१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

भारतमा एकैदिन ५ हजारभन्दा बढीमा कोरोना, संक्रमितको संख्या ९६ हजार नाघ्यो

चौथो चरणको लकडाउन केही खुकुलो

नयाँदिल्ली — भारतमा पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ४२ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । पहिलो पटक कोरोना पुष्टि भएयता एकैदिन भारतमा धेरै व्यक्तिमा कोरोना संक्रमण पुुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको संख्या ९६ हजार १ सय ६९ पुगेको छ । 

भारतमा एकैदिन ५ हजारभन्दा बढीमा कोरोना, संक्रमितको संख्या ९६ हजार नाघ्यो

भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १५७ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार २९ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये ३६ हजार ८ सय २३ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हप्तौंको लकडाउनका बीच पनि भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको छ ।

भारतको महाराष्ट्र कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ । अहिलेसम्म महाराष्ट्रमा ३३ हजार ५३ जना संक्रमित भएका छन् भने एक हजार १ सय ९८ जनाको मृत्यु भएको छ । त्यस्तै गुजरातमा ११ हजार ३ सय ७९ जना संक्रमित भएका छन् भने ६ सय ५९ जनाको मृत्यु भएको छ । तमिलनाडुमा ११ हजार २ सय २४ संक्रमित र ७८ जनाको मृत्यु भएको छ । दिल्लीमा १० हजार ५४ जनामा संक्रमण पुष्टि हुँदा एक सय ६० जनाको मृत्यु भएको छ । राजस्थानमा ५ हजार २ सय २ जनामा संक्रमण पुष्टि भएको छ भने एक सय ३१ जनाको मृत्यु भएको छ ।

चौथो चरणको लकडाउनको स्वरुप परिवर्तत

भारत सरकारले कोरोना भाइरसको नियन्त्रण र रोकथानका लागि भन्दै लकडाउनको अवधि ३१ मेसम्म थपेको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउन थप १४ दिनका लागि बढाउने निर्णय गरेको हो । मे ४ देखि गरिएको तेस्रो चरणको लकडाउनको आइतबार सकिएको थियो ।

लकडाउन लम्बाउने निर्णयसँगै बसलगायतका सार्वजनिक यातायात साधनहरू सञ्चालन पनि खुला गरिएको छ । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको वृद्धिदर उच्च देखिएको छ ।

लकडाउन बढाउने निर्णयसँगै त्यसको स्वरूप पनि तय गरिएको छ । र, अघिल्ला लकडाउनभन्दा केही खुकुलो बनाइएको छ । गृह मन्त्रालयद्वारा आइतबार साँझ जारी नयाँ दिग्दर्शनअुनसार संक्रमणको जोखिम हेरेर क्षेत्र अधिकार प्रदेश तथा केन्द्र शासित राज्यहरूले क्षेत्र निर्धारण गर्न पाउनेछन् । यसअघि केन्द्र सरकारले नै त्यस्ता क्षेत्र निर्धारण गरेको थियो । यसअघि केन्द्र सरकारले संक्रमणको सघनताका आधारमा भारतका ७ सय ३३ जिल्लालाई रातो, सुन्तला र हरियो क्षेत्रमा वर्गीकरणसमेत गरेको थियो ।

संक्रमण उच्च भएका १ सय ३० जिल्लालाई रातो, संक्रमण सीमित भएको र पछिल्ला दिनमा वृद्धि नदेखिएका २ सय ८४ लाई सुन्तला र पछिल्लो २१ दिनमा एउटा पनि संक्रमणको केस नदेखिएका जिल्लालाई हरियो क्षेत्र निर्धारण गरिएको थियो । यसका अतिरिक्त रातो क्षेत्रभित्र पनि संक्रमण फैलने जोखिम रहेका क्षेत्रलाई ‘कन्टेनमेन्ट जोन’ तोकिएको थियो ।

यसैगरी, राज्यहरूबीच चल्ने बसलगायतका यात्रुबाहक सार्वजनिक सवारीसाधनलाई तोकिएका मापदण्ड पूरा गरेर चलाउन छुट दिइएको छ । तर, ‘कन्टेनमेन्ट जोन’ मा भने त्यो सुविधा लागू हुने छैन । तोकिएका गन्तव्यका लागि रेलसेवा यसअघि नै खुला भइसकेको छ । त्यसैगरी अलपत्र परेका प्रवासी कामदार, पर्यटक, तीर्थयात्री, विद्यार्थीका लागि भनेर विशेष रेलसेवा पनि सञ्चालनमा छ । हवाई तथा मेट्रो रेलसेवा भने खुला गरिएको छैन ।

चौथो चरणको लकडाउनमा पहिलोपटक रंगशालालगायतका खेलस्थलहरूलाई खोल्न अनुमति दिइए पनि दर्शकको प्रवेशलाई भने निषेध गरिएको छ । साथै छिमेकी मुलुकसँगका अन्तरदेशीय व्यापार सन्धिको अधीनमा रहेर हुने वस्तु तथा कार्गोको ओसारपसार पनि गर्न पाइने मन्त्रालयद्वारा जारी दिग्दर्शनमा उल्लेख छ ।

यसअघिका लकडाउनहरूमा जस्तै रात्रिकालीन कर्फ्युलाई भने निरन्तरता दिइएको छ । मानिसको आउजाउलाई रोक्न साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि लगाइएको यसअघिको कर्फ्यु चौथो चरणको लकडाउनमा पनि यथावत् राखिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७७ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?