रामेछाप — रामेछाप नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना संक्रमितलाई घरघरै औषधि उपलब्ध गराउन थालेको छ । लक्षण देखिएका संक्रमितले दैनिक खानुपर्ने औषधि लिएर स्वास्थ्यकर्मी बिरामीको घरघरै पुग्ने र औषधि सेवन गर्ने तरिका बताउने तथा स्वास्थ्य अवस्थाबारे बुझ्ने गरेका छन् ।
यसबाहेक स्वास्थ्य चौकी प्रमुखहरूले कार्यक्षेत्रभित्रका हरेक बिरामीलाई दिनमा एक पटक सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेका नगर स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले बताए । ‘दोहोरो कुरा हुँदा औषधि थप गर्नुपर्ने वा अस्पताल ल्याउनुपर्ने अवस्था भए तत्काल भर्ना गरेका छौं । केही बिरामीहरूलाई घरमै थप औषधि पठाउने व्यवस्था छ,’ उनले भने ।
कोरोनाको दोस्रो लहर सुरु भएयता नगरक्षेत्रभित्र १ सय ८७ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये अधिकांश घरमै निको भए । जटिल समस्या देखिए मात्रै अस्पताल ल्याउने गरिएको कार्की बताउँछन् । उनका अनुसार जिल्ला अस्पतालमा उपचाररत ६ जना र सामान्य लक्षण भएका करिब ३० जना मात्रै निको हुन बाँकी छन् ।
घरमा बसेका बिरामीलाई स्वास्थ्य चौकीमा उपलब्ध हुनेबाहेक स्वास्थ्यकर्मीले सिफारिस गरेका थप औषधि नगरपालिकाले खरिद गरेर वितरण गरिरहेको हो । भिटामिन सी, भिटामिन डी, एजिथ्रोमाइसिनजस्ता औषधि सरकारले उपलब्ध नगराउने भएकाले खरिद गरेर दिने गरिएको कार्कीले बताए ।
‘ग्रामीण क्षेत्रमा औषधि पसल नभएकाले बिरामीको सहजताका लागि औषधि खर्च नगरपालिकाले नै व्यहोरेको हो,’ उनले भने ।
