सुर्खेत — हुम्लाका तीनवटा गाउँमा गएको बाढीपहिरोको अवस्था बुझ्न सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको छ । सर्केगाडका तीन गाउँमा शुक्रबार रातिबाट गएको पहिरोले पुर्याएको क्षतिको अवस्था बुझ्न तीनै निकायका सुरक्षाकर्मी पुगेका हुन् ।
रिप गाउँमा बाढीको जोखिम झन बढ्दै गएको स्थानीय मानबहादुर थापाले बताए । ‘बाढीपहिरो गाउँमा पसेको छ,' उनले भने, ‘जोखिममा रहेका बस्ती पहिचान गरेर स्थानान्तरण नगरे ठूलो मानवीय क्षति हुन्छ ।’
बस्तीको माथिल्लो भागबाट पहिरो जान सुरु गरेको थापाको भनाइ छ । कर्णाली प्रदेशका प्रहरी प्रमुख भिमप्रसाद ढकालले करिब २ सय १० घरधुरीका ७ सय जना बाढीपहिरोको उच्च जोखिममा रहेको बताए ।
प्रदेश सरकारका कानुनमन्त्री कृष्ण जिसीले सुरक्षाको टोलीको अपडेट लगत्तै राहतको सामग्री लिएर आफ्नो टोली सर्केगाड जाने बताएका छन् । जोखिममा परेका नागरिकको उद्धारसँगै स्थानान्तरण गर्न सुरक्षाको टोलीलाई निर्देशन दिएको उनको भनाइ छ ।
