धादिङ र गोरखा जोड्ने पुलमा ताला

चैत्र २१, २०७६

हरिहरसिंह राठौर

धादिङ — लकडाउन उल्लंघन भएको भन्दै धादिङ र गोरखा जोड्ने एक झोलुंगे पुलमा ताला लगाइएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) रोकथामका लागि सरकारले गरेको लकडाउन उल्लंघन रोक्न धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको भीमसेन थापा गाउँपालिका–८ जोड्ने पुलमा ताला लगाइएको हो ।

देशभर जारी रहेको लकडाउन प्रभावकारी बनाउन भीमसेन थापा गाउँपालिका- ८ का वडाध्यक्ष बासु थापा, प्रहरी र स्थानियहरूले झोलुंगे पुलमा आवतजावत गर्न रोक लगाएका हुन् ।

आफनो वडा भन्दा बाहिरको मानिस घुम्न, आवतजावत गर्न, ससुराली, आफन्त भेटघाट गर्न भन्दै गाउँमा आउने क्रम बढ्न थालेको भन्दै वडाध्यक्ष थापाले त्यसलाई नियन्त्रणको लागि पुलमा ताला लगाइएको बताए ।

अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई प्रवेशमा रोक लगाएको भन्दै झोलुंगे पुलको वारी र पारी साङ्ला बाँधेर ताला लगाइएको हो ।

मंगलबार स्थानीय टोल सुधार समिति, प्रहरी, सरोकारवाला लगायतका निकायसँग छलफल गरेर ताला लगाइएको थापाको भनाइ छ ।

हरिहरसिंह

Link copied successfully