चितवनमा एक व्यक्तिको आरडीटी रिपोर्ट पोजिटिभ, स्वाब परीक्षण हुँदै

वैशाख ३, २०७७

रमेशकुमार पौडेल

चितवन — वैदेशिक रोजगारबाट फर्केर होम क्‍वारेन्टाइनमा रहेका चितवन रत्ननगरका एक व्यक्तिको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार ती व्यक्तिलाई आइसोलेसनमा राखिएको छ । उनको स्वाब परीक्षणका लागि भरतपुरको प्रयोगशालामा पठाइएको छ ।

‘कोरियाबाट फर्केका एक व्यक्तिको आरडीटी गर्दा पोजिटिभ नतिजा आएको हो । हामीले स्वाब निकालेर पीसीआरबाट पनि थप पुष्टि गर्दैछौं । त्यसैले अहिल्यै थप कुरा केही भन्‍न सकिने अवस्था रहेन,’ तिवारीले भने । 

चितवनमा होम क्‍वारेन्टाइनमा बसेका साढे ६ सय जना रहेका छन् । तीमध्ये होम क्‍वारेन्टाइनमा बसेको १७ दिन पार गरेकाहरुको आरडीटी सुरु भएको छ । शनिबारदेखि आरडीटी सुरु भएकोमा बुधबार एकजनाको नतिजा पोजिटिभ देखिएको हो ।

चितवनमा ७ सयजनाको आरडिटी गर्ने तिवारीले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully