नारायणगढ-मुग्लिन सडक भोलि दिउँसोबाट मात्रै खुल्न सक्ने सम्भावना

पहिरोको मात्रा निकै ठूलो भएका कारण आज सफा गरेर नसकिने र सबै कुरा सामान्य रहे बिहीबार दिउँसोबाट मात्रै सडक खुल्ने सम्भावना रहेको भरतपुरको डिभिजन सडक कार्यालयले जनाएको छ ।

आश्विन ८, २०८२

रमेशकुमार पौडेल

The Narayangadh-Muglin road is likely to be opened only from tomorrow afternoon

चितवन — नारायणगढ-मुग्लिन सडकको तुइन खोला नजिक हिजो खसेको पहिरो सफा गर्न आज बुधबार बिहान ६ बजेबाट सुरु भएको छ । तर पहिरोको मात्रा निकै ठूलो भएका कारण आज सफा गरेर नसकिने र सबै कुरा सामान्य रहे भोलि बिहीबार दिउँसोबाट मात्रै सडक खुल्ने सम्भावना रहेको भरतपुरको डिभिजन सडक कार्यालयले जनाएको छ ।

चितवन जिल्ला प्रशासन कार्यालयले नारायणगढ-मुग्लिन सडक हुँदै यात्रा नगर्न सजग हराउँदै हिजो साँझ वैकल्पिक रुटहरू पनि सार्वजनिक गरेको छ । 


कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले पहिरोको दुवै तर्फबाट मेसिनले काम सुरु गरेको बताए । पहिरोका कारण सडकमा ढुंगा र गेग्र्यानहरूको पहाड बनेको छ । झन्डै १२ देखि १४ हजार घन मिटर ढुंगामाटो सडकमा थुप्रिएको इन्जिनियर आचार्यले जानकारी दिए । यो निकै ठूलो परिमाण हो ।


माथिबाट तत्कालै ठूलो पहिरो झर्ने जस्तो नदेखिए पनि झर्न बाँकी रहेका ढुङ्गाहरू बेला बेलामा खस्ने गरेका कारण मेसिन अपरेटरहरूले आफू पनि जोगिँदै पहिरो हटाइ रहेका छन् । सडकमा आफूखुसी गाडी नराख्न पनि डिभिजन सडक कार्यालयले अपिल गरेको छ ।


गत शुक्रबार साँझ पहिरो खसेपछि ठप्प भएको नारायणगढ-मुग्लिन सडक ४५ घण्टापछि आइतबार दिउँसोबाट एकतर्फी खुलेको थियो। मंगलबार दिउँसोबाट दुईतर्फी खुले पनि ढुंगा झर्न नछाडेपछि खुल्ने बन्द हुने भएको थियो ।


शुक्रबार गएको पहिरोको प्रभाव राम्रोसँग हट्न नपाउँदै सोही तुइन खोलामा मंगलबार दिउँसो पाँच बजे तिर फेरि ठूलो पहिरो आएको हो । नारायणगढ-मुग्लिन सडक संघीय राजधानी काठमाडौँ र पर्यटकीय सहर पोखरालाई पूर्व पश्चिम महेन्द्र राजमार्गसँग जोड्ने मुख्य मार्ग हो । यो सडक हुँदै दिनहुँ १० हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्दछन् ।


दसैँ आएका कारण काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूको कारण सडकमा अझ धेरै गाडीहरू ओहोरदोहोर गरेका छन् । यही समयमा पहिरोले लामो समय बाटो बन्द हुँदा यात्रुको बिचल्ली भएको छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully