दोलखा — निर्वाचन बिथोल्न गैरमतदातालाई भित्र्याइएको भन्दै मंगलबार राति जिरी नगरपालिकामा झडप भयो । स्थानीयले बाहिरी जिल्लाबाट आएका युवाले प्रयोग गरेका ३ वटा गाडी तोडफोड गरिदिए । स्थितिलाई नियन्त्रण लिन प्रहरीले ५ राउन्ड हवाई फायर नै गर्नुपर्यो ।
स्थानीय मतदातालाई तर्साउन र निर्वाचन प्रभावित बनाउन झिकाइएका १९ युवालाई पक्राउ गरेको दोलखा प्रहरीका डीएसपी गंगाप्रसाद पौडेलले बताए । तीमध्ये १३ जना जिल्ला बाहिरका छन् । ‘जिरीमा स्थानीय र युवाको समूहबीच झडप भएपछि हवाई फायर गरेर अवस्था नियन्त्रणमा लियौं,’ उनले भने, ‘संयमताका कारण ठूलो घटना हुन पाएन ।’
सातायता बाहिरी जिल्लाका युवालाई गाउँमा लगेर शक्ति प्रदर्शन गर्ने होडबाजी नै चलेको छ । कतिपय युवाहरू मतदाता धम्काउन र दबाब दिनसमेत प्रयोग गरिएको पाइएको छ । निर्वाचनको मुखकै भएका यस्ता गतिविधिले शन्तिपूर्ण रूपमा मतदान गर्न पाउनेमा शंका उब्जिएको मतदाताहरू बताउँछन् । डीएसपी पौडेलले भने त्यस्ता गतिविधि नियन्त्रण गर्न व्यापक खोजी अभियान सञ्चालन गरिरहेको बताए । ‘निर्वाचनलाई केन्द्रित गरी अधिकांश क्षेत्रमा प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘कसैले मतदान गर्न पाएनौं भनेर गुनासो गरे तत्काल रेस्पोन्स गर्छौं ।’
प्रहरीले मतदातालाई आश्वस्त हुन भनिरहे पनि ठाउँठाउँमा विभिन्न घटना भइरहेका छन् । मंगलबार राति नै बैत्यश्वर गाउँपालिकाको मैनापोखरीबाट बाहिरबाट आएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यही रात कालिञ्चोक गाउँपालिका–४ मा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप हुँदा ३ जना घाइते भएका छन् । निर्वाचन विथोल्न गाँउ छिरेका ९ जनालाई आइतबार तामाकोसी गाउँपालिका–२ झुलेबाट ६ वटा मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ । सोमबार खरिढुङ नाकाबाट चुनाव बिथोल्न आएको आशंकामा थप ३८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मेलुङमा बुधबार सर्वदलीय बैठककै क्रममा झडप भएको छ । तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा प्रहरीले वडाध्यक्ष महेश काफ्लेलाई पक्राउ गरेको छ ।
२०७४ सालको स्थानीय निर्वाचनका क्रममा पनि जिल्लामा यस्ता गतिविधि भएका थिए । त्यसबेला चुनावी प्रचारका क्रममा गौरीशंकर गाउँपालिका–१ जुँगुमा एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा स्थानीय ३३ वर्षीय कुलबहादुर तामाङको मृत्यु भएको थियो । ६ जना घाइते भएका थिए । मेलुङ गाउँपालिका–१ पवटीमा मतदानस्थलबाट मतपेटिका फाल्न खोज्दा प्रहरीले चलाएको गोली लागी स्थानीय नकुल भुजेलको मृत्यु भएको थियो ।
२०७४ कै निर्वाचनमा जस्तै यसपटक पनि राजनीतिक दलहरूले बाहिरबाट गैरमतदाता ल्याएर ‘बुथ कब्जा’ गर्ने हुन् भन्ने त्रासमा ग्रामीण भेगका मतदाता छन् । खासगरी बैत्यश्वर, गौरीशंकर र बिगुका मतदाता बढी त्रसित छन् । गत निर्वाचनमा यी पालिकाका अधिकांश बुथ कब्जा भएका थिए । सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दै यस पटक निर्वाचन सुरक्षा समितिले तीनै पालिकाका सबैजसो मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ । यी स्थानमा हुनसक्ने निर्वाचनविरोधी गतिविधि हुन नदिन विशेष सुरक्षा नीति बनाइएको डीएसपी पौडेलले बताए । ‘विगतमा के भयो त्यो थाहा भएन,’ उनले भने, ‘यो पटक मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण बनाएका छौं ।’
