हुम्ला — हुम्लाको रादेउ, उनापानी ग्युसी र रिप गाउँमा शुक्रबार राति गएको पहिरोबाट भएको क्षति अनुगमन तथा उद्धारका लागि गएको सुरक्षाकर्मीको टोली बीच बाटोमै रोकिएको छ । शनिबार बिहान ११ बजे सदरमुकाम सिमकोटबाट हिँडेका प्रहरी निरीक्षक राजन भट्टराई नेतृत्वको ७० जना सुरक्षाकर्मीको टोली खार्पुनाथ-१ को चिसामुलमा पहिरो जाँदा सुनाखाडामै रोकिएको हो ।
अनुगमन तथा उद्धार टोली सर्केगाड नपुग्दै बाटोमा पहिरो आउँदो खार्पुनाथको सुनखाडामा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपक मल्लले जानकारी दिए ।
स्थलमार्गबाट गएको टोली बाटोमै रोकिएपछि बाढी पहिरो प्रभावित क्षेत्रमा सेनानी दिनेश खड्काको नेतृत्वमा हेलिकप्टरमा गई स्थलगत अनुगमन गरिएको छ । सेनानी खड्का, सर्केगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर रावत, सशस्त्र प्रहरीका डिएसपी कुन्जनप्रताप मल्लसहित ४ जनाले माउन्टेन एयरको हेलिकप्टरबाट बाढी पहिरो प्रभावित क्षेत्र रिप र उनापानीमा अनुगमन गरेका थिए ।
शुक्रबार रातिको ठूलो वर्षासँगै माथिबाट आएको पहिरोले मानवीय क्षति नभए पनि पुल–पुलेसा, खेतबारी, बिजुली, सडक, खानेपानी, सिँचाइ, घट्ट र अन्नबालीमा ठूलो क्षति भएको पत्रकार महसंघ हुम्लाका अध्यक्ष राजन रावतले बताएका छन् । उनका अनुसार खोलामा आएको बाढीले विभिन्न पुल बगाएपछि एक बस्तीबाट अर्को बस्तीमा आवतजावत गर्नसमेत समस्या भएको छ ।
पहिरोबाट भएको क्षतिको विवरण सर्केगाड प्रहरी चौकीबाट घटनास्थल पुगेको प्रहरीले संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपक मल्लले बताए ।
एक हप्तादेखि निरन्तरको वर्षाले बाढी पहिरो जाँदा कालिकोट, बाजुरा र हुम्लाका ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध भएका छन् । कतै नदीमा पानीको बहाव बढी भई सडक भासिने, ठूलो पहिरो झर्ने र ढुंगा खस्ने, बाढीले डाइभर्सन, बेलिब्रेज बगाउनेलगायतका समस्याका कारण अहिले कर्णाली करिडोरको कालीकोट-हुम्ला खण्डमा विभिन्न सडकहरु अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
