मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको समया स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । कोरोना भाइरस नियन्त्रणका सन्दर्भमा मुलुक लकडाउन भएको अवस्थामा स्थानीय तहले खेलेको भूमिकाको मुख्यमन्त्री पौडेलले प्रशंसा गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको कोरोना भाइरस (कोभिड– १९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी भएको सर्वदलीय बैठकमा पौडेलले स्थानीय सरकारको भूमिकालाई संघ तथा प्रदेश सरकारले मूल्याकंन गरेको बताए ।
विश्वभरी चुनौतीका रूपमा फैलिएको महामारीलाई पराजित गर्न सबै एकसाथ लाग्नुपर्ने उनको भनाइ थियो । हाल कोरोना भाइरस विरुद्ध तीनै तहका सरकार एकजुट भएर लडिरहेका उनले बताए ।
कोरोना विरुद्ध प्रदेशमा सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरू निरन्तर रूपमा खटिरहेको भन्दै प्रदेशको साधन, स्रोत र क्षमताअनुसार काम गरिरहेको उनले बताए । ‘अहिले पनि धेरै चुनौतीकाबीचमा काम भइरहेका छन्, लकडाउन सुरुवाति चरणमा छ, अब अझै चुनौतीपूर्ण हुनसक्छ, हामी झन् धेरै सचेत हुनुपर्ने आवश्यकता रहेको छ । यो समय सबैको हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बेला हो’, उनले भने ।
सांसद विरोध खतिवडाले कोरोनाबाट प्रभावित दैनिक ज्यालादारी मजदुरको पहिचान गरेर मात्र राहत वितरण गर्नुपर्ने बताए । राहत वितरणमा पहिलेभन्दा पनि ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।
बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले १३ वटै जिल्लाका १ सय १९ वटै स्थानीय तहमा प्रदेश सरकारले कोरोना प्रभावितका लागि खर्च गर्नेगरी रकम पठाइसकेको बताए । विपद् व्यस्थापन समितिले जिल्लामा ५ लाख, गाउँपालिकामा १० लाख, नगरपालिकामा १२ लाख, उपमहानगरपालिकामा १५ लाख र महानगरपालिकामा २० लाख रुपैयाँका दरले रकम पठाइसकिएको जानकारी उनले दिए ।
सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाइरसको संक्रमणको आशंका हुन बित्तिकै परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । अहिले पनि सबै मापदण्डअनुसार क्वारेन्टाइन र आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।
प्रमुख प्रतिपक्षी कांग्रेस वाग्मती प्रदेशका नेता ईन्द्रबहादुर बानियाँले राहत वितरणमा एकद्वार प्रणाली हुनुपर्ने बताए । अहिलेको सन्दर्भमा दुर्गम र विकट ठाउँमा राहतको आवश्यकता पर्न थालेको भन्दै सो स्थानमा पठाउन सुझाव दिए ।
