सडक पुनर्निर्माणमा तीव्र गति आवश्यक

सरकारले सडक मर्मत तथा पुनर्निर्माणलाई आफ्नो नियमित दायित्वका रूपमा लिनुपर्छ । यसले सानातिना क्षति तत्काल सम्बोधन हुन्छन् र त्यसमार्फत ठूलो क्षति निम्तिन दिँदैनन् ।

आश्विन १४, २०८१

सम्पादकीय

Urgent speed is needed in road reconstruction

दसैं नजिकिएको समयमा भएको भारी वर्षा र त्यसबाट सिर्जित बाढी तथा पहिरोका कारण देशभरका सडक सञ्जालमा क्षति पुगेको छ । काठमाडौंलाई विभिन्न कोणबाट जोड्ने राजमार्गहरूमा पनि क्षति पुगेका कारण यात्रुलाई समस्या भएको छ । दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुहरूको चाप बढी हुने गर्छ । त्यसको क्रम सुरु भइसकेको थियो ।

सडक अवस्था सहज हुँदासमेत दसैं आसपासको यात्रा कष्टकर हुने विगतको अनुभव छ । यस पटक भने सडक र पुलहरू भत्किएका कारण दसैंको यात्रा कष्टकर मात्रै होइन, जोखिमपूर्ण पनि हुने आकलन गर्न सकिन्छ । त्यसैले सम्बन्धित सबैले यस पाटोतर्फ गम्भीर हुन आवश्यक छ ।

काठमाडौं जोड्ने नागढुंगा–मुग्लिन, दक्षिणकाली–सिस्नेरी, कान्ति राजपथ, अरनिको र बीपी राजमार्गका विभिन्न ठाउँको सडक अवरुद्ध भएको छ । त्यस्तै, मध्यपहाडी राजमार्ग, त्रिभुवन राजपथ, मिर्चैया–कटारी–घुर्मी, सहिद मार्ग रोल्पा, भेरी कोरिडोर, सालझन्डी–सन्धिखर्कलगायत सडकका विभिन्न स्थानमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ । सिन्धुली खुर्कोटस्थित सुनकोशी नदी पुलको बायाँतर्फको स्पान पूर्ण रूपमा क्षति भएको छ । सडक तथा पुलमा पुगेका क्षतिका विवरणहरू अझै बृहत् बन्न सक्छन् । मूल कुरा के हो भने सडकमार्गमा क्षति पुगेको छ र तत्काल मर्मत तथा पुनर्निर्माण गर्नुपर्ने भएको छ । सरकारले केही दिनमै सहज रूपमा सवारी गुड्ने स्थिति बनाउनका लागि आफ्नो शक्ति प्रयोग गर्न आवश्यक छ ।

पर्वतीय देश भएकाले हामीकहाँ सडक निर्माणमै चुनौती छ र ढिलाइ हुने गरेको छ । लागत पनि बढी हुने गरेको छ । बल्लबल्ल निर्माण पूरा हुने सडकमा पनि सुरक्षाका मापदण्ड भरपर्दो हुने गरेका छैनन् । गुणस्तरमा प्रश्न उठ्ने गरेका छन् । यस्ता सडकहरूमा प्राकृतिक विपत्तिले सहजै क्षति पुर्‍याउने गरेका छन् । शुक्रबार र शनिबारको भारी वर्षापछिको क्षति पछिल्लो उदाहरण मात्रै हो । तर, हामीकहाँ निर्माणमा जति ढिलाइ हुन्छ, पुनर्निर्माणमा पनि त्यही प्रवृत्ति दोहोरिन्छ । यद्यपि सरकारी अधिकारीहरूले झरी रोकिनेबित्तिकै बाटो खुलाउन यथाशक्य प्रयत्न गर्ने बताएका छन् । आइतबारदेखि नै झरी रोकिएकाले अब सडकमार्गलाई अविच्छिन्न बनाउनका लागि सरकारले आफ्नो प्रयत्नलाई तीव्र बनाउन आवश्यक छ । दसैं जस्तो समयसन्दर्भ भएकाले पनि सरकारको उच्च प्राथमिकता अपेक्षित छ ।

सरकारले सडक मर्मत तथा पुनर्निर्माणलाई आफ्नो नियमित दायित्वका रूपमा लिनुपर्छ । यसले सानातिना क्षति तत्काल सम्बोधन हुन्छन् र त्यसमार्फत ठूलो क्षति निम्तिन दिँदैनन् । पछिल्लो पटकको जस्तो विपत्तिले पुर्‍याउने क्षतिले आवागमन पूर्ण रूपमा अवरोध नहोस् भन्नका लागि ठाउँठाउँमा वैकल्पिक राजमार्गहरू पनि निर्माण गरिनुपर्छ । यो तत्कालका लागि भन्दा पनि दीर्घकालीन महत्त्वको विषय हो । पछि पनि निम्तिन सक्ने विपत्तिको पूर्वआकलन गरेर सरकारले यसबारे योजना बनाउनुपर्छ । नागढुंगा–नारायणगढ सडकखण्डमा हुने सवारी चाप, पहिरोले पुग्ने अवरोध तथा बारम्बारका दुर्घटनाका कारण त्रिशूलीपारि समानान्तर वैकल्पिक सडक बनाउने योजना अघि बढेको भए पनि मुआब्जा बढी दिनुपर्ने कारणले सरकार पछि हटेको थियो । अब समानान्तर सडक निर्माणका लागि सरकार अग्रसर हुनुपर्छ । पछिल्लो क्षतिले पनि देखायो, मुआब्जाभन्दा दुर्घटनाबाट पुग्ने क्षति यति बढी हुन्छ कि तुलना नै गर्न सकिँदैन । यस्तै आवश्यकता अन्य राजमार्गको हकमा पनि बोध हुन्छ । सबै ठाउँमा पूरापूर वैकल्पिक सडक निर्माण गर्न सम्भव वा आवश्यक नपर्न सक्छ । तर, कहाँकहाँ पर्छ भन्ने अध्ययन गरेर निर्माण कार्य अगाडि बढाउनुपर्छ ।

दसैंको बेलामा यात्रा गर्दा नागरिकले पनि सुरक्षा संवेदनशीलतालाई कमै मात्र महत्त्व दिने गरेको पाइन्छ । जसरी पनि यात्रा गर्नुपर्ने सोचका कारण पनि सवारी साधनहरूको मात्रै होइन, सवारी साधनभित्र पनि यात्रुको चाप हुने गर्छ । जसकारण चाडपर्वका बेलामा बर्सेनि सडक दुर्घटनाका खबर सार्वजनिक हुने गर्छ । यस पटक त ठाउँठाउँका सडक भत्किएकै छ ।

तत्कालको विवेक र साधनस्रोतका भरमा कामचलाउ पुनर्निर्माण गरिने सम्भावना बढी हुन्छ । त्यसैले पनि दुर्घटनाको सम्भावना बढी छ । सडक मात्रै होइन, असारयताका निरन्तर वर्षाले थिलथिलो बनाएको भूगोललाई पछिल्लो भारी वर्षाले झनै कमजोर तुल्याएको छ । अब लाग्ने घामका कारण भूक्षयको जोखिम पनि बढ्छ । खासगरी सडकमार्गमा सुक्खा पहिरोको जोखिम बढ्छ । त्यसले पनि सडक अवरोध तथा दुर्घटना निम्त्याउन सक्छ । त्यसैले पनि यात्रा गर्नुअघि सडकको अवस्था तथा सम्भावित जोखिमहरूको विश्लेषण गर्नु बुद्धिमानी हुन्छ । सरकारले पनि आफ्नो सूचना र जानकारी प्रवाह गर्ने प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully