मलेखु-मुग्लिनखण्डको जवाङ खोलामा सुख्खा पहिरो,एकतर्फी सडक खुल्न अझै समय लाग्ने

देशका अन्य स्थानका ठूला राजमार्ग र सडकमा अहिलेसम्म कुनै ठूलो समस्या नभएको सडक विभागले जनाएको छ

आश्विन ७, २०८२

विमल खतिवडा

Dry landslide in Jawang river of Malekhu-Muglinkhand, one-way road will take more time to open

काठमाडौँ — नागढुंगा–मुग्लिन सडकअन्तर्गत धादिङको जवाङखोला नजिकै सुख्खा पहिरो खसेपछि सवारी आवागमन ठप्प बनेको छ । सोमबार राति ११ बजे पहिरो खसेसँगै सवारी आवागमन अवरुद्ध बनेको हो । राति ढुंगा खसेर लाग्ने जोखिमले गर्दा पन्छाउन नसकिएको सडक विभागले जनाएको छ ।

अहिले दुवैतिरबाट पहिरो पन्छाउने काम भइरहेको र थप पहिरो नखसे दिउँसो एक बजेभित्र एकतर्फी सडक सञ्चालनमा ल्याइने मलेखु–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले बताए । ‘नारायणगढ–मुग्लिन सडकअर्न्तगत तुइनखोलाको पहिरो पन्छाउन नपाउँदै मौवाखोलाबाट डेढ किलोमिटर धादिङतर्फ जवाङ खोलानजिकै पहिरो खसेर समस्या भएको छ,’ उनले भने, ‘अहिले यातायात ठप्प छ,ठूलो चट्टानसहितको सुख्खा पहिरो खसेको छ, पन्छाउने काम जारी छ ।’

स-साना पहिरो अहिले पनि झरिरहेको उनको भनाइ छ । यता नागढुंगा–मलेखु खण्डमा पनि स-साना पहिरो खसे पनि यातायात सञ्चालन भइसकेको नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । ‘यो खण्डमा धेरै समस्या छैन,पहिरो खस्ने सम्भावित जोखिम क्षेत्रमा मेसिन र प्राविधिक जनशक्ति तैनाथ अवस्थामा राखिएको छ,’ उनले भने, ‘ससाना पहिरो खसेका भए पनि समस्या छैन, दुईतर्फी यातायात सञ्चालनमा छ ।’ उनले दसैंको घटस्थापना सुरु भइसकेकाले उपत्यकाबाट बाहिरिने सवारी चाप बढेका कारण त्यहीअनुसार सडक सहज बनाउने काम भइरहेको छ । यो सडक भएर दैनिक १५ हजार बढी सवारी साधन ओहोरदोहोर गर्ने गर्छन ।

Dry landslide in Jawang river of Malekhu-Muglinkhand, one-way road will take more time to openनागढुंगा–सिस्नोखोला सुरुङमार्गबाट दसैंमा यात्रुवाहक सवारी साधन चलाउनेबारे परामर्शदाता र निर्माण कम्पनीसँग छलफल गरेर मात्र निर्णय गरिने सडक विभागले जनाएको छ । सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता प्रभातकुमार झाका अनुसार अरनिको राजमार्गको कोदारी खण्ड सोमबार दिउँसोबाट सञ्चालनमा आएको छ । त्यहाँ अहिले कुनै समस्या नरहेको विभागको भनाइ छ । उक्त सडक खण्ड साउन १७ गतेदेखि अवरुद्ध थियो । जसले गर्दा तातोपानी नाका ठप्प बनेको थियो ।

सडक खुलेसँगै तातोपानी नाकाबाट दसैंका लागि सामान भित्रिन थालेका छन् । ठूला र लामा कन्टेनर ओहोरदोहोर गर्ने सडक भएकाले यसलाई सुधार गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय दोलखाका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘सडक खुलिसकेको छ, सामान बोकेका ठूला कन्टेनर हिँड्ने सडक भएकाले अझै यसलाई सुधार गर्ने काम गरिरहेका छौं,’ उनले भने, ‘मंगलबार चीनबाट सामान लिएर नेपाल आएका ५७ वटा कन्टेनरलाई यो सडकबाट पार गराउँदै छौँ ।’ उनका अनुसार अहिले पानी तर्काउने काम पनि भइरहेको छ । तर ठूलो पानी परेमा भने पहिरो खस्ने जोखिम कायमै छ ।

अघिपछि र विशेष रूपमा चाडबाडमा यात्रुले सास्ती खेप्ने गरेको नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा अहिलेसम्म कुनै समस्या नरहेको आयोजना कार्यालयले जनाएको छ । यस खण्डमा पानी पर्दा उकालोमा सवारी साधन चिप्लिने र रोकिने समस्या छ । यस्तो समस्या आए तत्काल समाधान गर्न मेसिन र प्राविधिक जनशक्ति खटाइएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । उनका अनुसार बीपी राजमार्गमा पनि कुनै समस्या छैन ।

गत वर्षको असोजमा आएको बाढीले १२ किलोमिटर सडक बगाउँदा बीपी राजमार्ग भएर ओहरदोहर गर्ने यात्रु मारमा परेका थिए । दसैंका बेला यो राजमार्ग भएर करिब १० हजार सवारी साधन ओहोरदोहोर गर्छन् ।

४५ घण्टासम्म बन्द रहेको नारायणगढ–मुग्लिन सडकको तुइनखोलामा एकतर्फी यातायात सञ्चालनमा छ । स-साना ढुंगा माथिबाट झरिरहेको र पहिरो खसेर सवारी अवरुद्ध नरहेको विभागले जनाएको छ । देशका अन्य स्थानका ठूला राजमार्ग र सडकमा अहिलेसम्म कुनै ठूलो समस्या नदेखिएको पनि विभागको भनाइ छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully