रामेछापमा एमालेबाट माधव ढुङ्गेल, रास्वपाबाट डा. कृष्णहरि बुढाथोकी उम्मेदवार तय भइसकेका छन्। कांग्रेसले सोमबार साँझसम्म उम्मेदवार टुङ्ग्याउने तयारी गरेको छ ।
What you should know
रामेछाप — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय हुन थालेपछि जिल्लामा चुनावी माहोल बढ्दै गएको छ।
रामेछापमा एमालेबाट माधव ढुङ्गेल, रास्वपाबाट डा. कृष्णहरि बुढाथोकी उम्मेदवार भइसकेका छन्। कांग्रेसले सोमबार साँझसम्म उम्मेदवार टुङ्ग्याउने तयारी गरेको छ ।
शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले ढुङ्गेललाई उम्मेदवार तोकेको हो । एमाले केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्जसमेत रहेका ढुङ्गेललाई पार्टीले पहिलो पटक प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो ।
जिल्ला कमिटी र बागमती प्रदेश कमिटीले सिफारिस गरेका आठ सम्भावित उम्मेदवारमध्ये केन्द्रीय सचिवालयले अन्ततः ढुङ्गेललाई उम्मेदवार चयन गरेको हो ।
उम्मेदवार बनेपछि प्रतिक्रिया दिँदै ढुङ्गेलले आफू सङ्घर्ष र निरन्तरताबाट राजनीतिमा स्थापित भएको बताएका छन् । ‘मेरा दुःख र सङ्घर्षका कथा नजिकबाट बुझ्नेलाई थाहा छ,’ उनले भने, ‘म धुलो–मैलोबाट उठेको गाउँको मान्छे हुँ । अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्ने सेतुका रूपमा काम गर्न सक्छु ।’
कांग्रेसले र नेकपाले भोलिसम्म टुङ्ग्याउने
यता कांग्रेसले रामेछापमा प्रतिनिधिसभा उम्मेदवार सोमबार साँझसम्म टुङ्गो लगाउने जनाएको छ । कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीका अनुसार केन्द्रबाट अन्तिम निर्णय आउन बाँकी छ ।
कांग्रेसतर्फ जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम), नेता भरत चौलागाई, युवराज भट्टराई र गेल्जे शेर्पामध्ये एक जनाले टिकट पाउने चर्चा छ । कांग्रेस जिल्ला समितिले प्रत्यक्षतर्फ १० जनाको नाम केन्द्रमा सिफारिस गरिसकेको छ ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि सोमबारसम्म उम्मेदवार टुङ्गो लगाउने भएको छ । नेकपा रामेछापका नेता तारानारायण श्रेष्ठका अनुसार पार्टीले उम्मेदवार चयन प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । पार्टीको बागमती प्रदेश सचिवालय सदस्य तथा प्रदेश सांसदसमेत रहेका श्रेष्ठले भने, 'अहिलेसम्म उम्मेदवार फाइनल भइसकेको छैन। आज बेलुका वा भोलि बिहानसम्म टुङ्गो लाग्ने अपेक्षा छ ।'
पार्टीभित्र श्यामकुमार श्रेष्ठ र होमबहादुर बुढाथोकीमध्ये एक जनाले टिकट पाउने चर्चा चलिरहेको छ । श्रेष्ठ तत्कालीन माओवादी केन्द्रका नेता हुन् भने बुढाथोकी साविक एकीकृत समाजवादी का नेता हुन् ।
रास्वपाबाट बुढाथोकी उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थशास्त्रमा विद्यावारिधि गरेका कृष्णहरि बुढाथोकीलाई रामेछापबाट प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । रास्वपा जिल्ला उपसभापति मोहन कार्कीका अनुसार उच्च शैक्षिक योग्यता र लामो व्यावसायिक अनुभवका आधारमा बुढाथोकीलाई उम्मेदवार चयन गरिएको हो ।
डा. बुढाथोकीसँग बैङ्क तथा वित्तीय क्षेत्रमा २० वर्षभन्दा बढी कार्य अनुभव छ । उनी वित्तीय क्षेत्रका समस्या पहिचान तथा समाधानका लागि अनुसन्धानमूलक कार्यमा समेत संलग्न रहँदै आएका छन् ।
विगत १० वर्षदेखि ‘रामेछाप विकास बहस’ कार्यक्रममार्फत जिल्लाको समृद्धिका लागि उद्यमशीलता, उत्पादन वृद्धि, बजारीकरण तथा सीपमूलक शिक्षाको प्रवर्द्धनमा उनी सक्रिय रहँदै आएका छन् ।
