झ्याप्ले खोलामा भवितव्य कि लापरबाही ?

शुक्रबार साँझ नै पहिरोका कारण जाममा परेका यात्रुलाई उद्धार गर्ने कोसिस गरेको भए सायद यति ठूलो घटना हुँदैन थियो, सुरुङ मार्गबाट शनिबारदेखि उद्धार गर्न मिल्ने थियो भने शुक्रबार नै त्यसको पहल नगरिएको भन्दै यात्रुहरू आक्रोशित

आश्विन १४, २०८१

विमल खतिवडा

Destiny or carelessness in Jhaple River?

झ्याप्ले खोला — नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए । झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ । नागढुंगा सुरुङ पार गरेर काठमाडौंतर्फ अगाडि बढ्दा तीन घुम्ती पार गरेपछिको चौथो घुम्ती हो, झ्याप्ले खोला ।

उपत्यकाबाट नजिकै रहे पनि बिहीबार दिउँसोदेखिको अविरल वर्षाले धादिङ–काठमाडौं सडक खण्डको दर्जनौं स्थानमा साना–ठूला पहिरो र लेदो बग्न थालिसकेका थिए । पहिरो छिचोल्दै झ्याप्ले खोलासम्म पुगेका गाडीहरू त्यहाँभन्दा अगाडि बढ्न सक्ने अवस्था भने थिएन ।

शुक्रबार बिहानदेखि झन् ठूलो पानी दर्किन थालेपछि यात्रुसहितका सवारीसाधन बाटोमै अलपत्र पर्न थालिसकेका थिए । सयौं सवारी झ्याप्ले खोलादेखि नागढुंगा चेकपोस्टसम्म रोकिएका थिए । छोटो दूरीमै करिब २३ वटा साना–ठूला पहिरो झरेका थिए । सबैभन्दा ठूलो पहिरो भने झ्याप्ले खोलाको खोल्साभन्दा ३० मिटर अगाडि खसेको थियो । जसका कारण झ्याप्ले खोलाभन्दा अगाडि बढ्न मिल्ने अवस्था थिएन । यात्रुसहितका सवारीसाधन बीच सडकमै थिए । 

Destiny or carelessness in Jhaple River?तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

अविरल झरी र पहिरोका कारण रात छिप्पिँदै जाँदा यात्रुहरूमा हतास बढ्दै थियो । तर, रोकिएको सवारीमै रात कटाउनुको विकल्प यात्रीहरूसँग थिएन । बाहिर निस्किएर हिँडडुल गर्ने अवस्था पनि नभएका कारण प्रायः सबै गाडीमा नै सुस्ताइरहे । रात छिप्पिँदै जाँदा पानीसँगै मेघ गर्जन पनि भइरहेको थियो । त्रासका बीच गाडीमा निदाउन खोजेकाहरू ब्युँझिन्थे र त्यसै लत्र्याकलुत्रुक्क पर्थे ।

झ्याप्ले खोलाको आडमै रहेको लामा नास्ता खाजा घरकी शान्ति लामालाई पनि त्यो रात निद्रा परेको थिएन । अबेर रातिसम्म यात्रुहरूलाई खाजा नास्ता खुवाइरहेकी उनी होटलभित्र–बाहिर गरिरहेकी थिइन् । आफ्नो होटल भएको ठाउँमा अहिलेसम्म पहिरो खसेको उनलाई यादै छैन । त्यसैले पनि उनी ढुक्क थिइन् । पहिले–पहिले पहिरो कि अलि माथि खस्थ्यो कि त तल । बाटो बन्द भएपछि उनलाई व्यापार गर्न भ्याइनभ्याइ हुन्थ्यो ।

होटलमाथि राम्रैसँगै झाडी र बुट्यानसहित रूख मौलाएर जंगलै थियो । त्यसैले पनि पहिरोको उति डर थिएन । उनका साथमा छोरी अजिता पनि थिइन् । ‘छोरी, दिदी, भदैनी र ममी साथै थिए,’ शान्ति भन्छिन्, ‘अरू सबै निदाइसके पनि पानी परिरहेकाले मलाई निद्रा परेन ।’ तर, त्यो रात किन हो किन उनलाई विपद्को पूर्वाभास भइरहेको थियो । पहिरो खस्छ कि भनेर मन डराउन थालेको थियो । ‘पानी परिरहेको थियो । खोलाहरू सुसाइरहेका सुनिन्थ्यो,’ उनी भन्छिन्, ‘निदाएकाहरूलाई नसुत भन्दै गाली गर्दै बसिरहेकी थिएँ ।’ करिब १ बजेतिर उनी उठेर होटलभन्दा केही माथि पिप्लामोडतर्फ गएर हेरिन् । पहिरोका कारण बाटो छिचोल्न सक्ने अवस्था थिएन । त्यो बेलासम्म होटल नजिकै तीन लाइनमा साना–ठूला गाडी पार्क गरेर राखिएको थियो ।

शान्तिका अनुसार पानी परिरहेकाले पार्क गरेका गाडीका अधिकांश यात्रु तथा चालकहरू झ्यालढोका थुनेर निदाइरहेका थिए । शनिबार बिहान ३–४ बजेतिर ठूलो आवाजसहित पहिरो खस्यो । होटलमा भएका सबै उठेर पिप्लामोडतर्फ भागे । एकै पटक खसेको पहिरोले पूरै बाटो पुर्‍यो । नजिकै रहेका बसका यात्रुहरू चिच्याउन थाले । अन्धकारमा एकाएक सुनिएको चीत्कारले थप भयभीत हुँदै उनीहरू पिप्लामोडबाट माथि घरतर्फ दौडिए । उज्यालो नहुन्जेल त्यहीँ बसे । ‘बिहान उज्यालो भएपछि आएर हेर्दा माथिबाट जंगल नै सोहोरिएर पहाड खसेको रहेछ । बाटोमा ठूलो पहिरो थियो,’ उनले भनिन्, ‘पहिरोले पेलेर दुई ठूला बस तेर्सिएर बसेका थिए । मान्छेहरू थिएनन् ।’

Destiny or carelessness in Jhaple River?(१) झ्याप्ले खोलाभन्दा ३० मिटर अगाडि खसेको पहिरो जसका कारण शुक्रबार साँझदेखि यातायात अवरुद्ध भएको थियो । (२) झ्याप्ले खोलाभन्दा १०० मिटर माथि बाटोमा गएको अर्को पहिरो । त्यो पहिरोको दबाबले झ्याप्ले खोलामा झरेको अर्को पहिरो । (३) पहिरोमा ३ वटा गाडी पुरिएको स्थान । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

बिहान उज्यालो भएपछि उनी होटल पुग्दा प्रहरी पनि आइसकेको थियो । तर, पहिरोले गाडीहरू पुरिएको छ या छैन भन्ने कसैले सोधखोज गरेको उनले भेउ पाइनन् । ‘प्रहरीले नै घाइतेहरूलाई केही माथि लगेर गाडी चढाएर पठाउनुभएको हो,’ उनले भनिन्, ‘धेरै कुरा त याद नै छैन ?’ शनिबार बिहानको घटनापछि अन्यत्र सर्ने निर्णयमा पुगेको उनले बताइन् । 

पहिरोका कारण झ्याप्ले खोलामा गाडीहरू रोकिएर राखिएको छ । त्योभन्दा ठीक सय मिटर माथि बाटो पर्छ । माथिको बाटोमा झरेको पहिरो झ्याप्ले खोलातर्फ झर्ने क्रममा पहाड नै सोहोरिएर खसेको देखिन्छ । एकै पटक पहाडै खसेर पुरेपछि होटल छेउमा रोकिरहेका गाडीका यात्रुहरू चलमलाउनै पाएनन् । बाटोको आडैमा रोकिएका बस र माइक्रोमा भने क्षति पुग्यो, यात्रुहरू घाइते भए । 

झ्याप्ले खोलाको पहिरोभन्दा करिब सय मिटर तल अर्कै गाडीमा रहेका एक यात्रुका अनुसार त्यो घटना कहालीलाग्दो थियो । निरन्तरको झरीका बीचमा एक पटक ठूलो गर्जनसहित पहिरो खसेपछि त्यताबाट हारगुहारको आवाज पनि सुनिएको थियो । ‘गाडीबाट ओर्लिएर के भएको छ भनेर हेर्न जाने अवस्था नै थिएन,’ उनले भने, ‘बिहान हुँदा त्यहाँ अर्को पहिरो खसेको छ र गाडी पुरिएको छ भन्ने थाहा पायौं । पहिरोको तल माइक्रोको छत देखिएको थियो । प्रहरी पनि आइसकेको थियो । त्यसैले हामी त्यहाँबाट उम्किन सुरुङ भएतर्फ झर्‍यौं ।’ उनका अनुसार उनीसहित अन्य यात्रु पनि केही तल झरेर भीरको बाटो हुँदै नागढुंगा निस्किएका थिए ।

‘आज आएर सुन्दा पो मन सिरिंग हुन्छ । बल्लबल्ल बाँचिएछ जस्तो लाग्छ,’ उनले भने, ‘त्यो पहिरो शनिबार बिहान झरेको हो । शुक्रबार साँझ नै पहिरोका कारण जाममा परेका यात्रुलाई उद्धार गर्ने कोसिस गरेको भए सायद यति ठूलो घटना हुँदैन थियो ।’

उनीहरूले पैदलै नागढुंगा पुग्ने निर्णय गर्दासम्म पनि सुरुङ मार्गबाट यात्रुलाई उद्धार गर्ने कुनै तरखर थिएन । यदि सुरुङ मार्गबाट शनिबारदेखि यात्रुको उद्धार गर्न मिल्ने थियो भने शुक्रबार नै किन त्यसको पहल गरिएन भन्ने उनको प्रश्न छ । ‘हामी भीरको बाटो उकालो लाग्दासम्म पनि सुरुङबाट यात्रुहरूको उद्धार गर्ने कुरा थिएन,’ उनले भने, ‘हामीलाई त दूध बिग्रिने र कुखुराहरू मर्ने जोखिम रहेकाले ती गाडीलाई सुरुङबाट पठाउने बताइएको थियो ।’

Destiny or carelessness in Jhaple River?तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

पहिरो पन्छाउन शनिबार बिहानैबाट सशस्त्र, नेपाल प्रहरी र नेपाली सेना खटिएका थिए । पहिरो गएको खबर पाउनासाथ सशस्त्रको नीलबाराही गण कीर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमन लामिछाने नेतृत्वको टोली ठाउँ–ठाउँको बाटो पन्छाउँदै झ्याप्ले खोला पुगेको थियो । ‘हामी घटनास्थल पुग्दा ठूलो पहिरो खसेको थियो । केही गाडी आधाभन्दा कम पुरिएको देखिन्थ्यो । कति गाडी पहिरोमा परेका छन् भन्ने जानकारी थिएन,’ उनी भन्छन्, ‘तर यात्रु नै परेका छन् भन्ने थाहा थिएन । सडक सुचारु गरेर बीचैमा रोकिएका यात्रु र सवारीसाधनलाई गन्तव्यमा पठाउनुपर्छ भन्ने मात्र भयो ।’ उनीहरू पहिरो पन्छाउने ठूला मेसिन होइन, साबेल र बेल्चाको भरमा घटनास्थल पुगेका थिए । पानी परिरहेकाले तत्काल पहिरो पन्छाउन समस्या थियो ।

‘हामी काठमाडौंबाट आउँदा ५०–५० मिटरको दूरीमा पहिरो खसेको थियो । त्यो पन्छाउँदै–पन्छाउँदै यहाँसम्म आइपुग्यौं,’ उनले भने, ‘लेदो र ढुंगा मिसिएर आएको पहिरो थियो ।’ उनका अनुसार पहिरोका कारण घाइते भएका यात्रुहरूको उद्धार गरिसकिएकाले पहिरोमुनि पनि यात्रुसहितका गाडी हुन सक्छन् भन्ने त्यहाँ पुग्ने कसैलाई पनि लागेन । ‘फेरि यही बीचमा काठमाडौं उपत्यकामा जताततै बाढी आएर सर्वसाधारण फसेको र घर डुब्ने समस्या थियो । त्यता पनि टोली केन्द्रित थियो,’ पहिरो पन्छाउन खटिएका उनी भन्छन्, ‘शनिबार अबेरमात्र पहिरोमा यात्रुसहित गाडी पुरिएको थाहा भयो । त्यसपछि एक्स्काभेटरले खोतल्ने र पछि हातले पुरिएको शव खोज्ने काम गर्‍यौं ।’ 

उद्धारमा चार वटा एक्स्काभेटर परिचालन गरिएको थियो । शनिबार साँझसम्म १४ र आइतबार २१ जना गरेर ३५ जनाको शव फेला परेको छ । ‘उद्धारका क्रममा बसको बीचमा रूख र ढुंगा छिरेको भेटियो,’ उनले भने, ‘करिब सय मिटर माथिबाट पहिरो खसेर सवारीसाधन पुरेको देखिन्छ ।’ झ्याप्ले खोलामा शनिबार साँझ पुरिएको अवस्थामा बुटवलबाट काठमाडौंका लागि छुटेको लु१ज ४५७८ नम्बरको माइक्रोबस फेला परेको थियो । यस्तै, आइतबार बिहान पहिरो पन्छाउँदा गोरखाबाट काठमाडौंका लागि हिँडेको ना४ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौंका लागि हिँडेको बा३ज १३४५ नम्बरको माइक्रोबस पनि भेटियो । पहिरो नजिकै रहेको पिप्लामोडका स्थानीय केदारप्रसाद पनेरू त्यो स्थानमा धेरैपछि ठूलो पहिरो आएको सुनाउँछन् । ‘०५८ सालतिर यही ठाउँमा ठूलो पहिरो गएको थियो । हेटौंडाबाट यहाँ आएर होटल गर्ने बिडारी थरका एकै परिवारका ९ जनाको मृत्यु भएको थियो,’ उनी भन्छन्, ‘अहिले त पहिरो जालाजस्तो थिएन । तर, त्यही स्थानमा फेरि पहिरो गएर ठूलो क्षति भयो ।’

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गर्दै भदौ २६ देखि नै बुलेटिन जारी गरिरहेको थियो । विभागद्वारा जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरिएको थियो । सँगै चितवन जिल्ला प्रशासन कार्यालयले पनि शुक्रबार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मुग्लिन–नारायणगढ सडक खण्डमा भने यात्रुवाहक सवारीसाधन चलाउन रोक लगाएको थियो । काठमाडौं–धादिङ सडक खण्डको हकमा भने कुनै त्यस्तो सूचना जारी गरिएको थिएन । यद्यपि अत्यावश्यक नभई यात्रा नगर्न भने प्रशासनले आग्रह गरेको थियो । तर, स्थानीय प्रशासनदेखि व्यवसायी र यात्रुहरूले समेत पूर्वसूचनालाई गम्भीर रूपमा नलिएको देखिन्छ । 

Destiny or carelessness in Jhaple River?तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

सडक निर्माणमा निकै लामो अनुभव भएका एक सिभिल इन्जिनियरका अनुसार राम्रोसँग जियोलोजिकल अध्ययनबिना नै सडक बनाउने नेपाली परिपाटीका कारण यस्ता दुर्घटनाहरू दोहोरिने गरेका छन् । ‘कुनै पनि पूर्वाधार बनाउँदा जियोलोजिकल अध्ययन हुनुपर्छ । हामीकहाँ गरिँदैन,’ उनले भने, ‘सडकलाई चौडा बनाउनुपूर्व कहाँ कति खोतल्दा के हुन्छ, अध्ययन हुनुपर्थ्यो । तर, जता भीर छ त्यतै काट्यो, सडक थप्यो ।

त्यसैका कारण त्यहाँको सम्पूर्ण जियोलोजी अस्थिर हुन पुग्छ । झ्याप्ले खोलाको पहिरोको कारण पनि त्यही हो ।’ उनको दाबीअनुसार सडक विभागले नागढुंगा–काठमाडौंको सडक चौडा गर्नका लागि ठेक्का लगाए पनि त्यसमा पर्याप्त जियोलोजिकल अध्ययन गरिएको छैन । ‘यदि सडक विभागले सडक बनाउनुअघि राम्रोसँग अध्ययन गरेको छ भने त्यसको प्रतिवेदन सार्वजनिक गरे हुन्छ,’ उनले भने, ‘वैज्ञानिक तवरले सडक बनेको छ कि छैन भनेर अब हामी सबैले सडक विभागलाई प्रश्न गर्नुपर्ने बेला भएको छ ।’

झ्याप्ले खोलामा के कसरी पहिरो खसेको हो भनेर यसै भन्न सक्ने अवस्था नरहेको र थप अध्ययन गरेर मात्र यसबारे थाहा हुने नागढुंगा–मुग्लिङ सडक योजना, पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । ‘सडक माथिबाट पहिरो आएर नाली थुनिएको हुन सक्छ,’ ओझाले भने, ‘त्यो पानी तर्किएर तल झरेर वा धेरै पानी परिरहेकाले माटो कमजोर भई पहिरो खसेको पनि हुन सक्छ ।’ पहिरो गएको ठाउँबाट २० मिटर काठमाडौंतर्फ कल्भर्ट, नाली बनाइएको उनको भनाइ छ । पछिल्लो समय लगातार वर्षा भइरहेकाले नाली थुनिएर पनि समस्या भएको हुन सक्ने उनको अनुमान छ । 

बाढी पहिरो

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully