सैपाममा आफ्नै बारीमा फलेको अन्नले बाह्रैमास खान पुग्ने परिवार छैनन् । महामारीयता मजदुरी ठप्प छ । यहाँ कोरोना त कसैलाई भएको छैन तर यसको प्रभावबाट भने कोही वञ्चित छैनन् ।
चितवन — चारैतिर जंगल, बीचमा अलिकति खाली भिरालो पाखो । यही पाखामा छन् ६४ घरधुरी । गाउँको नाम हो सैपाम । कालिका नगरपलिका–११ मा पर्ने यो गाउँमा मोटर बाटो, बिजुली पुगेको छैन । वडा कार्यालय रहेको सिद्धिको तीनदोभान पुग्न हिँडेर तीन घण्टा लाग्छ । ७६ वर्षका शेरबहादुर चेपाङ आँखा देख्दैनन् । खुट्टा पनि राम्रोसँग चल्दैन ।
सोमबार बिहानको १० बज्दै गर्दा उनी सिरकले खुट्टा छोपेर बिछ्यौनामै बसिरहेको भेटिए । खरले छाएको छापोभित्र मैलो–धैलो बिछ्यौना थियो । आडमा चुल्हो तर आगो थिएन । घरबाहिर दैलोको दाहिनेपट्टि पकाउने भाँडा र थालकचौरा असरल्ल थिए ।
शेरबहादुरसँग कुरा हुँदै गर्दा उनकी श्रीमती फूलमाया भित्र छिरिन् । उनले कचौरामा श्रीमान्का लागि थोरै भात ल्याएकी थिइन् । फूलमाया हुर्कंदै गरेका मकै गोडमेल गर्न खेताला गएकी रहिछन् । उनलाई खान भनेर दिइएको भात बचाएर श्रीमान्का लागि ल्याएकी रहिछन् । शेरबहादुर आँखा देख्दैनन्, फूलमाया कान निकै कम सुन्छिन् । ‘घरमा भएको आटो–पिठो बिहानै पकाएर दिएर खेताला गएकी थिएँ । घाम अलि माथि आए हावा चल्छ । चुल्हो बाल्न गाह्रो हुन्छ,’ फूलमायाले भनिन् ।
कोरोना संक्रमणका बारेमा यी चेपाङ दम्पतीले सुनेका भने रहेछन् । फूलमायालाई कोरोना भए टाउको दुख्छ, ज्वरो आउँछ, छाती दुख्छ भन्नेसम्म थाहा रहेछ । तर जंगलवरपरको यो गाउँमा कोरोना पुगेको छैन तर यसको प्रभाव भने पुगेको छ । उनीहरूलाई केही समस्या परे जेठो छोरा वीरबहादुरले हेरचाह गर्थे । आडैमा छ वीरबहादुरको परिवार बस्ने छाप्रो । ‘तर कोरोना आयो भनेपछि पोहोरदेखि छोरो काममा जानै पाएको छैन ।
काममा नगएपछि के कमाउनु र उसको परिवार र हामी बूढाबूढी पालिनु,’ फूलमायाले भनिन् । सैपाममा कोरोना नआए पनि अनिकाल आउने डर बढेको भन्दै फूलमायाले चिन्ता जनाइन् । ७४ वर्षकी भए पनि फूलमायाले निमेक मजदुरी गर्न छाडेकी छैनन् । तर कोरोना महामारी सुरु भएपछि गाउँबाहिर काम गर्न जान पाएकी छैनन् । गाउँमै खेतला गएर खासै कमाइ नहुने उनी बताउँछिन् ।
‘गाउँलेले पनि कति निमेक मजदुरी लगाउनु । यहाँ डाँडाको टुप्पादेखि फेदसम्म पाखो बारी भए पनि त्यहाँ उब्जने बालीले खान पुग्दैन,’ वीरबहादुरले भने । उनी घरको गाह्रो लगाउने मिस्त्रीको काम गर्छन् । महामारीअघि उनी काठमाडौं, सिन्धुपाल्चोक, पोखरासम्म जान्थे । एक दिन काम गरेको हजार रुपैयाँका दरले ज्याला पाउँथे । तर गत वर्षदेखि घरमै छन् । ‘योपटक बीचमा त्यही तीन महिना जति भण्डारा, खुरखुरेतिर गएर अलि–अलि काम गरियो,’ उनले भने, ‘खेती राम्रो हुँदैन । ज्याला मजदुरी नगरेर किनेर कसरी खाने ?’ उनका तीन छोरी छन् । बुबाआमासहित ७ जनाको परिवार धान्न अप्ठेरो भएको उनले सुनाए ।
शेरबहादुर जन्मेको सैपामदेखि धेरै पर लोथरमा हो । २०२७ मा बाढी आएपछि उनी नयाँ ठाउँ खोज्दै सैपाम आए । उनी आउँदा यहाँ १० घर थिए । अहिले बढेर ६४ वटा भएका छन् । खेती लगाउने जमिन पनि घटेको छ । शेरबहादुरले चानचुन १० कट्ठा जति जमिन ओगटेर बसेका थिए । छोराहरूलाई अंश दिँदा भागमा तीन कट्ठा पर्यो । मकै र कोदोबाहेक केही फल्दैन । गत वर्ष पानी धेरै परेर मकै बिग्रियो । ‘बचेको मकै पनि चरा र मुसाले खाएर नोक्सान गर्यो,’ फूलमायाले सुनाइन्, ‘यो वर्ष पनि मकै राम्रो हुने छाँट छैन ।’
सैपाममा २६/२७ सालदेखि मान्छेहरू बस्न थालेपनि कसैको लालपुर्जा छैन । खानेपानीको पनि दुःख छ । यो वर्ष खानेपानीको योजना त परेको छ तर हरेक घरबाट श्रमदान गर्न जानुपर्छ । फूलमायालाई श्रमदानमा जानुपर्ने हतारो पनि छ । ‘नगए जरिवाना लाग्छ भनेका छन्,’ उनले भनिन्, ‘नभए खानै नपुगेको बेला जरिवाना कहाँबाट ल्याएर तिर्नु ?’ श्रमदानमा जानुअघि उनले साँझको खानाको तयारी भन्दै जंगली कन्दमूल गिट्ठा खुर्किन थालिन् । ‘हामीले चैतदेखि यही गिट्ठा र सिस्नो खाने हो । अब यो पनि सकिँदै आयो । मकै सकियो । चामल हुँदैन । चामल किन्ने पैसा कमाउने उपाय छैन । कोरोना किन आउनुपर्यो र, नआए पनि हाम्रो दुःख बढाएको छ,’ फूलमायाले भनिन् । गिट्ठा काटेर भ्याएपछि उनी नाम्लो बोकेर श्रमदान गर्न हिँडिन् । चेपाङ गाउँमा अनिकाल नौलो होइन । तर काम गर्न पाए किन्न पनि पाइन्छ । अनिकाल टर्छ ।
‘अहिले त अन्न सकिएपछि पनि किन्ने पैसाको अनिकाल हुने भयो,’ शेरबहादुरले भने । भएका चीचबीज बचाएर पुर्याइपुर्याइ खानुपरेको उनले सुनाए । सिद्धि चितवनको पहाडी गाउँ हो । यहाँ चेपाङ समुदायको बाहुल्य छ । चेपाङहरू सिमान्तकृत वर्गमा पर्ने आदिवासीहरू हुन् । पहाडी पाखोमा उब्जाउ हुँदैन । बाटो, बिजुलीको सुविधा छैन । त्यसैले धेरै चेपाङहरूलाई खान लगाउन अरू बेलामा पनि समस्या पर्छ ।
स्थानीय तह पुनःसंरचना हुँदा सिद्धिलाई कालिका नगरपालिकाको १० र ११ नम्बर वडामा राखियो । ‘मेरो वडामा पौने चार सय घरधुरी छन् । २०/२५ घर तामाङ होलान् । नभए सबै चेपाङका घरहरू हुन्,’ कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर चेपाङले भने । आफ्नो बारीको अन्नले १२ महिना खान पुग्ने चेपाङहरू अत्यन्त कम भएको उनले बताए ।
त्यसैले ज्याला मजदुरी गर्न नपाए सबै परिवारलाई समस्या छ । ‘गत वर्ष खाने कुनै उपाय नभएका २५० घरलाई वडाले २० केजी चामल, दाल, तेल दिएको थियो । संघसंस्थाले पनि सहयोग गरे । घरमा अन्न नै नहुने परिवार छनोट गरेर सहयोग दिएका थियौं,’ उनले भने, ‘योपटक त अहिलेसम्म राहत दिने योजना छैन ।’ सैपाम, धोर्तेस र रामक्लेमजस्ता गाउँका बासिन्दा संकटमा जिइरहेका उनले सुनाए ।
