लकडाउनमा सघाउन ‘अनलाइन सर्भे सिस्टम’

वैशाख १, २०७७

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको थाहा नगरपालिकाले लकडाउनमा आपत्मा परेका नगरवासीलाई सहयोग पुर्‍याउने उद्देश्यले अनलाइन सर्भे सिस्टम सुरु गरेको छ । देशको कुनै पनि भागमा अलपत्र परेका नगरवासीलाई सघाउन आइतबारदेखि यस्तो व्यवस्था गरिएको हो ।

यसका लागि नगरले १० वटा प्रश्नावली राखेर अनलाइन फाराम तयार पारेको छ । ‘लकडाउनको अवस्थामा मुलुकको कुनै पनि कुनामा आपत्–विपत्मा रहेका नगरवासीलाई सहयोग एवं राहत पुर्‍याउन यो अनलाइन सर्भे सिस्टम सुरु गरेका हौं,’ मेयर लवशेर विष्टले भने ।

फाराममा नामथर, स्थायी ठेगाना, अस्थायी ठेगाना, परिवार संख्या, बालबालिका, लिंग, परिचय खुल्ने कागजपत्र, मोबाइल नम्बर, थाहा नगरमा सम्पर्क व्यक्ति, लकडाउनले पारेको समस्या र नगरपालिकासँगको अपेक्षा समावेश गरिएको छ ।

‘थाहा नगरपालिकाका स्थायी बासिन्दा भएका तर व्यवसाय, रोजगारीका कारणले मुलुकको अन्य भागमा रहेकालाई फाराम भरेकै आधार सहयोग प्रदान गर्नेछौं,’ मेयर विष्टले भने, ‘समस्यामा रहेका व्यक्ति बसेको स्थानीय तहसँग समन्वय गरेर राहतसहित सहयोग उपलब्ध गराउनेछौं ।’ अहिलेसम्म १० जनाले फाराम भरिसकेको नगरकासुचना अधिकारी सुरज भुजेलले बताए ।

यो सर्भेले थाहा नगरका बासिन्दा बाहिर कति छन् भन्ने तथ्यांक पनि आउने उपमेयर खड्गबहादुर गोपालीको भनाइ छ । थाहामा अहिलेसम्म ९ परिवारलाई मात्र राहतस्वरूप खाद्यान्न बाँडिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully