कन्ट्याक्ट ट्रेसिङमा संक्रमित ६८ प्रतिशत

‘संक्रमणको अवस्था भयावह छ, थप फैलिन नदिन वडा सिल गरी परीक्षण’ 

जेष्ठ १४, २०७८

राजकुमार कार्की

सिन्धुली — चार दिनअघि मरिण गाउँपालिकाका चार वडामा स्वाब परीक्षण गर्दा शतप्रतिशतमा संक्रमित भेटिए । तिनै व्यक्तिको कन्ट्याक ट्रेसिङका आधारमा परीक्षण गर्दा ६८ प्रतिशतमा संक्रमण पाइएको छ ।

संक्रमितसँगको हेलमेल, उठबसका आधारमा ६२ जनाको स्वाब परीक्षण गर्दा बुधबार ४२ जनामा कोरोना पुष्टि भएको हो ।

चार दिनअघि २१ जनाको परीक्षणमा शतप्रतिशतमा संक्रमण पाइएको थियो । गाउँपालिकाका स्वास्थ्य संयोजक मधु लाखेका अनुसार कोरोनाको लक्षणसहित उपचारका लागि आएकाको कन्ट्याक ट्रेसिङका आधारमा परीक्षण गर्दा शतप्रतिशतमा संक्रमण पाइएको थियो । 

पछिल्लो पटक मरिण ४, ५, ६ र ७ मा ती संक्रमित फेला परेका हुन् । कन्ट्याक्ट ट्रेसिङमा ६८ प्रतिशत संक्रमित भेटिएपछि परीक्षणको दायरा बढाउन लागेको स्वास्थ्य संयोजक लाखेले बताए । संक्रमित सबै होम आइसोलेसनमा छन् । ‘संक्रमणको अवस्था भयावह छ, थप फैलिन नपाओस् भनेर ती वडा सिल गरी परीक्षणलाई बढाइएको छ,’ उनले भने । 

मरिणमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ । सुरुमा स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो । डढेलो जसरी संक्रमण फैलिएकाले रोकथाम गर्न जिल्लाबाट टोली खटाउन माग गरिएको छ । संकलित स्वाबको नतिजा ढिलो आउने र संक्रमितहरू आइसोलेसनमा नबसिदिँदा संक्रमण फैलिएको संयोजक लाखेले बताए ।

कन्ट्याक ट्रेसिङमा परेकाहरू नै खुलेआम घुलमिल गर्ने र लक्षण देखिँदासमेत हेलचेक्र्याइँ गरिनाले संक्रमण फैलिँदै गएको घ्याङलेक गाउँपालिका स्वास्थ्य संयोजक महेन्द्र यादवको बुझाइ छ । घ्याङलेक ४ र ५ मा समेत अवस्था उस्तै छ । वडा नं ५ को शान्तेश्वरी स्वास्थ्य चौकीका प्रमुखसहित पूरै टोली संक्रमित भएपछि वडा नै सिल गरिएको छ ।

कोरोना भाइरस

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully