मकवानपुर — मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदमा हुने स्थानीय तह उपनिर्वाचनका लागि १४ जनाले मनोनयन दर्ता गराएका छन् ।
उपनिर्वाचनअन्तर्गत आइतबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १४ जनाले मंसिर १६ गते हेटौंडा–१२ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् । उनका अनुसार, वडाध्यक्ष पदका लागि कांग्रेसको तर्फबाट अर्जुनप्रसाद तिवारी, एमालेबाट राजेश नगरकोटी, माओवादी केन्द्रको तर्फबाट रविन प्रधान, राप्रपाको तर्फबाट प्रेमबहादुर भ्लोन लामा, एकीकृत समाजवादीको तर्फकाट बलराम बलले मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आशाबीर बल, नेमकिपाबाट फुलमाया तितुङ र जसपाबाट छबिलाल वाइबा, दीपा लामाले पनि मनोनयन पत्र दर्ता गराएका छन् । स्वतन्त्र तर्फबाट युनेश लामा स्याङ्तान, अर्जुन घलान, कुमार पोखरेल, गीता कुमारी नेवार र छत्रप्रकाश अधिकारीले वडाध्यक्ष पदका लागि मनोनयन पत्र दर्ता गराएका हुन् ।
बागमती प्रदेश, निर्वाचन कार्यालयका प्रमुख अधिकृत हरिप्रसाद ढकालले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएकाहरुको नामावली भने विवरण छानबिन गरी मंसिर ५ गते अपराह्नमा सार्वजनिक गर्ने बताए । उनले मनोनयन दर्ता गराएकाहरुले नाम फिर्ता लिनका लागि सोही दिन ३ देखि ५ बजेसम्म समय तोकिएको बताए ।
गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा भएसँगै यस वडामा उपनिर्वाचन हुन लागेको हो ।
