यात्रु पर्खंदै रिक्सा चालक- उपत्यका - कान्तिपुर समाचार

यात्रु पर्खंदै रिक्सा चालक

प्रशान्त माली

काठमाडौँ — ठमेलमा रिक्सा चलाउन थालेको २० वर्ष नाघ्यो । नेपाली कमै चढ्छन् । विदेशी पर्यटकलाई सहर डुलाएर जीविकोपार्जन गर्ने सिन्धुलीका गुन्जे विकको रिक्सा अघिल्लो चैतयता उतिसाह्रै प्रयोगमा आएको छैन । बचत गरेको केही रकम र बाँकी ऋण खोजेर गत वर्ष जेनतेन घर खर्च चलाए ।

अहिले दैनिक छाक टार्नै मुस्किल परेको उनको भनाइ छ । कतै ‘एकाध टिप पाइन्छ’ कि भन्दै उनी निषेधाज्ञाकै बीच शनिबार रिक्सा लिएर यात्रुको खोजीमा निस्किए ।

ठमेलमा विदेशी कुरिरहेको अवस्थामा भेटिएका उनी भन्छन्, ‘कोठा भाडा नतिरेको ५ महिना बित्यो । अहिले खाना–बस्नसमेत धौ–धौ परेको छ । रोगले भन्दा भोकले मर्ला भन्ने पीर भइसक्यो ।’ नुवाकोटका विकास तामाङको औषधिमा मात्रै मासिक दुई हजार रुपैयाँ खर्च हुन्छ । उनी रक्तचापका बिरामी हुन् । श्रीमतीलाई पनि सुगर र प्रेसरको समस्या छ । खाना–लाउन र औषधि किन्ने पनि खर्च नभएपछि बाध्य भएर काममा निस्कनु परेको उनले सुनाए । भन्छन्, ‘यो निषेधाज्ञाभर मज्जाले सुतेर खान मन थियो । तर के गर्ने गोजीमा एक सुको छैन ।’

यात्रु खोज्दै ठमेल वरपर गरिरहेको अवस्थामा भेटिए नुवाकोटका रामबहादुर तामाङ, शेरबहादुर तामाङ, काभ्रेका कृष्ण मगर र हर्कबहादुर तामाङ पनि । उपत्यकामा बिहीबारबाट निषेधाज्ञा जारी भए पनि ठमेल क्षेत्रमा विदेशीहरूको आवतजावत देखिन्छ । रिक्सा चालकसँग कुराकानी गरिरहेका बेला एक जना चिनियाँ नागरिक आए । उनलाई गन्तव्यमा पुर्‍याउन चालकहरूबीच होडबाजी नै चल्यो । रिक्सा चालक राम बुढाथोकीका अनुसार काठमाडौंमा रिक्सा मजुदरी गर्नेहरू चार सय ७३ जना छन् । गाँसको जोहो गर्न अहिले ४०/५० जना रिक्सा चालक सडकमा निस्केका छन् । यहाँ फागुनदेखि जेठ र भदौदेखि मंसिरसम्म बढी पर्यटक आउँछन् । कोरोना महामारीका कारण पछिल्लो एक वर्षयता पर्यटकको चहलपहल न्यून छ ।

रिक्सा चालकहरू दूरीअनुसार टिपमा ३ सयदेखि १५ सय रुपैयाँसम्म लिने गर्छन् । कोरोना महामारी सुरु हुनुभन्दा अघि उनीहरूको सरदर मासिक कमाइ २५ हजारदेखि ३० हजार रुपैयाँसम्म हुन्थ्यो । बुढाथोकी भन्छन्, ‘अहिले बिहानदेखि बेलुकासम्म पर्यटक कुर्दा पनि मुस्किलले बोनी हुने गरेको छ । खाली हात घर फर्कने पनि छन् ।’

केही वर्षयता लगातार आम्दानी घटिरहेको उनले बताए । ‘पोहोर दसैंमा डेंगुले खायो । यसपालि भाइरसले । कहिले नाकाबन्दी त कहिले भूकम्पले,’ उनले भने, ‘हामीहरूलाई जस्तालाई गरिखाने वातावरण पनि भएन ।’ रिक्सा चालकजस्तै राजधानीमा भारी बोकेर गुजारा चलाउनेहरू पनि कोरोना महामारीको मर्कामा परेका छन् ।

ठमेल क्षेत्रमा सयदेखि साढे दुई सयसम्म कोठा भएका दुई सय वटाभन्दा होटल, रेस्टुरेन्ट छन् । पाँच हजारभन्दा बढी व्यवसायी छन् । होटलमा मात्रै पाँच हजार कर्मचारी कार्यरत छन् । सबैजसो होटलले यसअघि नै छुट्टीमा पठाएका कर्मचारीलाई पनि फर्काउन सकेका छैनन् ।


प्रकाशित : वैशाख १९, २०७८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्

दार्चुला जिल्ला अस्पतालमा इमरजेन्सी बाहेकका सबै सेवा बन्द

मनोज बडू

दार्चुला — जिल्ला अस्पतालका इमरजेन्सी बाहेकका अन्य सेवा बन्द गरिएका छन् । जिल्ला अस्पतालले एक सूचना जारी गरी अस्पतालको इमरजेन्सीबाहेकका सेवा आइतबारबाट अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

कोभिड–१९ संक्रमणको दोस्रो कहर देशैभरी तीव्र रुपमा फैलिरहेको र जिल्ला अस्पताल रहेको महाकाली नगरपालिकामा पनि धेरै संख्यामा कोरोनाका संक्रमण देखिन थालेपछि ओपीडी लगायतका सेवाहरु हाललाई बन्द गरिएको अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।

जिल्लाका विभिन्न स्थानीय तहका नागरिकहरु कोरोना संक्रमित भई जिल्ला अस्पतालमा उपचाररत रहेको र संक्रमितको संख्या तीव्र भइरहेको हुनाले संक्रमण फैलिने सम्भावनालाई ध्यानमा राखी अस्पतालको ओपीडी सेवा केही दिनका लागि बन्द गरिएको हो ।

ज्वरो आएका बिरामीहरुको स्वास्थ्य जाँचका लागि अस्पतालको इमरजेन्सी वार्ड बाहिर ज्वरो क्लिनिक सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।

अक्सिजन कम भएपछि एक सैनिकलाई हेलिकप्टरबाट काठमाडौं लगियो

कोरोना पोजिटिभ भएर शरीरमा अक्सिजनको मात्रा कम भएपछि दार्चुलाबाट नेपाली सेनाका एक जना नायकलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । ब्यास गाउँपालिका घर भएका नेपाली सेनामा कार्यरत ४५ वर्षीय पुरुषलाई काठमाडौं रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

प्रकाशित : वैशाख १९, २०७८ १२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×