धनकुटाकी संक्रमित स्वास्थ्यकर्मी भन्छिन् : ३ महिनादेखि जिल्लाबाहिर गएकी छैन

जेष्ठ ५, २०७७

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटामा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएकी ३४ वर्षीया युवती पेसाले स्वास्थ्यकर्मी हुन् । उनी जिल्ला अस्पतालमा कार्यरत छिन् । स्वास्थ्यकर्मी भएकाले नियमित ड्युटीमा संलग्न रहँदै आएको संक्रमित युवतीको भनाइ छ । उनी विगत तीन महिनादेखि जिल्ला बाहिर नगएको बुझिएको छ । 

उनका साथमा रहेको नाबालक शिशुलाई ख्याल गर्दै अस्पताल नजिकै रहेको डेरा र कार्यस्थल वरपर मात्र सीमित रहेकी थिइन् । गत फागु पूर्णिमादेखि आफू कतै नगएकोले बिरामीबाट आफू संक्रमित रहेको हुन सक्ने उनको भनाइ छ । संक्रमितको ट्राभल हिस्ट्र्री लिन लागिएको अवस्थामा स्वास्थ्यकर्मी युवतीले आफू अस्पतालमा उपचारका लागि आउने बिरामीबाटै संक्रमित रहेको बताएकी हुन् ।

उनी अस्पतालबाट करिब ६ किलोमिटर टाढा घर भए पनि बजारमा डेरामा बस्दै आएकी छिन् । अस्पताल नजिकै डेरामा रहेकोले शिशुलाई पनि ख्याल गर्न सहज रहेको र ड्युटीमा पनि समय दिन सकिने भएकोले अन्यत्र नगएको उनले बताएकी छिन् । अस्पतालमा रहेको दर्ता पुस्तिका र अन्य स्रोतको आधारमा उपचारमा आउने बिरामीको खोजी कार्य भइरहेको अस्पताल स्रोतले जनाएको छ । 

सामान्य लक्षण देखा परेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणका लागि पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पुजन विश्वकर्माले बताए । उनीसँगै अन्य तीन स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मीको स्वाब परीक्षणका लागि प्रतिष्ठान पठाइएको विश्वकर्माले जानकारी दिए । जसमध्ये एक जनाको मात्र पोजिटिभ रिपोर्ट आएको थियो । 

आइतबार साँझ कोरोना भाइरस पुष्टि भएलगत्तै जिल्ला अस्पतालमा राखिएकी संक्रमित युवतीलाई अस्पतालमा रहेको आइसोलेसन वार्डमा राखिएको थियो । उनलाई सोमबार बिहान कोरोना अस्पताल विराटनगर लगिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए । 

कोरोना भाइरस

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully