाको संक्रमण (एसिम्प्टोम्याटिक) भएकाहरू राजधानीमा हुन सक्ने विज्ञहरूले बताएका छन् । प्रकाशित : असार २१, २०७७ ०६:५१

प्रतिक्रिया
पठाउनुहोस्

फुटको जोखिममा नेकपा

नेताहरूले अडान नबदले नेकपा विभाजित हुन सक्ने
दुवै पक्ष एकअर्काको सेखी झार्ने योजनाबाट केही कदम चालिरहेका थिए । तर अहिले यस्तो विन्दुमा आइपुग्यो कि एकअर्काले राखेको अडानबाट पछि हट्दा कमजोर भएको वा झुकेको जस्तो देखिने भयो ।
दुर्गा खनाल

काठमाडौँ — २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेष गरी तीन नेता केपी शर्मा ओली, पुष्पकमल दाहालर माधव नेपालको शक्ति संघर्षका कारण पार्टी फुटको जोखिममा आइपुगेको हो ।

दोस्रो र तेस्रो तहका नेताहरूको पहलका बाबजुद पनि प्रधानमन्त्री ओली र दाहाल–नेपाल पक्ष आ–आफ्नो अडानबाट पछि हटेका छैनन् । ‘आम कार्यकर्ता र समर्थक पार्टी एकताको पक्षमा छन्, यसका लागि जोडबल गरिरहेका छौं,’ प्रधानमन्त्री ओलीसँगको बैठकपछि बालुवाटारबाट बाहिर निस्केका मन्त्री घनश्याम भुसालले भने, ‘सकेसम्म मिलाउने प्रयास हो तर पार्टी फुटाउने प्रयत्न भइरहेको छ र यो काम हामीभित्रैबाट भइरहेको छ, जुन दु:खद छ ।’

विगतमा कम्युनिस्ट पार्टीहरू फुट्दा एकले अर्कालाई लगाउने गरेजस्तै ‘देशी–विदेशी षड्यन्त्र’ को आरोप यस पटक पनि लागिसकेको छ । प्रधानमन्त्री ओलीले यसअघि सार्वजनिक रूपमै आफूलाई हटाउन भारतीय चलखेल भएको र त्यस्तो चलखेल गर्ने आफ्नै पार्टीका नेताहरूसमेत रहेको सार्वजनिक रूपमा भनिसकेका छन् । त्यही पृष्ठभूमिमा नेताहरूबीच चुलिएको तिक्तता विभाजनको दिशातर्फ उन्मुख छ ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरूसँगको छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारी र आफूलाई हटाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै यो काममा आफ्नै पार्टीका नेताहरू संलग्न रहेको संकेत गरिसकेका छन् । जुनसुकै स्टेप सामना गर्न आफू तयार रहेको जनाउँदै उनले मन्त्रीहरूलाई अबको आफ्नो बाटो पनि स्पष्ट पार्न सुझाएका छन् ।

दुई वर्षअघि राजनीतिक स्थिरता र समृद्धिको नारा लगाउँदै जनमतको बलमा शासन सत्तामा पुगेको नेकपा आफैंले निर्धारण गरेको कार्यभारलाई लत्याउँदै यतिबेर नेताहरूको अविश्वास र कार्यशैलीगत कमजोरीको दोसाँधमा आइपुगेको हो । शनिबार साँझसम्मको नेकपा नेताहरूको पोजिसन एकले अर्कालाई नस्विकार्ने खालको छ । दाहाल–नेपाल समूह कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई दुईमध्ये एउटा पदबाट हटाउन चाहन्छ । ओलीलाई अहिले पनि ठेगान लगाउन सकिएन भने ज्यादती अझै आफूहरूले खेपिरहनुपर्ने सोचाइ उक्त समूहको छ ।

त्यसैले दाहाल–नेपाल समूह कुनै पनि हालतमा आफ्नो पोजिसन नबदल्ने अडानमा छ । यो अडानलाई ओलीले आफूविरुद्धको षड्यन्त्रका रूपमा लिएका छन् । उनले बेलाबेखत राष्ट्रपतिका विषयमा समेत असन्तुष्ट नेताहरूले दिइरहेका अभिव्यक्तिलाई लिएर उनलाई समेत हटाउने षड्यन्त्रका रूपमा बुझेका छन् । ओलीलाई यतिबेला यो सबै काममा भारतीयहरूको हात छ भन्ने ‘भ्रम’ परेको छ । नेपालको नक्सा जारी गरेपछि चिढिएको भारतले सत्ताबाट हटाउन षड्यन्त्र गरेको र त्यसको गोटी दाहाल र नेपाल बनिरहेको ओलीको बुझाइले अहिले नेकपालाई फुटको संघारमा पुर्‍याएको हो ।

राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो : ओली

नेकपाको यो संकट टार्न भन्दै जारी स्थायी कमिटी बैठक रोकिएको थियो । तर यही रोकिएको समयमा दाहाल–नेपाल र ओली दुवै पक्षले एकताको प्रयासभन्दा शक्ति सञ्चय गर्ने र आ–आफ्नो पक्षको मत निर्माण गर्ने काममा समय खर्चिइरहेका छन् । यी सबै घटनाक्रमलाई नजिकबाट नियाल्ने नेताहरू शीर्ष नेताहरूले आ–आफ्नो पोजिसन बदल्नुपर्ने बताउँछन् । ‘पार्टी एकता गर्दा दुई अध्यक्षका निर्णय लागू हुन्छन् भनियो तर अहिले सचिवालय र स्थायी कमिटीको गणित हेरेर अघि बढ्ने काम भएको छ,’ साँझको बालुवाटार बैठकपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले भने, ‘यस्तो संकटका बेला नेताहरूले मुलुकको आवश्यकताभन्दा अन्यत्र ध्यान दिनुभयो, यसले पार्टीभित्र दुर्घटनाको जोखिम बढाएको छ ।’

नेताहरूका कुरा सुन्दा अहिले दुवै पक्ष एकअर्काको सेखी झार्ने योजनाबाट केही कदम चालिरहेका थिए । तर अहिले यस्तो विन्दुमा आइपुग्यो कि एकअर्काले राखेको अडानबाट पछि हट्दा कमजोर भएको वा झुकेको जस्तो देखिने भयो । त्यही कारण उनीहरूले जुनसुकै स्टेपका लागि पनि अघि बढ्ने मनस्थिति निर्माण गरेका छन् ।

तर एकताका पक्षमा लबिइङ गरिरहेका नेताहरूले दुवै पक्षलाई अडानबाट केही लचिलो भएर जान सुझाव दिइरहेका छन् । अब दुई पक्ष आ–आफ्नो अडानबाट लचक हुन तयार भए मात्र नेकपाको दुर्घटनाको जोखिम टर्छ । नत्र केही दिनभित्रै कम्युनिस्ट पार्टीको इतिहासमा फेरि एउटा नयाँ घटना लेखिए कुनै अनौठो हुनेछैन ।

प्रकाशित : असार २१, २०७७ ०६:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×