पाल्पा — सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड क्षेत्रमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ ।
प्रहरीका अनुसार सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ठूलो मेसिन लगाएर पहिरो खुलाउने प्रयास गरेको छ । ब्रेकर लगाएर ढुंगा फुटाएर मात्र सवारी साधन सञ्चालन गर्न सकिने भएकाले सडक सुचारु हुन अझै कम्तीमा दुई घन्टा लाग्ने प्रहरीले जनाएको छ ।
केही दिनदेखिको अविरल वर्षासँगै खसेको पहिरो बीचमै अड्किएको थियो । ठूलाठूला ढुंगा र लेदोसहितको पहिरो सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमा खसेको हो । केही दिनअघि खसेको पहिरोले राजमार्गमा जतिबेला पनि खस्न सक्ने गरी धराप बनाएको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताएका थिए । उनले धराप परेर बसेको पहिरो पुनः खस्न सक्ने भन्दै सचेत हुन आग्रह गरेका थिए ।
केही दिनयता परेको अविरल वर्षाले दक्षिण सिद्धबाबा मन्दिरतर्फको सुरुङ प्रवेश विन्दु रिब पोर्टल पहिरोले पुरेको थियो । उत्तरतर्फ हेडबक्स रामापिथेकसपार्कतर्फ रहेको सुरुङ प्रवेश विन्दुमा पनि पहिरो खसेर पुरेको थियो । सुरुङमार्गका दुवैतर्फको टनेल प्रवेशमार्गमा पहिरो खसेको हो । उत्तरतर्फको भागमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने आकलन गरिएको थियो । नेपाली प्राविधिकले वर्षायाममा काम नगर्न सुझाव दिए पनि चिनियाँ प्राविधिकले काम गर्दै आएका थिए । पहिरो खस्ने त्रास कायमै रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख रामपुकार जयसवालले जानकारी दिए ।
राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाड जाने र पहाडबाट तराई झरेको सवारी साधन बाटोमै रोकिएका छन् । यो सडक भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङसम्मका सवारी साधन सञ्चालन हुन्छ ।
