भोकको क्याराभान

शकुन्तला जोशी

काठमाडौँ — कोभिड–१९ को संक्रमणसँगै बेरोजगारी र भोकमारीका कारण देशको मजदुर वर्ग आक्रान्त बनेको छ । अचानक घोषणा गरिएको लकडाउनको मारमा अहिले दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने वर्ग परेका छन् । देशका विभिन्न क्षेत्रबाट काठमाडौं आएर मजदुरी गर्नेहरु छन् ।

कोही मधेसबाट पहाडी क्षेत्रमा भएका जलविद्युत् आयोजना वा अन्य विकास निर्माणका क्षेत्रमा रोजगारीका लागि पुगेका थिए भने कोही पहाडबाट मधेस झरेका थिए । कोही कर्णालीबाट काठमाडौं वा संखुवासभा गएका किन नहोउन्, घर फर्किरहेकाहरुको क्याराभान हृदयविदारक छ ।

लकडाउन घोषणा भएलगत्तै उद्योगधन्दा, कलकारखाना बन्द गरिए । सबैलाई घरबाहिर निस्किन, आवातजावतमा प्रतिबन्ध गरियो । सवारी साधन पूर्ण रुपमा बन्द भए । युरोप अमेरिकाजस्ता सम्पन्न र विकसित देश यसबाट सबभन्दा बढी प्रभावित भएका छन् । यो महामारीबाट अमेरिकामा हालसम्म ८० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । वैज्ञानिक अनुसन्धानमा सबभन्दा अब्बल, एउटा स्विच दबाउँदा पृथ्वी ध्वस्त बनाउने सामर्थ्यको दाबेदार अमेरिका अहिले यो भाइरससँग हायलकायल छ । विश्वभरी नै प्रतिदिन महामारीबाट संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या अत्यासलाग्दो ढंगले बढिरहेको छ ।

संसारका धेरैजसो देशमा महामारी फैलिसक्दा पनि केही समय नेपाल ग्रीन जोनमा रह्यो । आफ्नै देश सुरक्षित देखेपछि विदेशमा हुने नेपालीहरु भटाभट फर्किए । लकडाउन घोषणा पूर्व हवाइमार्गबाट स्वदेश फर्किएका नागरिकको स्वास्थ्य परीक्षण गर्नु आवश्यक ठानिएन । काठमाडौं त कतिसम्म ढुक्कले बसेको देखियो भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा फागुनको तेस्रो हप्ता बित्दासम्म सेनिटाइजर पनि राखिएको थिएन । हाम्रो एउटा ठूलै समूह विश्व नेपाली साहित्य महोत्सवमा सहभागी हुन धनगढी पुग्दा त्यहाँको विमानस्थलमा तापक्रम नाप्ने, सेनिटाइजर दिने काम भएको थियो । तर, काठमाडौ विमानस्थलमा त्यति पनि व्यवस्था नहुँदा हामी अचम्ममा परेका थियौं ।

यता भारतबाट विभिन्न नाका हुँदै फर्किनेको ताँती पनि बाक्लिएको थियो । लकडाउन पूर्वसम्म सीमाबाट वारिपारी गर्नुलाई सामान्य रुपमा लिइयो । लकडाउन सुरु भएपछि पनि कहाँबाट कति जना भित्रिए भन्ने तथ्य राख्ने गतिलो संयन्त्र सरकारसँग थिएन । ‘जसोजसो बराजु, उसै उसै नाती’ भनेझैं स्थानीय निकाय पनि काठमाडौंको मुख ताकेर नबसेको भए हुन्थ्यो । आफ्ना क्षेत्रमा भित्रिनेहरुको निगरानी राखेको भए हुन्थ्यो । परिणामस्वरुप अहिले संक्रमितको संख्या बढ्दो मात्रामा छ । दुई जनाको ज्यानै गइसकेको छ । अहिले पनि स्वास्थ्य परिक्षणको गति निकै सुस्त छ ।

नेपाल सरकारको चैत्र ११ को लकडाउन घोषणालगत्तै खर्चको व्यवस्था हुनेहरु काठमाडौंबाट बाहिरिए । तर, काठमाडौंमै भएकाहरु हुन् या देशका अन्य क्षेत्रमा रहेका मजदुर वर्गका मानिस लकडाउन हुने पूर्व सूचना पाएर पनि खर्चको जोहो गर्न नसकेपछि तत्काल घर फर्किहाल्न असमर्थ रहे । लकडाउनले घर हुनेहरु घरभित्रै बस्नलाई त्यस्तो आपत्ति थिएन । घरबाट नियमित कामका लागि निस्कन नपाउनुको चिन्तासम्म थियो । सप्ताहन्तमा आउटिङ गर्न नपाइने वा हरसाँझ गुल्जार हुने रेष्टुराँ, क्याफे, बारहरुमा झुम्न नपाइने गुनासोसम्म थियो । सोही अवधिमा पर्ने जन्मदिन, विवाहोत्सव वा यस्तै कुनै उत्सव ‘सेलिब्रेसन’ गर्न नपाइने दुखेसोसम्म थियो ।

नत्र सहरी मध्यम वर्गका लागि कम्तिमा २/४ महिना लकडाउनमै जीवन चलाउन कुनै मुस्किल छैन । खाद्यन्नलगायत दैनिक उपभोग्य सामग्री भण्डारण गर्‍यो । टेलिभिजन, अन्य ग्याजेटस्, इन्टरनेट सुविधा तथा मनोरञ्जनका साधनले विश्वसँगको ‘कनेक्टिभिटी’ गराइहाल्छ । अझ घरमै जीमखाना, स्विमिङपुल जस्ता ‘मल्टिफ्यासिलिटी’ भएका वर्गका लागि त लकडाउन पर्व–विदामा कुनै ‘आइसोलेटेड आइल्याण्ड’मा गएसरह भइदिएको छ । सुपरमार्केटहरुबाट बण्डलका बण्डल उठाइएको माक्स, स्यानिटाइजरले कम्तिमा प्रातःकालीन घुमफिरलाई ढुक्क बनाइदिएको छ । अग्ला फलामका पर्खालहरु भित्रै ‘जिन्दगी रक्स’ भएकै छ ।

गस्तीको प्रहरी भ्यान फर्किएपछि देश, काल, परिस्थितिमाथि चोकचोकमा गरमारम बहस चलेकै छ । प्रत्यक्ष हावाबाट संक्रमित नहुने यो भाइसरको प्रकृतिले पर्खालभित्रका जन एकप्रकारको ढुक्कमा छन् । बर्षौंदेखि ‘मिस’ भइआएका जीवनका संगती फेरि जोडिएको छ । परिवारसँग समय व्यतित गर्न पाएका छन् । किचनमा नयाँ ‘रेसिपी’ बनेका छन् । रमाइला ‘सेल्फी मुड’ सामाजिक सञ्जालका भित्ताहरुमा देख्न पाइएको छ । ती फलामे पर्खालभित्र मात्र चिहाइरहने हो भने लाग्छ, दुनियाँ अपूर्व ‘सेलिब्रेसन’मा छ । जो यो समयलाई भोग गर्न सक्ने हैंसियतमा छ, उनीहरुका लागि लकडाउन सुखद् नै भएको हुनुपर्छ ।

तर, यहाँभन्दा बाहिर अर्को सिंगो दुनियाँ छ । त्यता फर्किएपछि पटकपटक तनावले भाउन्न छुट्छ । पिठ्युमा वा थाप्लोमा पोकापन्तुरा वा बोराको फ्याङ्लो भारी हालेर हिँडिरहेका मानिसहरुको क्याराभान देख्दा लाग्थ्यो देशबाट लखेटिएका शरणार्थीहरु गन्तव्यहीन यात्रामा हिँडिरहेछन् । आफ्नै सपनासँग हारेर हिँडेजस्ता देखिने तिनीहरुभित्र हतारो छ त केवल सकेसम्म चाँडै गन्तव्यमा पुग्ने उत्कण्ठाको । निचोरेको निबुवाजस्तो अुहार लाएर हिँडिरहेका उनीहरुको झोलामा २/४ फाँको चिउरा, केही प्याकेट चाउचाउ थिए । कतिपयसँग त्यति पनि थिएन । थोत्रो चप्पल घिसार्दै उनीहरु २/४ दिनदेखि एक हप्ताभन्दा बढी पैदल हिँडेरै घर फर्किए । सुत्केरी महिलादेखि वृद्धवृद्धासमेत यात्रामा भोकैतिर्खै निस्कन बाध्य थिए । केही समूहलाई भने बाटोमा पर्ने स्थानीय समुदायले निश्चित दुरी पार गर्न यातायात र भोजनको व्यवस्था गरिदिएका थिए ।

यसरी सेल्फी संसारबाट बाहिर निस्केर हेर्‍यो भने भूर्ईंमान्छेको दुःख थाहा हुन्छ । जनगणना वा मतदाता सूचीमा समेत नपरेका त्यो वर्गका नागरिक राजधानीमा कति होलान् र बाहिरका सहरहरुमा कति होलान् ? सरकारी कुनै ढड्डामा तिनको लिखत चढाइएको छैन । राष्ट्रको नेतृत्वमा बस्नेहरु जुटपत्ति खेल्नमै बेफुर्सद छन् ।

वेवास्तामा भुईंमान्छे

नेपालमा लकडाउन गर्दा विश्वका धेरै मुलुक यसबाट प्रभावित भइसकेका थिए । महामारी कसरी फैलियो ? नियन्त्रणका पहल के कस्ता हुँदै थिए, ती मुलुकबाट नेपालले पाठ सिक्ने र सतर्कता अपनाउन प्रसस्तै समय पाएको थियो । जोखिम व्यवस्थापनको पूर्व तयारी राम्रोसँग गर्न सक्थ्यो । तर समय रहुन्जेल सरकार नित्य रोइलोमै मस्त रह्यो ।

जोखिम नियन्त्रण गर्न लकडाउन गर्न आवश्यक थियो । तर, त्यसपूर्व दैनिक ज्याला मजदुरी गरी बाँच्नु पर्ने वर्गको व्यवस्थापनमा ध्यान दिनु पर्थ्यो । अर्कातिर देशका विभिन्न भेगमा घुमिरहेका पर्यटकलाई सम्बन्धित देश फर्काउनेतिर पहल गर्नु पर्थ्यो । लकडाउन सुरु भएपछि पर्यटकीय क्षेत्रतिर अलपत्र परेका पर्यटकको निकै मुस्किलले उद्धार गरिएको छ । केही पर्यटकले महामारीका डरले स्थानीयले गरेको दुर्व्यवहार र सरकारी निकायले दिएको सास्तीको नमिठो अनुभूति लिएर फर्केका छन् । आगामी दिनका लागि पर्यटन प्रवर्द्धनमा यी रातो सूचकहरु हुन् ।

लकडाउन गर्ने बेलामा सरकारको ध्यान आफूलाई सुकिलामुकिला वर्गको चिन्ता गर्नेतिर मात्रै जान हुँदैनथ्यो । सामाजिक दूरी कायम गर्ने, घरभित्रै बस्ने, सेनिटाइजर, मास्क प्रयोग गर्नेजस्ता सुरक्षाका तरिका अपनाउन मजदुर वर्ग कति सक्षम थिए ? सोच्नु पर्थ्यो । राजधानी भित्रै निर्माण क्षेत्र, इटाभट्टालगायत उद्योग परिसरमै जस्ताका पाता, पालले बेरेर बनाइएका अस्थाई टहरामा हजारौंको संख्यामा ती क्षेत्रमा कार्यरत मजदुर बस्छन् । जंगल वा खोला किनारमा छाप्रो हालेर बस्ने सुकुम्बासीको संख्या पनि ठूलै छ । लकडाउनले गरिआएको काम बन्द हुने बित्तिकै उनीहरुको आयस्रोत तत्कालै ठप्प भयो । त्यो वर्गसँग अब न पाँच किलो चामल स्टकमा छ न त, गोजीमा पैसा । बन्द हुने बित्तिकै अपवाद छाडेर प्रायः ठेकेदार वा मालिक ती मजदुरले पाउनु पर्ने ज्यालासमेत नदिइ फरार भए । भर्खरै सरकारले केही ठूला उद्योग खोल्न अनुमति दिएको छ । केही मजदुरले फेरि काम पाएका छन् । तर, रोजगारीको आम क्षेत्र चलायमान नभएसम्म असंगठित क्षेत्रमा काम गर्ने यो वर्गको ठूलो हिस्साको चुल्हो बल्न मुस्किल पर्ने छ ।

वास्तवमा यथास्थानमै लकडाउनमा रहन स्थाई आयस्रोत नभएका त्यो वर्गको गाँसबासको जिम्मेवारी सरकारले लिनसक्नु पर्थ्यो । होइन भने यस्तो विषम परिवेशमा उनीहरुलाई घरसम्म पुग्न सक्ने वातावरण सरकारले बनाइदिनु पर्थ्यो ।

त्यसो त सर्वहारा, श्रमिक वर्गको मुक्तिको मुद्धा, नेकपाले निकैपर छोडिआएको हो र त्यही पार्टीको बहुमतीय जन सरकारमा छन् । पार्टीभित्रै गुटउपगुटको रत्यौली मिलाउन तिनलाई हम्मे छ । बहुजन हितायको विचार अवसानप्रायः छ । आत्मकेन्द्रित नीति र सोच हाबी हुँदै गएको छ । केही थोरै व्यक्ति वा समुदायले यसबीच गरेका पहल सराहनीय छन् । तर आम सोच आत्मकेन्द्रित देखिन्छ । मौकामा चौका हान्ने दाउमा बसेकाहरु यही बेला कालो बजारी गरेर कमाउने ध्याउन्नमा लागेका छन् । यस्ता कर्ममा मन्त्रीसम्म मुछिएका छन् ।

हामी कति आत्मकेन्द्रित भएका छौं, यसको पछिल्लो नमुना प्रधानमन्त्री स्वयम् बनेका छन् । देश महामारीमा परेर गरिब जनता भोकमरीले आत्तिएका छन् । त्यस्तो बेला रातारात राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याए र खारेज गर्नुले उनी चरम आलोचनाको शिकार भए । ‘मधेसवादी दलसँगको दुरी घटाउन उक्त अध्यादेश ल्याएको’ भन्ने उनकै अभिव्यक्तिबाट आत्मकेन्द्रित प्रवृत्ति स्पष्ट हुन्छ । देश लकडाउनमा भएको बेला आफ्नो सत्ता टिकाउन रिझाउने र नजिक बनाउने कच्चा खेल खेलिनु हुँदैनथ्यो । यो बेला प्रधानमन्त्री र नेतृत्व चुक्नु भनेको गणतान्त्रिक मुलुकको भयानक ‘ट्रयाजिडी’ हो ।

लोकहितको ढोंग

भारतको छत्तिसगढ, बीजापुर घर भएकी १२ वर्षीया जमालो मडकामको लकडाउनमा पैदल यात्राका क्रममा मृत्यु भयो । ती बालिका आफन्तसँग तेलंगानामा खुर्सानी खेतीमा मजदुरी गर्न गएकी थिइन् । तर, लकडाउनका कारण काम बन्द भएपछि उनी अभिभावकका साथ एक सय किलोमिटर पैदल यात्रा गरी घर फर्कदै थिइन् । घर पुग्न ११ किमी बाँकी छँदा भोक र थकानले उनको मृत्यु भएको थियो । प्रकृतिले सबैलाई समान रुपमा बाँच्ने अधिकार दिए पनि किन पिंधमा पारिएका वर्ग भोकमा दुई टुक्रा रोटीको हकदार हुन सकिरहेका छैनन् ? किन ती कोरोना जस्ता महामारी वा रोगका कारण भन्दा बेसी भोकमरीले मरिरहेका छन् ? ‘द वर्ल्ड काउन्टस्’को रिपोर्टअनुसार प्रति १० सेकेन्डमा भोकमरीका कारण एउटा बच्चाको मृत्यु हुन्छ । कुपोषण र भोकमरीकै कारण प्रतिवर्ष विश्वका ३१ लाख बालबालिकाले मृत्युको शिकार हुने पनि यसको रिपोर्टले देखाउँछ । जमालो, भोकले मर्ने तिमी नै पहिलो वा अन्तिम बच्चा कहाँ हौ र ! तिम्रो अन्त्येष्टि हुँदै गर्दै कति हजार बालबालिका एक घुट्को माड पिउन नपाएर मरे हुन् । तिमीजस्ता भोका बालबालिकालाई एक प्याकेट चाउचाउ हातमा थमाएको सेल्फी सामाजिक सञ्जालमा पोष्ट गर्ने वा समाचार बनाउने दानवीरहरुको दुनियाँमा कमि छैन ।

यतिबेला तिम्रो परिवार राहतमा पाएको एक किलो पिठो, एक प्याकेट नुन र तेलको प्याकेज सुम्सुम्याइरहेको होला । जसको बाहिरपट्टी बहुराष्ट्रिय कम्पनीको लोगो चम्किलो गरी छापिएको हुनुपर्छ । न्यूनतम मूल्यमा तिम्रो श्रमको शोषण गरी अधिकतम नाफा कमाउने अर्बपतिहरु, तिम्रो भोटको दुरुपयोग गरेर तिमीलाई कुल्चिरहेका नेताहरु एकाएक तिमीजस्ता गरीबका सामु भगवान साबित हुन्छन् । बिडम्बना, जीवनभर तिमी र तिम्रो परिवार उनीहरुप्रति कृतज्ञ भइरहन्छौं ।

लोकहितका नाममा गरिने यस्ता ढोंग तिम्रा लागि नयाँ होइनन् । विश्वभरका करोडौं गरीबका लागि भोकमरीले तड्पिनु, खान नपाएरै मर्नु नयाँ समाचार होइनन् । महामारीका कारण बाँकी रोजीरोटी पनि ठप्प भएपछि संसारभरका गरिब सत्ता र शक्तिमा हुनेहरुलाई भनिरहेछन्, ‘कोरोनाको त्रास हाम्रोभन्दा तिम्रो अनुहारमा धेरै छ । किनकी अकाल मर्न हामीसँग भोकमरी नै काफी छ ।’ यही भोकमरीविरुद्ध नेपाल, भारत, बंगलादेशलगायत विभिन्न मुलुकमा जनता सडकमा निस्कन थालेका छन् ।

विश्व खाद्य संगठनका अनुसार महामारी पूर्वसम्म १३ करोड ५० लाख मानिस विश्वमा भोकमरीको चपेटामा थिए । सन् २०२० को अन्त्यसम्ममा यो महामारीले थप १३ करोड मानिसलाई भोकमरीको दलदलमा धकेल्ने छ । यसरी भोककै कारण गरीबले कहिलेसम्म मर्नु पर्ने हो ? प्रश्न अनगिन्ती उठ्छन् । मुठिभर मानिसको हातमा सिंगो विश्वको पूँजी भएपछि बाँकी जनसंख्या भोकमरीले माटो खाने हालतमा पुग्नु स्वभाविक हो । केही समयअघि अफ्रिकी मुलुक हैटीमा भोकमरीका कारण माटोको रोटी खाने गरेको समाचार आएको थियो । यो मानव सभ्यताप्रति क्रुर ठट्टा र शोषणको पराकाष्ठा हो ।

अहिले संसारमा कोरोनाको कारण वर्गविहिनताको अवस्था आएको विश्लेषण हुन थालेका छन् । बेलायतका प्रधानमन्त्रीदेखि अन्य देशका ठूला नेता पनि कोरोना संक्रमित भएपछि यस्तो प्रतिक्रिया आउन थालेको हो । स्वभाविक हो, भाइसरले वर्ग छुट्याउँदैन । तर, माथिका तथ्यहरु हेर्दा यो विश्लेषणको ग्राफलाई उल्टो पार्नु पर्छ । लकडाउनले मजदुर र मालिक वर्गको खाडल झन गहिँरिदो छ । एउटा वर्ग घरभित्र सुरक्षित छ, अर्को वर्ग भोकभोकै सडकमा छ । यो नेपालको मात्रै नभइ विश्वका धेरैजसो राष्ट्रको चित्र हो ।

नेपाल सरकारले प्रभावित क्षेत्रका नागरिकलाई पर्याप्त राहत दिनुपर्छ । रोजगारीका क्षेत्रहरु खुला गर्दा उनीहरुको स्वास्थ्य सुरक्षाका निम्ति कडा नीति अपनाउनु पर्छ । अहिले पनि सफाई मजदुरहरु बिना पञ्जा काममा खटेको देखिन्छ । तीव्र गतिमा फैलिरहेको संक्रमण नियन्त्रण गर्न परीक्षणको गति पनि बढाउनु पर्छ । त्यो क्षेत्रमा भोकमरी फैलिन नदिन खाद्यन्न आपूर्तिमा राज्यको ध्यान जानुपर्छ । होइन भने भोकै हिडेका मानिसको जुलुस राजधानीतिरै फर्कियो भने विसर्जित विद्रोह ब्यूँतिन बेर छैन । जुन निकै भयानक विस्फोटक हुनेवाला छ । प्रकाशित : जेष्ठ ५, २०७७ १३:१६

प्रतिक्रिया
पठाउनुहोस्

वन्यजन्तुको उद्धार र उपचारमै व्यस्त

अब्दुल्लाह मियाँ

काठमाडौँ — सगरमाथा राष्ट्रिय निकुञ्जको त्याङ्बोचे नजिकको पावर हाउस नजिक शनिबार सेनाको गस्ती टोलीले घाइते अवस्थामा एक पोथी कस्तूरी फेला पाऱ्यो । निकुञ्जको टासिङा तथा फुगिठाँगा पोस्टबाट खटिएको सेनाको संयुक्त गस्ती टोलीले फेला पारेको उक्त कस्तूरी मृगको नाम्चेस्थित् निकुञ्जको मुख्यालमा राखेर उपचार भइरहेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार ढाडमा चोट लागेको अवस्थामा फेला परेको उक्त कस्तूरी कसरी घाइते भयो भन्ने पत्ता लागिसकेको छैन ।

कस्तूरी मृगका लागि हब मानिने सगरमाथा निकुञ्जमा पछिल्ला केही वर्ष यता कस्तूरीको चोरी सिकार पनि बढेको छ । वैशाख तेस्रो साता तस्करले सगरमाथा पदयात्रा मार्गको तागडिमामा एकै स्थानमा ७ वटा कस्तूरी मृग पासोमा पारेर मारेका थिए । भाले कस्तूरीको नाभीमा हुने सुगन्धित बिनाका लागि कस्तूरीको सिकार हुने गरेको छ ।

सगरमाथा क्षेत्रमा कस्तूरी मार्ने र अंग बेचबिखन गर्ने कार्यमा संलग्न तीन जनालाई केही दिनअघि पक्राउ गरी कारबाही अघि बढाइएको छ । उनीहरुमाथि मुद्दा चलाउन जिल्ला अदालत, सल्लेरी पठाइएको उपाध्यायले कान्तिपुरलाई बताए ।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ को दफा २६ मा कस्तूरीको बिना खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

डिभिजन वन कार्यालय, तनहुँले केही दिनअघि शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारबाट रतुवा मृग उद्धार गरेको थियो । सब–डिभिजन वन कार्यालय, शुक्लागण्डकी बेलचौताराले सामुदायिक वन उपभोक्ता समूहको रोहबरमा उक्त रतुवालाई वन क्षेत्रमै छाडेको डिभिजनल वन अधिकृत केदार बरालले उल्लेख गरेका छन् । त्यसअघि पनि शुक्लागण्डकी नरपालिका–१ स्थित सेरावेसीमा मृत अवस्थामा फेला परेको रतुवा मृग उद्धार गरेको थियो । डिभिजन वन कार्यालय, तनहुँले यसबीचमा धेरै चितुवाको उद्धार गरेको छ ।

कर्णाली प्रदेशअन्तर्गत्को डभिजन वन कार्यालय, सुर्खेतले पनि लकडाउन अवधिमा ५ वटा जरायोको उद्धार गरेको डिभिजनल वन अधिकृत गोविन्द दाहालले जनाएका छन् । कांक्रेबिहार संरक्षित वनबाट रातको समयमा आहारको खोजीमा बाहिर निस्किन र त्यही क्रममा मानिसको घेरामा परेर ४ वटा जरायो मरेको उनले उल्लेख गरेका छन् । केही दिन अघि वीरेन्द्रनगर नगरपालिका ११ चारकुनेबाट जरायोको बच्चा उद्धार गरिएको थियो । बस्ती नजिक आएका अन्य ७ वटा वन्यजन्तुलाई उद्धार गरी जंगलमै छाडिएको पनि उनले उल्लेख गरेका छन् ।

डिभिजन वन कार्यालय, बाराले पनि लकडाउनका अवधिमा गस्तीका क्रममा धेरै वन्यजन्तुको उद्धार गरेको डिभिजनल वन अधिकृत मन्जुर अहमदले बताए । वन कार्यालयबाट खटिएको टोलीले रतुवा मृगसहित केही व्यक्तिलाई पक्राउसमेत गरेको थियो ।

डिभिजन वन कार्यालय गोरखाले पालुङटार नगरपालिका–१ घडेरीखोलाबाट एक चितुवा उद्धार गरेको छ । मृत अवस्थामा चितुवा उद्धार गरेको डिभिजनल वन अधिकृत तोयानाथ पौडेलले उल्लेख गरेका छन् । केही दिन अघि पालुङटार नगरपालिका २ को रातडाँडाँबाट दुई वटा चितुवाका बच्चा (डमरु) समेत उद्धार गरिएको थियो ।

डिभिजन वन कार्यालय कपिलवस्तु (तौलिहवा) र (गौतमबुद्ध) ले पनि यसबीचमा वन्यजन्तुको उद्धार गरेका छन् । केही दिनअघि डिभिजन वन कार्यालय, काभ्रेपलान्चोकले एक चितुवाको उद्धार गरेको थियो भने डिभिजन वन कायालय, दाङले एक हुँडार उद्धार गरेको थियो । डिभिजन वन कार्यालय, इलामले पनि केही दिन अघि रतुवा मृग उद्धार गरेको थियो । लडकडाउनको मौका छोपेर जंगल छिर्ने व्यक्तिहरुले अवैध हिसाबले वन्यजन्तु सिकार गर्ने क्रममा कयौं वन्यजन्तु घाइते भएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७७ १३:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×