नदीले कटान गरेका र सडक भासिएका स्थानमा ‘डाइभर्सन’ बनाएर यातायात सञ्चालन
सिन्धुली — बाढीपहिरोले अवरुद्ध बीपी राजमार्गका नेपालथोक–खुर्कोट, खुर्कोट–सिन्धुलीमाडी र सिन्धुलीमाडी–बर्दिवास खण्ड सञ्चालनमा आएका छन् । धुलिखेल–नेपालथोक खण्ड खुलाउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ ।
सुनकोशी गाउँपालिका–३, कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नं. ७, कानढुंग्रीमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि नेपालथोक–खुर्कोट खण्डमा सवारीसाधन चल्न थालेका हुन् । कमेरेफाँट र कानढुंग्रीमा एकतर्फी सवारीसाधन सञ्चालन भएको छ ।
नेपालथोक–खुर्कोट खण्डमा पहिरो खसेर, सुनकोशी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो । अन्य खण्डमा पहिरो पन्छाएर यातायात सेवा खुलाइएको हो । राजमार्गमा कतै पहिरो खसेर, केही ठाउँमा सुनकोशी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो ।
दर्जनौं स्थानमा पहिरो गएपछि मध्यपहाडी लोकमार्गको सिन्धुली खण्डमा भने यातायात अवरुद्ध नै छ । मदन भण्डारी राजमार्ग भने सञ्चालनमा आएको सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । रोशी खोलाले नेपालथोक प्रहरी चौकी अगाडि करिब ६० मिटर सडक बगाएको छ भने काभ्रेतर्फ दर्जनौं स्थानमा पहिरो खसेको छ । त्यस क्षेत्रमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।
नेपालथोकदेखि बर्दिबाससम्म यातायात सञ्चालन हुन थालेकाले त्यसलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ । मदन भण्डारी राजमार्गबाट हेटौंडा हुँदै काठमाडौं जान सकिन्छ । प्रहरीको प्रारम्भिक तथ्यांकअनुसार सिन्धुलीमा बाढीपहिरोले एक सयभन्दा बढी घर बगाएको छ भने तीन सय हाराहारी घर डुबेका छन् ।
तामाकोशी बाँधबाट बेपत्ता दुईको शव फेला
माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँधस्थलमा पहिरोले शनिबार पुरेका ४ मध्ये २ जनाको शव फेला परेको छ । शवको सनाखत भने हुन सकेको छैन । बेपत्ता अन्य २ को खोजी सोमबार गरिने प्रहरीले जनाएको छ । विद्युत् गृहमा क्षति गरेपछि ४ सय ५४ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन ठप्प भएको छ ।
