आइतबार साँझसम्म काभ्रेमा मृत्यु हुनेको संख्या ६६ पुग्यो
काभ्रे — गत बिहीबारदेखि शनिबारसम्मको निरन्तर वर्षापछिको बाढीपहिरोबाट काभ्रेका रोशी, तेमाल, पनौती, बेथानचोकलगायत पालिका बढी प्रभावित भएका छन् । जिल्लाका पालिकाबाट प्राप्त तथ्यांकअनुसार आइतबार साँझसम्म काभ्रेमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ । प्रहरीले भने ३४ जनाको मात्र मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।
आइतबार साँझसम्मको प्रहरी तथ्यांकअनुसार १९ जना बेपत्ता र ४२ जना घाइते छन् । जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बाढीपहिरोका कारण जिल्लाका दुई वटै राजमार्गसहित ग्रामीण सडकहरू अवरुद्ध भएकाले घटना भएका सबै ठाउँमा पुग्न नसक्दा मानवीय क्षतिकै यकिन विवरण संकलन हुन नसकेको बताइन् । ‘सडकसहित अधिकांश ठाउँमा सञ्चार र विद्युत्सेवा पनि बन्द छन्, त्यसैले सबै स्थानमा अझै पुग्न सकेका छैनौं,’ उनले भनिन्, ‘उद्धार र खोजीको प्रयास जारी छ ।’
रोशी गाउँपालिकामा बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको पालिका अध्यक्ष दिनेश लामाले बताए । तेमाल गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ । पालिका अध्यक्ष चन्द्र लामाका अनुसार वडा–२ स्थित चुखामा एकै परिवारका ८ जनाको ज्यान गएको छ ।
पनौती नगरपालिकामा १२ जनाको मृत्यु भएको पनौती नगरप्रमुख रामशरण भण्डारीले बताए । उनका अनुसार मृत्यु हुनेमा १ जना विदेशी पर्यटकसमेत छन् । नगरका विभिन्न स्थानबाट १७ जना बेपत्ता भएको उनले बताए । बेथानचोक गाउँपालिकामा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार ४ जना बेपत्ता छन् । बनेपामा बाढीपहिरोबाट ३ जनाको मृत्यु भएको नगर उपप्रमुख विमला सापकोटा दाहालले बताइन् ।
मण्डनदेउपुर नगरपालिकामा ७ जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिकामा ३, नमोबुद्ध नगरपालिकामा ४, भुम्लु र खानीखोला गाउँपालिकामा १–१ जनाको ज्यान गएको छ । चौंरीदेउराली गाउँपालिकामा बाढीपहिरोमा परी ३ जनाको मृत्यु भएको पालिकाले जानकारी दिएको छ्र । पाँचखाल नगरपालिका र महाभारत गाउँपालिकामा कुनै मानवीय क्षति नभएको जनप्रतिनिधिले जानकारी दिएका छन् ।
