सिन्धुली — चार दिनयताको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । जारी निषेधाज्ञा र परीक्षणको दायरालाई फराकिलो बनाएपछि जिल्लामा संक्रमितको संख्या घट्दै गएको देखिएको हो । यसबीचमा संक्रमितको मृत्युदरमा समेत कमी आएको छ ।
साता अघिसम्मको परीक्षणमा शतप्रतिशतसम्म संक्रमित फेला परेका थिए । मंगलबार २ सय ३३ जनाको परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको छ । यो २८.३८ प्रतिशत हुन आउँछ । सदरमुकाम सिन्धुलीमाडीस्थित कोभिड अस्पतालका इन्चार्ज अमृत कार्कीका अनुसार जारी निषेधाज्ञाले समुदायमा मानिसको घुलमिल कम भएकाले संक्रमण दर घट्दै गएको हो ।
‘कन्ट्याक्ट ट्रेसिङका आधारमा शंकास्पद सबैको परीक्षण गरिएकाले पनि कम संक्रमित थपिएका हुन् । सबै स्थानीय तहहरू लागेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे अझ यो संख्या घट्छ,’ उनले भने ।
स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो चार दिनयताको पीसीआर र एन्टिजेनको नतिजाले पनि संक्रमित घट्दै गएको देखाउँछ । कार्यालयका कोभिड फोकल पर्सन सन्तोष माझीका अनुसार शनिबार १ सय ४१ जनाको पीसीआर परीक्षण गरिएकोमा ५३ जना संक्रमित थपिएका थिए । आइतबार ६७ मध्ये २२ जनामा र सोमबार ७ जनाको परीक्षण गर्दा ३ जनालाई संक्रमण भएको पाइएको छ ।
लक्षण देखिएकाको स्वाब परीक्षण गरिँदै आएको माझीले बताए । उनका अनुसार संक्रमितको मृत्युदरमा समेत कमी आएको छ । जिल्लामा दिनमै पाँच जनाको सम्म मृत्यु हुने गरेकोमा अहिले यो संख्या सरदर एकमा झरेको छ । ‘घरमै बसेर जथाभावी औषधिको प्रयोग गरेर अन्तिम अवस्थामा आउनेलाई बचाउन सकिएको छैन । सुरुमै उपचारमा आउनेहरू स्वस्थ भएर फर्किएका छन्,’ सिन्धुली अस्पतालका डा. सागर देवकोटाले बताए ।
सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लादकुमार पोखरेलले संक्रमण घटेको देखिए पनि स्वास्थ्य मापदण्ड पालना गर्न र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा आउन आग्रह गरे ।
