कोरोना नेपाली वैज्ञानिकका लागि अवसर हुन सक्छ

स्वास्थ्य संस्थामा मात्रै होइन अन्यत्र पनि प्रयोगशाला स्थापना गरी परीक्षणको दायरा बढाउनुपर्छ। यसका लागि वैज्ञानिक संस्थाहरुले अग्रसरता लिनुपर्छ।

चैत्र २५, २०७६

गणेश साह

काठमाडौँ — विश्वमा जबजब संकट र महामारी आइलाग्छ, त्यसलाई जित्न विज्ञान र प्रविधिको क्षेत्र नै अगाडि बढेको इतिहास छ। हैजा, एड्स, इबोला, सार्स, स्वाइन फ्लुको प्रकोपका बेला पनि विज्ञानले समाधान दिएको थियो। वैज्ञानिकहरु अहिले कोरोना विरुद्धको भ्याक्सिन निर्माणमा जुटेका छन्। महामारी र विज्ञानबीच अन्तरसंघर्ष छ। महामारी संकट हो तर यो एउटा ठूलो अवसर पनि हो।

कोरोना (कोभिड-१९) महामारीविरुद्ध अहिले विश्व नै लडिरहेको छ। विकसित मुलुकहरु पनि यसको प्रभावबाट बच्न सकिरहेका छैनन्।

कोरोना संक्रमणको सम्भावित क्षतिलाई हेरेर सरकारले लकडाउन गरेको छ। नेपालमै पनि हालसम्म ९ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। अहिले नेपालका वैज्ञानिकहरुले काम गरेर देखाउने समय हो। भइरहेको वैज्ञानिक अनुसन्धानलाई प्रयोग गर्ने र नेपालमा कोरोना महामारीबाट कसरी कम क्षति हुन्छ भन्ने कुरामा वैज्ञानिकहरुले ध्यान दिनुपर्छ।

लकडाउन हुँदा रेमिट्यान्स बन्द छ। विदेशिएका नागरिक लकडाउनपछि फर्किन पाएका छैनन्। उनीहरु आएपछि के काम गर्ने? यस्तो अवस्थामा नेपालका वैज्ञानिक समुदायको सक्रियता हिजोभन्दा पनि अहिले बढेको छ। अहिले राज्यले उपयुक्त संयन्त्र निर्माण गर्न आवश्यक देखिएको छ।

नेपालमा वैज्ञानिक र प्राविधिक क्षेत्र आफै पनि क्रियाशील हुने बेला हो यो। केहीले कोरोनासम्बन्धी जानकारी दिने नयाँ एप बनाएका छन्। कसैले सूचना पनि दिइरहेका छन्। कसैले भेन्टिलेटर बनाएका छन्।  माइक्रोबायोलोजी र बायो-टेक्नोलोजीका वैज्ञानिक यसबारे अध्ययन र अनुसन्धान गर्ने र मानिसलाई जानकारी गराउने काममा जुट्नुपर्छ।

के गर्नुपर्छ नेपाली वैज्ञानिकले?
नेपाली वैज्ञानिकहरु कोरोनाको पहिलो फेजदेखि नै सक्रिय हुनुपर्थ्यो। उनीहरुले यो भाइरस के हो भन्ने जस्ता चेतनामूलक सन्देश सञ्चारमाध्यमबाट जानकारी गराउनुपर्छ। भाइरसबारे जनताको भाषामा वैज्ञानिकहरुले बुझाइदिनुपर्छ। सर्वसाधारणलाई दिने सूचना वैज्ञानिकहरुले एकीकृत रुपमा प्रवाह गर्नुपर्छ।

अर्को पक्ष भनेको टेस्टिङ हो। अहिले स्वास्थ्य क्षेत्रका प्रयोगशालामा मात्रै कोरोनाको नमुना परीक्षण भइरहेको छ। अस्पतालको मात्रै होइन अन्य प्रयोगशाला पनि प्रयोग गर्नुपर्छ। तिनमा परीक्षणको दायरा बढाउनुपर्छ। यसका लागि वैज्ञानिक संस्थाहरुले अग्रसरता लिनुपर्ने देखिन्छ। उनीहरुले कुन संस्थामा के उपकरण छ त्यसमा कोभिडको जाँचमा के गर्नुपर्छ भन्ने जानकारी दिनुपर्छ। यसमा बायो सेफ्टीका कुरा पनि आउँछन्। हाम्रा वैज्ञानिकहरुले प्रयोगशालाबीचको समन्वय गर्नुपर्छ।

अहिलेको समय शिक्षा र सचेतना नै महत्वपूर्ण हो। भाइरसबारे अहिले पनि सचेतना र जानकारी राम्रोसँग भएको पाइँदैन। अन्धविश्ववास हटेको छैन। कसैले घरमा बत्ती बालेर, थाल ठटाएर, बलि दिए, पूजा गरेर कोरोना भगाउने भन्दै हिँडेको अवस्था छ। महामारीका बेला वैज्ञानिकलाई त चुनौती हुन्छ भने हाम्रो जस्तो मुलुकका नागरिक भगवान्‌को शरणमा जान्छन्। अन्धविश्वास र रुढीवाद तोड्ने कुरामा वैज्ञानिकहरुको भूमिका महत्वपूर्ण छ।

अर्को पक्ष, महामारीका बेला नेपालका वैज्ञानिकलाई कसरी संलग्नता गराउने भन्ने पनि हो। विभिन्न विश्वविद्यालयबीच समन्वय गर्ने, अनुसन्धानको सक्रियता बढाउने, प्रयोगशालाबीच समन्वय र सूचना आदानप्रदान गराउनेतर्फ लाग्नुपर्छ। यसमा विपद् व्यवस्थापन पनि जोडिन्छ। हिजो, आज र भोलि हामीले के गर्‍यौं र अब कसरी जानुपर्छ भन्ने विषयमा सोच्नुपर्छ।

हाम्रा वैज्ञानिकले राजनीतिक नेतृत्वलाई विज्ञान र प्रविधिको प्रयोग र उपयोगबारे बुझाउने अवसर पनि हो यो। वैज्ञानिक समुदायको सक्रियता बढ्यो भने राजनीतिक नेतृत्वले पनि समन्वय गर्न थाल्छन्। यसबाट विज्ञान, प्रविधि र नवप्रवर्द्धनको क्षेत्रमा नेतृत्वले अनुसन्धानात्मक क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्ने अवस्था सिर्जना हुन्छ। 

राजनीतिक नेतालाई घचघच्याउने उपयुक्त समय पनि अहिले नै हो। विज्ञान मानवतासँग जोडिएकाले यसले कुनै जातधर्म भन्दैन। तसर्थ वैज्ञानिकहरुको सुझाव उनीहरुले लिन सक्छन्। अहिले नेपालका सबै वैज्ञानिक एक ठाउँमा उभिएर राजनीतिक नेतृत्वलाई कार्यक्रम बनाउन दबाब दिन पनि सकिन्छ।

अहिले विशुद्ध विज्ञानमा लगानी कम छ। विद्यार्थी घट्न थालेका छन्। राष्ट्रिय विज्ञान, प्रविधि र नवप्रवर्द्धन नीति-२०७६ लाई टेकेर राज्यले केही संरचना बनाउन आवश्यक छ।
राजनीतिक दलले उचित किसिमकले वैज्ञानिकलाई प्रोत्साहित गर्न सक्नुपर्छ। अबको विश्व नलेज इकोनोमीको हो। ज्ञान र वृद्धिमा आधारित अर्थतन्त्र। साइन्स डिप्लोमेसीलाई कसरी अगाडि बढाउने भन्नेतिर पनि हाम्रो नेतृत्व जानुपर्छ।

विज्ञान प्रविधि मन्त्रालयले विज्ञान, प्रविधि नीतिमा रहेर महामारीका बेला प्रविधिको उच्चतम प्रयोग गर्ने बेला हो। अन्तिम समयमा बनेका नीतिहरु राम्रा छन् तर कार्यान्वयन गर्न राज्यले उपयुक्त संयन्त्र बनाउनेतिर ध्यान दिएको छैन। विज्ञान र तथ्यको आधारमा राज्यले नीति बनाउनुपर्छ। अहिले समय अनुकूल छ। नेपाली वैज्ञानिकलाई ठूलो अवसर आएको छ।


(पूर्व वातावरण, विज्ञान तथा प्रविधिमन्त्री शाहसँग कान्तिपुरका गोविन्द पोखरेलले गरेको कुराकानीमा आधारित)

कोरोना भाइरस

गणेश

Link copied successfully