दोलखा — वर्षामा पहिरोले ग्रामीण सडक अवरुद्ध भइरहँदा दोलखाको विगु गाउँपालिकाले हरेक वडामा सडक हेरालु राख्ने गरेको छ । ग्रामीण सडक अवरोध हटाउन हरेक वडामा २ जनाका दरले सडक हेरालु राखिएको छ ।
वर्षाको समयमा ग्रामीण सडक हिलाम्मे भएर संचालनमा कठिनाइ हुँदा हेरालुले सडकको हिलो हटाउने, पहिरो पन्छाउने, भल तर्काउने, खाल्डा पुर्ने लगायतका काम गराउँछन् ।
पालिकाले असारदेखि भदौसम्म यसरी हेरालुलाई खटाएको ८ नं वडा कार्यालयले जनाएको छ । सोही वडाका हेरालु गर्भे थामीले उनी हरेक बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सडकमै खटिने गरेको बताए ।
‘वर्षाको ३ महिना सडकका धेरै ठाउँमा अवरोध हुने भएकाले अप्ठेरो भएको क्षेत्र सम्माउने काम गर्नुपर्छ । कतै पहिरो खसेको छ भने तत्काल पालिकालाई जानकारी दिएर डोजर बोलाएर पहिरो पन्छाउनु पर्छ,' थामीले भने । यस वडामा पालिकाले २ जना ग्रामीण सडक हेरालु राखेको वडा नं ८ का अध्यक्ष हीरा थामीले बताए ।
यसरी हेरालु राख्दा सडक बिग्रिएको गुनासो पनि कम आउने गरेको जनप्रतिनिधिहरूको भनाइ छ । ‘सडक हेरालु राखेपछि वर्षामा समेत सडक संचालन भइरहेको छ । कोही बिरामी भए पनि तत्कालै सहर लैजान सजिलो भएको छ,' अध्यक्ष थामीले बताए ।
वर्षामा ग्रामीण सडक अवरुद्ध भएर सर्वसाधारणले सास्ती खेप्नु नपरोस भनेर हेरालु राखिएको उपाध्यक्ष देविका थामीले बताइन् । हेरालु राखेपछि ग्रामीण सडक अवरुद्ध भएको गुनासो नआएको र थोरै भए पनि स्थानीयलाई रोजगारी सिर्जना भएको उपाध्यक्ष थामीले बताइन् । उक्त पालिकाले यस वर्ष वर्षायामको लागि १६ जना ग्रामीण सडक हेरालु राखेको छ ।
