काठमाडौँ — वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले आफूमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं चन्द्रागिरिका उत्तम कार्कीविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छन् ।
शुक्रबार बिहान ती युवकले हेटौंडाबाट काठमाडौं आउँदै गरेका डा. कार्कीलाई नागढुंगामा गाडी रोकेर दुव्र्यवहार गरेका थिए । नागढुंगामै प्रहरीले सवारी पास नबोकेको भन्दै डा. कार्कीलाई रोकेको थियो । त्यसपछि प्रहरी नजिकै रहेका ती युवकले डा.कार्कीको झोला खानतलासी गर्नुका साथै अनधिकृत रुपमा केरकार गरेका थिए । केही बेरको भनाभनपछि डा. कार्की काठमाडौं नआई हेटौंडा फर्किएका थिए । घटनाको दुई दिनपछि आइतबार ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अभद्र व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिइसकेको र पीडितका तर्फबाट सोमबार बिहान जाहेरी परेको बताए । डा. कार्कीले आफूमाथि प्रहरीले समेत दुव्र्यवहार गरेको बताए पनि जाहेरीमा भने त्यो कुरा उल्लेख गरेका छैनन् ।
