नारायणगढ-मुग्लिन सडक : तुइनखोलामा किन खसिरहन्छ पहिरो ?

२०७२ को भूकम्प र मुख्य सडक भन्दामाथि बस्ती जोड्न जथाभावी अव्यवस्थित रूपमा खनिएका सहायक सडकका कारण पनि नारायणगढ –मुग्लिन सडक खण्डमा पहिरोको समस्या प्रत्येक वर्ष थपिँदै गएको विज्ञहरू बताउँछन् । 

आश्विन ६, २०८२

विमल खतिवडा

Narayangadh-Muglin Road: Why landslides keep falling in Tuinkhola?

काठमाडौँ — नारायणगढ–मुग्लिन सडकमा केही वर्षयता विभिन्न खण्डमा पहिरो खसेर समस्या थपिरहेको छ । पहिरोकै कारण यात्रु बस पुरिने, बग्ने र यात्रुको जान जाने गरेको छ । कतिपय अवस्थामा गुडिरहेको सवारी साधनमा सडक माथिबाट ढुंगा खसेर समेत यात्रु, चालकको ज्यान जाने गरेको छ ।

शुक्रबार साँझ मुग्लिनबाट दुई किमिको दूरीमा रहेको तुइनखोला नजिकै पहिरो खस्दा फेरि समस्या थपिएको छ । तुइनखोलमा ठूला ढुंगासहित पहिरो खसिरहँदा तत्काल पन्छाएर यातायात सञ्चालनमा ल्याउन समस्या भएको थियो । दसैंको मुखमा पूर्व–पश्चिमका लागि काठमाडौंबाट हिँडेका यात्रुबीच सडकमै रोकिन बाध्य भए ।

अझै यसरी रोकिएका सवारी साधन गन्तव्यमा पुग्न पाएका छन् । ४५ घण्टामा उक्त सडक आइतबार दिउँसोबाट एकतर्फी रूपमा सञ्चालनमा आए पनि स्थानीय प्रशासनले पहिरोको जोखिम कायम रहेको भन्दै आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म सवारी आवागन रोकिदियो । चुम्लिङटारदेखि मुग्लिनसम्म र जुगेडी, नारायणगढदेखि भरतपुर गोन्द्राङसम्म रोकिएका सवारी साधन कट्न पाएनन् । थोरै संख्यामा मात्र सवारीसाधन वारपार भए ।

अझै सवारी साधन सडकमा अलपत्र अवस्थामा छन् । जथाभावी सवारी साधन रोकेर राख्दा कुरिनटार हुँदै पोखरा जाने गाडी पनि बीच सडकमै अलपत्र परे । सडक विभागका अनुसार मुग्लिन–पोखरा सडकमा कुनै समस्या छैन । यो वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले माइकिङ गरेर चालक र यात्रुलाई आग्रह गर्दै आएको छ ।

किन खसिरहन्छ तुइनखोलामा पहिरो ?

तुइनखोलामा किन पहिरोको जोखिम बढिरहेको छ ? भन्ने प्रश्नमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख सुभराज न्यौपाने भन्छन्, ‘मुग्लिनबाट नारायणगढतर्फ लाग्दै गर्दाको खण्डमा भौगोलिक बनावट निकै नै जटिल र अप्ठ्यारो छ ।’ उनका अनुसार नारायणगढ –मुग्लिन सडक खण्डमा पहिरोको समस्या प्रत्येक वर्ष थपिँदै जानुको एउटा कारण २०७२ सालको भूकम्पको असर, अर्को कारण मुख्य सडक भन्दामाथि बस्ती जोड्न जथाभावी अव्यवस्थित रूपमा खनिएका सहायक सडक पर्छन् । यसरी खनिएका सडकका कारण कस्तो क्षति पुग्छ भन्ने उदाहरण गत वर्ष यही सडक खण्डमा पर्ने सिमलतालमा गुडिरहेका दुईवटा यात्रु बस बगाएका उदाहरण नै काफी छ ।

Narayangadh-Muglin Road: Why landslides keep falling in Tuinkhola?तस्बिर : सडक डिभिजन कार्यालय, भरतपुर

त्यस्तै सडक विस्तार गर्ने क्रममा क्षति पुगेका र चिरा परेर बसेका पहाड रहिरहेकाले नयाँ–नयाँमा खस्ने गरेको पाइएको छ । ‘तुइनखोलामा जोखिम कायमै छ, दुईतर्फी सडक सञ्चालनमा ल्याउनसाथ के कारणले समस्या आयो भन्नेबारे अध्ययन थालिहाल्छौं,’ उनले भने, ‘त्यसपछि सुधारको काम थाल्छौं, अर्को बर्खामा यस्तो समस्या आउन दिदैंनौं ।’ न्यौपाने सडक खुलाउनकै लागि सडक विभागबाट मुग्लिन पुगेका हुन् । त्यस्तै सडक डिभिजन भरतपुर कार्यालयको टोली मेसिन र प्राविधिक जनशक्तिसहित परिचालित छ ।

यस सडक खण्डमा नयाँ–नयाँ ठाउँमा पहिरो खस्न थालेको पहिरो पन्छाउने काममा खटिरहेका न्यौपानेले टेलिफोनमा सुनाए । ‘नारायणगढदेखि मुग्लिनसम्मको सडक पहिला दुई लेनको सडक थिएन,सवारी चापलाई ध्यान दिदैं यसलाई अहिले दुई लेनको बनायौं,’ उनले भने, ‘भइरहेका स्लोभहरु बिग्रिए,यस्तो बिग्रिएको र जोखिमयुक्त मानिएका स्लोभहरू सुधार गर्‍यौँ, जोखिम नभएको सबै ठाउँमा सुधार गर्न पनि सम्भव भएन ।’ २६ किलोमा पनि पहिरोको समस्या आइरहेको उनले बताए । अहिले त्यो ठाउँमा समस्या छैन ।

यो सडक भएर दैनिक ११ हजारभन्दा बढी साना–ठूला सवारीसाधन ओहोरदोहोर गर्ने गरेको तथ्यांक सडक डिभिजन कार्यालय भरतपुरसँग छ । मुलुकको ‘लाइफलाइन’ सडकमा रूपमा परिचित नारायणगढ–मुग्लिन सडक ठप्प हुँदा काठमाडौं उपत्यकामा दैनिक उपभोग्य वस्तु अभाव हुन्छ । यस सडक भएर पूर्व–पश्चिमका लागि यात्रुवाहक सवारी जान्छन् । दैनिक उपभोग्य वस्तु यही सडक भएर राजधानी भित्रिन्छ । चाडबाडको मुखमा सडक बन्द हुँदा समस्या थपिएको हो ।

विश्व बैंकको २ अर्ब ९० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा २०१५ अप्रिल २० बाट यो सडकको दुई लेनमा स्तरोन्नति थालिएको थियो । पछि सन् २०१८ अगस्टमा स्तरोन्नति सकेर सडक डिभिजन कार्यालय भरतपुर, चितवनलाई हस्तान्तरण गरियो । यो बेलासम्म चार वटा पुल मात्र निर्माण भए भने १५ वटा पुल बनेकै थिएनन् । अहिले यस खण्डमा १९ वटा नयाँ पुल निर्माण गरिएको छ । पूरा पुल पनि चालु छन् । सडक डिभिजन भरतपुरका अनुसार पुल पनि विश्व बैंकको १ अर्ब २७ करोड रुपैयाँ सहुलियतपूर्ण ऋणमा बनेका हुन् ।

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully