अरनिकोको सम्झनामा गाउँ

कलाकार अरनिको तिब्बत जाने क्रममा बास बसेको भनिएको ट्याङथलीको संरक्षण र पर्यटन प्रवर्द्धन गर्न विभिन्न संरचना निर्माण गरिँदै

वैशाख १९, २०७८

अनिश तिवारी

सिन्धुपाल्चोक — ढुंगाका छाना र आकर्षक इँटाले चिटिक्क देखिने घर । छेउमै रंगीन पीपल । फूलबारीको बीचमा कलात्मक ढुंगालाई कुँदेर कलाकार अरनिकोको मूर्ति ठड्याइँदै छ । राष्ट्रिय विभूति अरनिकोको सम्झनामा भोटेकोसी गाउँपालिका–५ मार्मिङ ट्याङथली गाउँमा आकर्षक १० घर बनाइएको छ ।

स्थानीयका अनुसार चीन जाने क्रममा बाटैमा रात परेपछि अरनिकोसहितको टोली ट्याङथलीकै तत्कालीन अगुवा बुद्धिमाई तामाङको छाप्रोमा बास बसेका थिए । अरनिको राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तुकार, शिल्पकारको नेतृत्व गरेर तिब्बत पुगेका थिए । अरनिको बास बसेको उक्त ऐतिहासिक स्थानको पर्यटन प्रवर्द्धन गर्न ‘समृद्ध नेपाल’ नामक संस्थाको समन्वयमा स्थानीयले ट्याङथलीमा विभिन्न संरचना निर्माण गरिरहेका हुन् । ‘ट्याङथली ठाउँ–अरनिको बसेको गाउँ’ भन्ने स्थानीय कथनअनुसार पाहुना घर र अरनिकोको शालिकसहित ऐतिहासिक विवरण, पानीको फोहोरा, गेट, बगैंचा, फन पार्कजस्ता संरचना बनाइँदै छ । ‘अरनिको पाहुना घरमा चीन र नेपालको सबै संस्कृति झल्कने पोसाकलगायतका भेषभूषा सजाउने तैयारीमा छौं,’ अभियन्ता कुमार राउतले भने, ‘यहाँ अब चाँडै पूरा नेपाल अनुभव गर्न सकिनेछ ।’

त्यतिबेला अरनिकोले स्थानीयसँग सौहार्दपूर्ण व्यवहार देखाएको र एक वृद्धालाई बुद्धको मूर्तिसमेत उपहार दिएको यहाँका तामाङ समुदायमा कथन छ । जसअनुसार अरनिकोसहितको कलाकारको टोली ट्याङथली, भीर, दुगुना, खरानी खोला निस्किएर चीनको खासा, ल्साहा हुँदै तिब्बत पुगेका थिए । यो बाटो पहिला तिब्बतको भोटमा नुन ढुवानी र पछि व्यापारका लागि प्रयोग हुने गर्थ्यो । ट्याङथलीमा हाल ५ सय २० परिवारको बसोबास छ । 

अरनिको गाउँको लक्ष्यअनुसार निर्माण कार्य सकिएपछि अन्य बाहिरी संरचना बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट करिब १६ करोड रुपैयाँ निकासा भएको समृद्ध नेपालले जनाएको छ । भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेलले अरनिकोसँग जोडिएको ऐतिहासिक तथ्यबारे खोजबिन गरिने बताए । ‘अरनिको हाम्रा अमूल्य आदर्श हुनुहुन्छ, उहाँ बसेको गाउँलाई ऐतिहासिक पहिचानका रूपमा उभ्याउन हरदम कसरतमा लागिरहेका छौँ,’ उनले भने ।

कोरोना भाइरस

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully